कोरोना नियन्त्रणको लागि माईजोगमाईमा सक्रियता बढाइदै

 
  • रोशन काफ्ले 

भाद्र ११ नयाँबजार । जिल्लामा कोरोनाको संक्रमण दर बढ्दै जान थालेपछि इलामको उत्तरी स्थानीय तह माईजोगमाई गाउँपालिकामा उच्च सतर्कता अपनाइएको छ । नयाँ भेरिएन्टको फैलावट पछि हालसम्मको अवधिमा माईजोगमाईमा कोभिडबाट ६ जनाले ज्यान गुमाएको तथ्यांक छ । भारतसंग सिमाना जोडिएको माईजोगमाईमा सिमा नाकामा कडाई गरिएको छ ।
अन्य स्थानीय तहबाट प्रवेश गर्नेहरुलाई समेत सचेत गराइदै आएको स्वास्थ्य शाखा प्रमुख रामशंकर देवले जानकारी दिए । देवका अनुसार गाउँपालिकामा हालसम्म ४ हजार ८ सयलाई कोभिड विरुद्धको खोप दिइएको छ । २२ हजार जनसंख्या भएको गाउँपालिकाले १८ बर्षमाथिका १५ हजार जनसंख्यालाई खोप दिने लक्ष्य राखेको छ । पहिलो लहरमा कोरोना संक्रमितहरुको संख्या कम देखिएको माईजोगमाईमा दोस्रो लहरमा संक्रमितको संख्या बढेसँगै गाउँपालिकाले नियन्त्रणका लागि कोराना परिक्षणको दायरामा बढाइएको गाउँपालिका अध्यक्ष जीतबहादुर राईले बताए । ।
गाउँपालिकाले हालसम्म १ हजार ३ सय ६५ जनाको एन्टिेजन परिक्षण गरेको छ । गाउँपालिकामा कुल भेटिएका २ सय ८२ संक्रमित मध्ये २ सय ३२ जना निको भएका छन् । कोभिडको जोखिम बढ्दै गएपछि नयाँबजारमा निर्माण गरिएको कोभिड अस्पतालको सेवा प्रवाहलाई समेत चुस्त बनाइएको छ । ५ बेडको अस्पतालमा ४ जना उपचारमा छन् । बिहिबार एक जना उपचारपछि डिस्चार्ज भएर घर फर्किएको देवले बताए ।
‘ नियमित रुपमा वडाहरुमा एन्टिजेन परिक्षण हुँदै आएको छ । अक्सिजन लेभल कम भएकाहरुलाई कोभिड अस्थायी अस्पतालमा उपचार गरिदै आएको छ । भेन्टिलेटरमा राख्नुपर्ने अवस्थामा देखिएमा सुविधा सम्पन्न अस्पतालमा रेफर गर्ने गरेका छौ ।’ देवले भने ‘ गाउँपालिकामा रहेको संक्रमितहरुसंग दैनिक रुपमा सम्पर्क गरि स्वास्थ्यको बारेमा जानकारी लिँदै आएका छौ । आवश्यक औषधीहरुको व्यवस्थापनको काम समेत हुँदै आएको छ ।’
संक्रमितहरुको स्वास्थ्य अवस्था हेरेर १० देखि १४ दिनको अवधिमा पुनः एन्टिजेन गरिदै आएको देवले बताए । कोभिडको असरलाई न्युनिकरणको लागि छिमेकी स्थानीय तहमा ओहोरदोहोर गर्नेलाई उच्च निगरानीमा राखिएको उनले बताए ।
लाेकल सन्देशबाट साभार
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment