आज असार १५, दही-चिउरा खाने दिन : राष्ट्रिय धान दिवस पनि मनाइँदै


काठमाडौँ । आज असार १५ अर्थात् मानो रोपेर मुरी उब्जाउने महिनाको मध्य दिन । यसदिन नेपालभर राष्ट्रिय धान दिवस मनाइन्छ । यस वर्ष मङ्गलबार परेकाे राष्ट्रिय धान दिवस मुलुकभर राेपाइँ गरेरै मनाइँदै छ ।

नेपालले २०६२ सालदेखि असार १५ लाई धान दिवसका रुपमा मनाउँदै आएको छ । विगतमा कृषि मन्त्रालय, कृषि विभागअन्तर्गत गठित समितिले धान दिवस विशेष महोत्सव लगायत कार्यक्रम आयोजना गर्ने गरेकोमा यस वर्ष भने काेराेना महामारीका कारण औपचारिक कार्यक्रमहरू राखिएकाे छैन ।

असार १५ लाई नेपाली समाजमा दही च्यूरा खाने पर्वको रुपमा पनि लिइन्छ । खेतीपाती बाहेक अन्य पेसा र व्यवसायमा लागेका नेपालीले पनि आज दही च्यूरा खाई असार १५ मनाउने गर्दछन् । आजको दिन किसानले शक्ति प्राप्तिका लागि दही च्यूरा खाने प्रचलन रहेकाे बताइन्छ । यसबेला दही च्यूराले शरीरमा शीतलता भई शक्ति सञ्चय हुने विश्वास गरिन्छ ।

नेपालकाे प्रमुख खाद्यान्न बाली धानी हाे । आगामी आर्थिक वर्षका लागि देशको खाद्यान्नको मुख्य आधार रहेको धानकाे उत्पादन बढाउन सरकारको सहजीकरणमा विशेष गरी कृषकको व्यक्तिगत पहलमा धान रोप्ने कार्य हुन्छ । नेपाल धानमा आत्मनिर्भर हुनका लागि वार्षिक ६२ लाख मेट्रिक टन धान उत्पादन हुनु जरूरी रहेकाे कृषि तथा पशुपन्छी विकास मन्त्रालयको तथ्याङ्कले जनाएकाे छ । 

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment