झापाका प्रथम शहीद विश्वनाथ घिमिरेको शालिक शिलान्यास

  • युवराज आचार्य,

झापा । सहादत प्राप्त भएको करिब ६० वर्षमा झापाका प्रथम शहीद विश्वनाथ घिमिरेको शालिक शिलान्यास गरिएको छ । मेचीनगर–४ स्थित बाहुनडाँगी बजारमा एक कार्यक्रमकाबीच शुक्रबार नेपाली कांग्रेसका पूर्व महामन्त्री कृष्णप्रसाद सिटौला र पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले शालिकको संयुक्तरुपमा शिलान्यास गरेका हुन् ।

तत्कालीन पञ्चायती सरकारको निर्देशनमा नेपाली सेनाले काँग्रेसका नेता घिमिरेको २०१९ साल जेठ ३१ गते झापाको मेचीनगर–८ पुण्यचोकमा गोली हानी हत्या गरेको थियो । घिमिरेलाई कृष्णप्रसाद भट्टराई प्रधानमन्त्री भएको बेलामा सरकारले राष्ट्रिय शहीद घोषणा गरेको थियो ।

शहीद घिमिरेको परिवारका तर्फबाट प्रदान गरिएको एक कठ्ठा तीन धुर जग्गामा उनको अर्धकदको शालिक निर्माण गर्न लागिएको शहीद विश्वनाथ घिमिरे स्मृति प्रतिष्ठानका अध्यक्ष तथा नेपाली कांग्रेस झापाका उपसभापति राम कट्टेलले बताए ।

शिलान्यास कार्यक्रमलाई सम्बोधन गर्दै नेपाली कांग्रेसका पूर्व महामन्त्री सिटौलाले राजा महेन्द्रले २०१७ सालमा प्रजातन्त्र अपहरण गरेर निरंकुश शासन सुरु गरेको दुई वर्ष नबित्दै जननिर्वाचित प्रधानमन्त्री वीपी कोइराला जेलमा भएको बेला सदरमुकाम चन्द्रगढी बोलाएर पञ्चायती शासकहरुले बाटैमा गोली हानी घिमिरेको हत्या गरेको बताए ।

त्यस्तै नेपाली कांग्रेसका प्रवक्ता तथा केन्द्रीय सदस्य विश्वप्रकाश शर्माले ढिलै भएपनि शहीद घिमिरेको योगदानको मूल्यांकन भएको बताए । उनले विगतको कम्युनिस्ट सरकारले जे–जे गल्ती गरेको छ, वर्तमान सरकारले त्यस्तो गल्ती नदोहोर्याउने विश्वास व्यक्त गरे ।

शिलान्यास कार्यक्रममा पार्टीकी केन्द्रीय सदस्य सरिता प्रसाई, जिल्ला सभापति उद्धव थापा, मेचीनगर प्रमुख विमल आचार्य, शहीद घिमिरेका छोरा भगिरथ घिमिरे, पार्टीका क्षेत्रीय सभापति मणि उप्रेतीलगायतले सहिद घिमिरेको योगदानको चर्चा गरेका थिए ।

मेचीनगर–४ का वडाध्यक्ष एवं नेपाली काँग्रेस मेचीनगर उपसभापति नवीन बरालले स्वागत गरेको कार्यक्रमको सञ्चालन निरज घिमिरेले गरेका थिए ।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment