अफगानिस्तानमा रहेका नेपालीलाई छिटोभन्दा छिटो उद्धार गर्ने सरकारको निर्णय



काठमाडौँ । सरकारले अफगानिस्तानमा रहेका नेपालीहरूको सक्दो छिटो उद्धार गर्ने निर्णय गरेको छ । आज (सोमबार) प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको हो ।

यसअघि अफानिस्तानमा नेपालीहरु संकटपूर्ण अवस्था रहेको भन्दै विभिन्न स्तरबाट सरकारको ध्यानाकर्षण भएको थियो । आजको मन्त्रिपरिषद बैठकले अफगानिस्तानमा विकसित घटनाप्रति गम्भीर रहेको सन्देश दिँदै छिटोभन्दा छिटो त्यहाँबाट नेपाली नागरिकको उद्धार गर्ने निर्णय गरेको हो । बैठकले यसका लागि सम्बन्धित निकायलाई निर्देशन दिएको छ ।

‘अफगानिस्तानमा पछिल्लो विकसित घटनाप्रति गम्भीर चासो लिँदै त्यहाँ रहेका नेपालीलाई सकुशल शीघ्र उद्धार गर्ने र त्यसका लागि नेपाल सरकारका सम्बन्धित निकायहरूले समन्वयात्मक रूपले काम गर्न निर्देशन दिने निर्णय भएको छ,’ सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले भने ।

यस्तै, भूतपूर्व ब्रिटिस गोर्खा सैनिकका सम्बोधन हुन बाँकी रहेका समस्या समाधान गर्न माग गर्दै बेलायतको लन्डनमा जारी आमरण अनशनप्रति पनि नेपाल सरकारको ध्यानाकर्षण भएको प्रवक्ता कार्कीले बताए ।

‘यस समस्यालाई कूटनीतिक माध्यमबाट समाधान गर्न नेपाल सरकार प्रतिबद्ध रहेको छ,’ बैठकपछि मन्त्रिपरिषद्को निर्णय सुनाउँदै उनले भने । सरकारले सोसम्बन्धी कूटनीतिक प्रक्रियासमेत अगाडि बढाइसकेका सन्दर्भमा आमरण अनशनलगायतका विरोध कार्यक्रम फिर्ता लिनका लागि भूतपूर्व ब्रिटिस गोर्खा सैनिक सम्बद्ध सबैलाई आह्वान गरेको छ ।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment