इलामका गाउँ गाउँमा कांग्रेस महाधिवेशनको रौनक: सभापतिमा आकांक्षी को-को ?



  • युवराज गौतम   

इलाम । नेपाली कांग्रेसको १४ औं महाधिवेशनको गर्मी देशभर बढेको छ । कोभिड महामारको त्रासले महाधिवेशन के होला भनेर प्रश्न उठिरहेको भए पनि गाउँ गाउँ रोपाई चलिरहेको अवस्थामा समेत कांग्रेस महाधिवेशनको तयारी शुरु भएको छ । चोकहरुमा कांग्रेसमा अबको नेतृत्वको बहस सुरु भइसकेको छ । वडा, गाउँ, जिल्ला तहदेखि केन्द्रीय नेतृत्वमा को आउला ? को आए कांग्रेस बलियो बन्छ ? भन्ने चर्चा शुरु भएको छ ।

कोरोना महामारी कै बिच केन्द्रीय स्तरका नेताहरु जिल्ला दौडाहामा कम देखिए पनि जिल्लास्तरका नेताहरु गाउँ गाउँ टोल टोल पुग्न थालेका छन् । राष्ट्रिय राजनीतिमा देखिएका नेताहरुको जिल्लामा चुनावी रौनक झनै तातेको छ । कांग्रेसको केन्द्रीय राजनीतिमा लामो समय विशेष स्थान राख्ने नेपाली कांग्रेसका पूर्व महामन्त्री कुलबहादुर गुरुङको गृह जिल्ला इलाममा अबको नेतृत्व शसक्त हुनुपर्ने आवाज कार्यकर्ता स्तरबाट उठ्न थालिसकेको छ ।

लामो समय पार्टीको अधिवेशन नभएकोले पार्टीलाई जिवन्त राख्न तथा राष्ट्रिय राजनीतिमा देखिएको समस्याले लोकतन्त्रमा पार्न सक्ने खतरालाई घटाउदै संबिधानको रक्षाको लागि समेत पार्टी भित्र धेरै धुर्विकरण भन्दा पनि एकताको महाधिवेशन गर्नुपर्ने आवाजहरु समेत उठ्न थालेका छन् ।

नेकपा एमालेका ‘हेभी वेट’ नेताहरु रहेको इलाममा कांग्रेसको जिल्ला नेतृत्व मजबुद हुनुपर्ने आवाज उठिरहेको छ । आन्तरिक गुट उपगुटबाट अलक रहँदै कांग्रेसभित्र एकताको अधिवेशन हुनुपर्नेमा कार्यकर्ताको जोड छ । चुनावको मुखमा मात्र गाउँले कार्यकर्तालाई भेट्न पुग्ने कतिपय आकांक्षीहरु देखि सदाबहार संगठनको सुदृढीकरणमा खटिएका नेताहरु जिल्ला नेतृत्व लिने दाउमा छन् । इलामको आगामी नेतृत्वका लागि बहालवाला सभापति, पूर्वसभापति देखि जिल्लास्तरमा सक्रिय नेताहरुले दाबी गरेका छन् ।

विभिन्न खेमामा विभाजित देखिएको कांग्रेस इलाममा पनि शेरबहादुर देउवा, रामचन्द्र पौडेल र कृष्णप्रसाद सिटौलालगायतका नेताहरुसँग निकट मानिएका नेताहरु नै नेतृत्वको दौडधुपमा छन् । पाकादेखि युवा अनुहारहरु जिल्ला नेतृत्वमा आउने इच्छा देखाएका छन् ।

एकथरी कार्यकर्ता तथा शुभेच्छुकहरुले केही नेताहरुलाई प्रदेश र केन्द्रीय समितिमा प्रतिस्पर्धा गरेर सहमतिमा जिल्ला नेतृत्व चयन गर्नुपर्ने सुझाव दिइरहेका छन् । दुई प्रतिनधि सभा निर्वाचन क्षेत्र, चार नगरपालिका र ६ गाउँपालिका रहेको इलाममा क्षेत्रीय सभापतिमा पनि आकाक्षीहरुको दौडधुप शुरु भइसकेको छ । नेपाली कांग्रेसको राजनीतिलाई नजिकबाट बुझेका नेता होम दुलाल भन्छन्,‘संगठनमा निरन्तर क्रियाशील, क्षमतावान, वैचारिक नेतृत्व भएको नयाँ अनुहार जिल्लाले खोजेको छ । त्यसका लागि सबैले इमान्दार प्रयास गर्नुपर्छ । नेतृत्व परिवर्तन गर्दै अन्य प्रतिस्पर्धी पार्टीहरुमध्येबाट कांग्रेसलाई एक नम्बरमा उभ्याउन सक्ने नेतृत्व चाहिएको छ ।’ 

१५ हजार बढी क्रियाशील सदस्य रहेको  इलाममा यस पटक हालका सभापति हिमालय कर्माचार्य, पूर्व सभापति केशव थापा, महासमिति सदस्य भेषराज आचार्य, कांग्रेस राजनीतिमा लामो इतिहास बनाएका होम दुलाल, पूर्व कोषाध्यक्ष डम्बर खड्कालगायतले सभापतिमा इच्छा देखाएर बिभिन्न गतिविधिहरु चलाइरहेका छन् ।

हिमालय कर्माचार्य

पटक पटक गरेर ३ पटक जिल्ला नेतृत्व समालिसकेका हिमालय कर्माचार्यले आफू पुनः जिल्ला नेतृत्वमा रहेर काम गर्ने इच्छा जनाएका छन् । उनले मंगलबार मात्र आफू निकटहरुको भेला डाकेर आफूले सभापतिमै रहेर काम गर्ने इच्छा दर्शाइसकेका छन् । ‘यस पटक सभापतिमा मेरो इच्छा थिएन तर ८०-९० जना साथीहरुको भेलाले मलाई नै सभापतिमा अघि बढाउने निष्कर्ष निकाले । साथीहरुकै इच्छामा आफूले तयारी गर्नुपर्ने भयो’ उनले भने ।  साथीहरुसँगको परामर्शपछि पुनः जिल्ला सभापति भएर पार्टीलाई मजबुद बनाएर लैजाने संकल्प लिएको उनले बताए । आफू सभापति भएका नाताले आकांक्षीहरुलाई मिलाएर लैजाने र सहमतिमा अघि बढ्ने पनि प्रतिवद्धता जनाए ।

२०३६ सालको जनमत संग्रहपछि नेपाली कांग्रेसको राजनीतिमा आएका कर्माचार्य २०४७ सालमा बहुदलीय व्यवस्था स्थापनामा आफूले महत्वपूर्ण भूमिका निर्वाह गरेको बताउँछन् । प्रधानपन्च हुँदै राजनीतिमा सक्रिय भएका उनी २०४८ सालमा पार्टी जिल्ला कोषाध्यक्ष भएका थिए । २०५६ सालमा १० औं अधिवेशनबाट पहिलो पटक पार्टीको जिल्ला सभापति भएका उनी ११ औं अधिवेशनमा पनि सभापति दोहोर्याएका थिए । १२ औं महाधिवेशनमा सभापतिमा पराजित भएका उनी १३ औं अधिवेशनबाट सभापतिमा विजयी भएका थिए ।

२०७० सालमा प्रतिनिधि सभा इलाम क्षेत्र नम्बर १ बाट टिकट पाएर तत्कालिन एमालेका झलनाथ खनालसँग पराजित भएका थिए । उनी इलाम नगरपालिकाको पहिले नै  मेयर भैसकेका व्यक्ति हुन तर २०७४ सालमा भने इलाम नगरपालिकाको मेयरमा पराजित भएका थिए । हाम्राकुरासँगको कुराकानीमा उनले केन्द्रीय समितिमा लोभलालच आफूमा नभएको र जिल्लामा आफ्नो विचार समूह बलियो भएकाले सभापतिमा स्वभाविक उम्मेदवारी हुने बताए ।

केशव थापा

नेपाली कांग्रेस विभाजित भइ संस्थापन र प्रजातान्त्रिक समूह भएकाबेला प्रजातान्त्रिक समूहबाट जिल्ला सभापति हुँदै राज्यमन्त्री समेत भइसकेका केशव थापाले पनि यस पटक जिल्ला सभापतिमा आकांक्षा राखेका छन् । सबै साथीहरुसँग परामर्श गरिरहेकाले केही दिनपछि सभापतिका रुपमा आफूले अभियान चलाउने बताए । २०३५ सालबाट नेविसंघको राजनीतिबाट सक्रिय भएका उनी नेविसंघको जिल्ला सभापति हुँदै कांग्रेसको सक्रिय राजनीतिमा आएका हुन् ।

२०४२ सालमा पार्टीको जिल्ला कार्यसमिति सदस्य भएका उनी २०४६ सालको जनआन्दोलनमा सक्रिय भूमिका निर्वाह गरेका थिए । जनआन्दोलन ताका जेल जीवन समेत भोगेका उनी पार्टीको कोषाध्यक्ष हुँदै जिल्ला सभापतिको कमान्ड सम्हालिसकेका छन् । २०५६ सालमा इलाम क्षेत्र नम्बर ३ बाट सांसदमा विजयी हुँदै भौतिक योजना राज्यमन्त्री भएका उनी २०७० साल पनि सांसद विजयी भएका थिए ।

२०५९ सालमा प्रजातान्त्रिक समूहको सभापति हुँदै संस्थापन र प्रजातान्त्रिक समूहको एकिकरण पछि संयुक्त समितिको पनि सभापति भएका थिए । अहिले जिल्ला सभापतिकै लागि प्रयास गरिरहेकाले केन्द्रीय समितिमा जाने वा लबिङ शुरु गर्ने भन्ने विषयमा जिल्ला अधिवेशन सकिएपछि मात्र भन्न सकिने उनले बताए । केन्द्रमा देउवालाई लामो समय देखि साथ दिदै आएका थापा जिल्लामा लामो समयदेखि सक्रिय छन् ।

भेषराज आचार्य

कांग्रेसको १३ औं महाधिवेशनताका जिल्ला सभापतिबाट पराजय भोगेका भेषराज आचार्यले पुनः यस पटक सभापतिमा प्रतिस्पर्धा गर्दै नेतृत्व सम्हाल्ने बताएका छन् । २०३३ सालमा नेविसंघबाट सक्रिय राजनीतिमा आएका उनी ०३६ सालमा आदर्श माविमा कक्षा १० मा पढ्दापढ्दै विद्यार्थी यूनियनको सभापतिमा प्रत्यासी बनेका भेषराज २०४२ सालमा कांग्रेस जिल्ला कार्यसमितिको सदस्य भएका थिए ।

२०४८ सालमा महाधिवेशन प्रतिनिधि हुँदै २०५५ सालमा क्षेत्रीय सभापतिको भूमिका निर्वाह गरिसकेका उनी पटक पटक महासमिति सदस्य र महाधिवेशन प्रतिनिधि हुँदै आइरहेका छन् । ‘म निरन्तर गाउँ-शहरका कार्यकर्ताहरुको माझमा छु, अहिले पनि गाउँमै छु र गाउँबाटै कार्यकर्ताहरुमाझबाट जिल्ला सभापतिमा शसक्त उम्मेदवारी घोषणा गर्दछु,’ उनले भने, ‘विगतका पार्टी नेतृत्वबाट संगठन बलियो बन्न नसकेकाले कार्यकर्ता र शुभेच्छुकहरुले नयाँ अनुहार–विचार खोजेका छन् । त्यसका लागि मेरो उम्मेद्वारी स्वाभाविक छ ।’

आफूले गाउँका सम्पूर्ण कार्यकर्ताहरुको भावना बुझेकाले पार्टीमा नयाँ पद्धती, सोच, शैली र व्यवहारमा परिवर्तन गर्दै लैजाने सक्ने उपयुक्त पात्र हुँ जस्तो लागेको उनले बताए । उनले भने, ‘विगतमा पार्टीको संगठन मजवुद नहुँदा अन्य पार्टीहरुसँग प्रतिस्पर्धा गर्न कठिन भएकाले यसपटक सबै कार्यकर्ताहरुले पार्टी नेतृत्व नयाँ अनुहार खोजेका छन् ।’ प्रतिनिधि सभा निर्वाचनमा उम्मेदवार बनिसकेका आचार्यले यस पटक जिल्ला नेतृत्व सम्हाल्ने दाबी गरे । 

डम्बर खड्का

निर्माण व्यवसाय र कांग्रेसको राजनीतिलाई सँगसँगै अगाडि बढाएका डम्बर खड्काले यस पटक कांग्रेस इलाम सभापतिका लागि उम्मेदवारी दिने घोषणा गरिसकेका छन् । २०४१ सालमा आदर्श माविमा नेविसंघको इकाइ सभापति हुँदै राजनीतिमा आएका उनी २०५१ देखि ०५८ सालसम्म नेविसंघ इलामको सभापति भइसकेका छन् । नेविसंघको केन्द्रीय सदस्य हुँदै तत्कालिन नेपाली कांग्रेस प्रजातान्त्रिकतर्फबाट नेविसंघ केन्द्रीय उपाध्यक्ष समेत भएका उनी पार्टीको जिल्ला कोषाध्यक्ष समेत भइसकेका छन् ।

इलाम क्षेत्र नं २ को प्रदेश १ (क) मा प्रदेश सभाको उमेद्वार समेत भइसकेका उनले आफूले कार्यकर्ताको दुःख सुख भोग्दै संगठन निर्माणमा निरन्तर सक्रिय रहेको बताए । ‘पार्टीमा नेतृत्व हस्तान्तरणको परिपाटी बसाल्नुपर्छ, एउटै जिल्लामा एउटै नेतृत्व २७ बर्षसम्म रहेर संगठन निर्माणमा थप योगदान दिन नसक्ने बताए । उनले भने, 'विपक्षी पार्टीहरुसँगको प्रतिस्पर्धाबाट एक नम्बर कांग्रेस पार्टी बनाउनका लागि मैले उम्मेदारी दिन लागेको हुँ ।’ 

विकल्प र सहमतिको प्रयास

कांग्रेसको इलाम जिल्ला सभापतिको आकांक्षीका रुपमा मैदानमा उत्रिएकाबाहेक अन्य नेताहरुले पनि सर्वसहमतिका रुपमा आफूलाई नेतृत्व दिनुपर्ने अपेक्षा गरेका छन् । हाल सभापतिको रेसमा रहेका आकांक्षीहरुबाट सहमति नभए समाजसेवी तथा पाको कांग्रेस नेतृ विष्णु दाहाल, बेनुपराज प्रसाइँ, हरि खनाल, होम दुलाल लगायतले पनि जिल्ला नेतृत्व सम्हाल्ने इच्छा देखाएका छन् ।

दुई वटा प्रतिनिधि सभा क्षेत्र रहेको इलाममा क्षेत्रीय सभापतिका लागि पनि आकांक्षीहरु खुल्न थालेका छन् । क्षेत्र नम्बर १ बाट दुर्गा बराल, मिलन क्षेत्री, शम्सेर राई, उद्धब पौड्याललगायतले इच्छा देखाएका छन् । क्षेत्र नम्बर २ बाट नुतनदेव दुलाल, डिकेन्द्र इदिङ्गोलगायतले इच्छा देखाएका छन् । 

केन्द्रीय समितिमा अपेक्षा

नेपाली कांग्रेसको इलामबाट सक्रिय राजनीतिमा हुँदै केन्द्रीय राजनीतिमा पनि इच्छा देखाउनेहरुको संख्या बढ्दै गएको छ । हाल केन्द्रीय सदस्य रहेकी सुजाता परियारले केन्द्रीय समितिमा महत्वपूर्ण स्थान खोजेकी छिन् ।

निर्मला प्रसाइँ, चन्दा कार्की, सांसद भइसकेका टीकाराम लाप्चा, पाका नेता तोयानाथ भट्टराई, जनजाती महासंघको केन्द्रीय सभापति भइसकेका तथा संबिधान सभाका सांसद नगेन्द्र कुमालले पनि केन्द्रीय समितिमा उचित स्थान खोजेका छन् । प्रदेश समितिमा पनि आकाक्षीहरु बढ्दै गइरहेका छन् ।

हाम्राकुरा डटकमबाट साभार गरिएकाे 



प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment