चुलाचुलीमा उन्नत जातको धान खेतीमा किसानको आकर्षण बढ्दै

 
  • सुजन तिमल्सिना 

भाद्र ११ चुलाचुली । दक्षिणि इलामको चुरे क्षेत्रका समथर भु–भागमा उन्नत जातको धान खेतीमा किसानको आकर्षण बढेको छ । प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजनाबाट धान ब्लक क्षेत्र घोषणा भई उन्नत धान खेतीमा सहयोग गरेपछि किसानको आकर्षण बढेको हो ।
झापासँग सीमा जोडिएको चुलाचुली गाउँपालिका १ का किसानले अहिले उन्नत जातको धान खेती गर्दै आएका छन् । चुलाचुली १ का किसानहरुका लागि कृषि ज्ञान केन्द्र इलामले आर्थिक वर्ष २०७६/०७७ बाट उन्नत धान उत्पादन ब्लक आयोजना संचालन गर्दै आएको छ । जसले गर्दा किसानमा उन्नत धान खेतीप्रति आकर्षण बढेको हो ।
उन्नत जातका धान खेती गरि किसानको आयस्तरमा वृद्धि ल्याउन संचालीत आयोजनामा किसानको ५० प्रतिशत सहभागिता रहन्छ । चुलाचुली १ का २ सय ५० किसान घरधुरीको एक सय ५० हेक्टरमा संचालित ब्लक कार्यक्रममा आर्थिक वर्ष २०७६/७७ मा ७० लाख खर्च भएको थियो ।
उन्नत जातको धानको विऊ, बारी जोत्नका लागि ट्रयाक्टर खरिद, रोग किरा नियन्त्रणका लागि जैविक विषादी बनाउने तालिम र बिऊ भण्डारणका सामग्री हस्तान्तरण गरिएको छ । जसले गर्दा किसान उन्नत धान खेतीमा उत्साहित भई लागेको आयोजनाका अध्यक्ष त्रिलोचन गौतमले बताए ।
तीन वर्ष सम्म संचालन हुने ब्लक कार्यक्रमबाट गत आर्थिक वर्षमा २७ लाख ४० हजारका कार्यक्रम संचालित भएका थिए । उन्नत धान उत्पादनमा वृद्धि ल्याउन आयोजनाबाट ५ हजार किलो उन्नत जातको धानको बिऊ खरिद गरि किसानलाई हस्तान्तरण गरिएको छ ।
१२ रै महिना सिचाई सुविधा नहुने चुलाचुली १ मा सिचाई सुविधाका लागि ५० प्रतिशत अनुदानमा साना सिचाई बोरिङ्ग किसानका धानबारीमै जडान भएका छन् । गोरु र राँगाबाट बारी खनजोत गर्ने किसानको सुविधाका लागि आयोजनाले ट्रयाक्टर सहित आधुनिक कृषि औजार खरिद गरेको छ ।
गाईबस्तुको गोठको सुधार गरि गोठेमल प्रयोग गर्ने किसानलाई २५ सय सम्म अनुदान सहयोग गरिएपछि अर्गानिक कृषि उत्पादनमा सहयोग पुगेको हो । कृषि क्षेत्रमा उत्पादन बढाउने योजना सहितका परियोजनाहरु संचालन भएपछि चुलाचुली गाउँपालिका भित्र कृषि क्षेत्रमा यान्त्रिकरण हुनुका साथै आधुनिक खेतीमा किसानको आकर्षण बढेको चुलाचुली गाउँपालिका अध्यक्ष प्रदिपचन्द्र राईले बताए ।
लाेकल सन्देशबाट साभार
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment