असार २४ देखि चीनबाट क्रमबद्धरुपमा ३० लाख डोज खोप नेपाल आउने

काठमाडौं । लामो समय खेलवाड नै गरेपछि सरकारले चीनबाट खोपको क्रमबद्ध आपूर्ति हुने गरी व्यवस्था मिलाएको छ । खोपको विषयलाई लिएर जनस्तरबाट चर्को आलोचना भोगेपछि सरकारले असार २४ गतेदेखि कोरोनाविरुद्धको खोप चीनबाट प्रत्येक हप्ता आपूर्ति हुने व्यवस्था मिलाएको हो ।

यो व्यवस्था गरेसंगै सरकारले अब गाउँगाउँमा खोप भन्ने भाषण नै फलाक्न थालेपनि प्रधानमन्त्री केपी शर्मा ओलीले घोषणा गरे जस्तो २०२१ भित्रै सबै नेपालीको शरीरमा खोपको डोब भने नदेखिने निश्चित छ ।

सरकारले चीनसँग ४० लाख डोज खोप खरिदका लागि नन डिस्क्लोजर एग्रीमेन्ट गरेको छ । यसक्रममा चीनबाट कूल ३० लाख खोप क्रमवद्ध रूपमा आउने स्वास्थ्य मन्त्रालयले जनाएको छ । तर चीनको सिनोफार्म कम्पनीले उत्पादन गरेको भेरोसेल खोपको ४० लाख डोज खोप खरिदका लागि नेपाल सरकारले सम्झौता गरिसकेको र अब पर्याप्त मात्रामा खोप आपूर्ति हुने सरकारी स्तरबाटै बताइएको छ ।

खोप भण्डारणको अवस्थालाई मध्यनजर गर्दै असार २४ देखि हरेक हप्ता १० लाख डोज खोप चीनबाट आपूर्ति हुन लागेको हो । यसअघि नेपाललाई चीनले १८ लाख मात्रा भेरोसेल खोप अनुदानमा उपलब्ध गराएको थियो। त्यसैगरी भारतबाट अनुदानमा ११ लाख, खरिद प्रक्रियाबाट १० लाख र विश्वव्यापी खोप वितरण अभियान कोभ्याक्समार्फत् ३ लाख ४८ हजार कोभिशील्ड खोप नेपालले प्राप्त गरेको छ।

सेरम कम्पनीलाई १० लाख डोज कोभिशील्ड खोपको लागि भुक्तानी दिसकेको छ । अगामी अक्टोबरसम्म कोभिशील्डको १० लाख डोज उपलब्ध गराउने जानकारी कम्पनीले दिएको छ ।

नेपालको कूल जनसङ्ख्याको २० प्रतिशत अर्थात् १ करोड २६ लाख मात्रा खोप उपलब्ध गराउने प्रतिबद्धता कोभ्याक्सले गरेको भएपनि सन २०२१ भित्र सबै मात्रा प्राप्त हुने सम्भावना छैन । जुलाई महिना भित्र साढे ३ लाख मात्रा खोप उपलब्ध गराउने जानकारी कोभ्याक्सले दिएको छ ।

दुई साता अघि अमेरिकाले नेपाल सहित १८ वटा देशका लागि एक करोड ७० लाख मात्रा खोप उपलब्ध गराउने जनाएको थियो। ती खोपहरु पनि कोभ्याक्स मार्फत आउनेछन् । तर कहिले आउछन् त्यस्को टुंगो अहिलेसम्म लाग्न सकेको छैन ।

प्रधानमन्त्री केपी शर्मा ओलीले २०२१ भित्र सबै नेपालीलाई खोप लगाइसक्ने घोषणा गरेपनि त्यो भने पूरा हुने देखिदैन । नेपालले खोप खरिद गर्न राखेको प्रस्तावमा जोन्सन एन्ड जोन्सन नोभ्याक्स,सेरम लगायतका ५ कम्पनीहरुले यसबर्ष खोप उपलब्ध गराउन नसक्ने बताएका छन् ।

बजेटमा खोप खरिदका लागि २६ अर्ब ७५ करोड रुपैयाँ विनियोजन गरिएको छ । अहिलेसम्म नेपालको कुल जनसङ्ख्याको ९ प्रतिशतले पहिलो मात्रा खोप लगाउन पाएका छन् । बिज्ञहरुले कोरोनाको तेस्रो लहरको जोखिम रहेकाले छिटो भन्दा छिटो सबै नेपालीलाई खोप दिन सके कोरोनाबाट हुने मानवीय क्षति कम गर्न सकिने सुझाब दिदै आएका छन् ।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment