उपत्यकामा आजदेखि अत्यावश्यक बाहेकका सबै कार्यालय बन्द, निषेधाज्ञा पनि लम्बियाे


काठमाडौँ । काठमाडौँ उपत्यकामा बिहीबार (आज)देखि अत्यावश्यकबाहेक कार्यालय बन्द रहने भएका छन् । काठमाडाै उपत्यकामा काेराेना भाइरस तीव्र रूपमा फैलिएर नियन्त्रणबाहिर गएपछि जिल्ला प्रशासनले उक्त निर्णय गरेकाे हाे ।

काठमाडौँ प्रशासनले बुधबार एक सूचना जारी गर्दै कोरोनाको महामारी तीब्र रुपमा बढिरहेकाले नियन्त्रणका गर्नका लागि अत्यावश्यकबाहेकका कार्यालय बन्द गर्न भनेकाे थियाे । काठमाडौँका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीका अनुसार कोभिड- १९ को जोखिम बढ्दो क्रममा रहेकाले निषेधाज्ञाको अवधिभर त्यस्ता कार्यालय बन्द रहनेछन् ।

जारी सूचनामा अत्यावश्यकीय सेवाका कार्यालयलाई भने सेवा प्रवाहमा कुनै व्यवधान आउन नदिने र त्यसका लागि न्यूनतम जनशक्तिमा सेवा प्रवाहको व्यवस्थापन गर्न भनिएको छ । तर अत्यावश्यकबाहेकका अरू सबै कार्यालय भने बन्द गर्न भनिएकाे छ । सूचनामा भनिएकाे छ, ‘निषेधाज्ञाको अवधिभर अत्यावश्यक सेवाको कार्यालय बाहेक अन्य सबै जिल्लास्थित कार्यालय यही वैशाख ३० गतेदेखि बन्द गर्ने-गराउने व्यवस्थाका लागि जानकारी गराइन्छ ।’

उपत्यकामा जारी निषेधाज्ञा पनि थप गरिएकाे छ । आगामी जेठ १३ गते राति १२ बजेसम्मका लागि निषेधाज्ञा थप गरिएको हाे । उपत्यकाको तीनै जिल्ला (काठमाठौँ, ललितपुर र भक्तपुर) का प्रमुख जिल्ला अधिकारीसहितको बुधबारको बैठकले उक्त निर्णय गरेको हो । यसअघि वैशाख १६ गतेदेखि निषेधाज्ञा सुरू गरिएकाे थियाे ।

यसपालि निषेधाज्ञामा अत्यावश्यक खाद्य सामग्री खरिद बिक्रीका लागि बिहान १० बजेसम्म खुला रहने छ । उक्त समयमा अत्यावश्यक खाद्य सामग्रीका पसल, व्यवसाय र डिपार्टमेन्टल स्टोर्स (खाद्य सामग्री मात्र बिक्री गर्न) खुला हुने छ । मानिसको भिडभाड हुने सबै गतिविधिमा रोक लगाइएको छ । सर्वसाधारणले औषधि, खाद्यवस्तु तथा अन्य अत्यावश्यक उपभोग्य वस्तु वा सेवा खरिदका लागि तथा अत्यावश्यक सेवा लिनुपर्दा बाहेक कुनै पनि व्यक्ति घरबाहिर निस्किन पाउने छैन ।

सार्वजनिक एवं निजी सवारी साधन जेठ १३ गते राति १२ बजेसम्म उपत्यकामा सञ्चालनमा रोक लगाइएको छ । अत्यावश्यक सामग्री बोकेका ढुवानीका सवारी साधन, बिरामी तथा कुरुवा (बढीमा दुई जना) बोकेका एम्बुलेन्स, स्वास्थ्यकर्मी तथा सुरक्षाकर्मीले प्रयोग गर्ने सवारी साधन सञ्चालन गर्न पाइने छ ।

होटल तथा पार्टी प्यालेसमा विवाह, व्रतबन्ध गर्न रोक लगाइएको छ । घरमै उक्त कार्य गर्दा १० जनाभन्दा बढी उपस्थित हुन नपाइने आदेशमा भनिएको छ । यस्तै आजैदेखि लागू हुनेगरी अत्यावश्यक सेवा दिने कार्यालयबाहेक सबै कार्यालय बन्द गरिएको छ ।

अहिलेसम्म यसैगरी मुलुकका ७३ जिल्लामा निषेधाज्ञा जारी भएको छ ।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment