धरान र विराटनगरका विभिन्न अस्पतालमा थप १७ संक्रमितको मृत्यु



विराटनगर । धरान र विराटनगरका विभिन्न अस्पताल तथा होम आइसोलेसनमा थप १७ जना कोरोना संक्रमितको मृत्यु भएको छ । मंगलबार साँझदेखि बुधवार साँझसम्म थप १६ जना कोरोना संक्रमितको मृत्यु भएको हो ।

विराटनगरस्थित नोबेल अस्पतालमा विराटनगर–९ की ८० वर्षीया महिला र विराटनगर–१० का ५८ वर्षीय पुरुषको मृत्यु भएको छ । त्यस्तै, सोही अस्पतालमा सप्तरीका ५५ वर्षीया महिला र इनरुवा सुनसरीका ५७ वर्षीय पुरुषको पनि मृत्यु भएको छ ।

झापा गौरादह–४ का ४८ वर्षीय पुरुषको पनि नोबेल शिक्षण अस्पतालमा उपचारको क्रममा मृत्यु भएको अस्पतालका प्रबन्धक नारायण दाहालले जानकारी दिए । उनीहरु सबैमा स्वासप्रश्वासमा समस्या भएको कारण उपचारको क्रममा मृत्यु भएको नोवेल अस्पतालले जनाएको छ ।

त्यस्तै, कोरोना संक्रमणका कारण विराट शिक्षण अस्पतालमा विराटनगर–९ का ५२ वर्षीय पुरुष र सिराहा लाहान–१ का ८० वर्षीय पुरुषको पनि मृत्यु भएको अस्पतालका इन्चार्ज सुनिल देबले जानकारी दिए ।

त्यस्तै, न्यूरो अस्पताल विराटनगरमा विराटनगर–६ का ३९ वर्षीय संक्रमित पुरुषको उपचारको क्रममा मृत्यु भएको अस्पतालले जनाएको छ । कोशी अस्पताल विराटनगरमा विराटनगर १२ का ८० वर्षीय पुरुषको पनि मृत्यु भएको छ ।

धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड अस्पतालमा इटहरी ९ का ७६ वर्षीय पुरुष, वराहक्षेत्र–५ की ८२ वर्षीया महिला, गाढी ६ सुनसरीका ७१ वर्षीय पुरुष र धरान १ का ७० वर्षीया महिलाको उपचारको क्रममा मृत्यु भएको सो अस्पताललको सह प्रवक्ता चुरामणी पोखरेलले जानकारी दिए ।

यसै गरी विराटनगर–१३ का ५८ वर्षीय पुरुष, मोरङको सुन्दरहरैचा नगरपालिका १२ का ७९ वर्षीय पुरुष र जहदा गाँउपालिका ७ का ६० वर्षीय पुरुषको होम आइसोलेसनमा मृत्यु भएको छ ।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment