असोज ८ भित्र विश्वासको मत नलिए प्रदेश १ का मुख्यमन्त्री भीम आचार्य कुर्सीबाट ‘आउट’ !

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री भीम आचार्यलाई असोज ८ गतेसम्म विश्वासको मत लिन विपक्षी गठबन्धनले अल्टिमेटम दिएको छ । मुख्यमन्त्री आचार्यले असोज ८ गतेभित्र विश्वासको मत नलिए अविश्वास प्रस्ताव ल्याएर वर्तमान सरकारलाई विस्थापित गर्ने र नयाँ सरकार गठन गर्न अग्रसर हुने नेकपा माओवादी केन्द्रका संसदीय दलका नेता इन्द्र आङ्बोले बताए ।

मुख्यमन्त्री आचार्यले असोज ८ गतेभित्रै जसरी भए पनि विश्वासको मत लिनुपर्ने पनि उनले बताए । यदि त्यसो नभएको अवस्थामा आफूहरु अविस्वासको प्रस्ताव अघि बढाएर वर्तमान सरकार ढाल्ने पनि उनको भनाई छ ।

सत्ता पक्ष सत्ता लम्ब्याउन हर प्रयास गरिरहेको अवस्थामा संविधान प्रतिकूल हुने ठहर गर्दै मुख्यमन्त्री आचार्यविरुद्ध अविश्वासको प्रस्ताव अघि बढाउने विषयमा विपक्षी गठबनबीच सहमति भएको पनि उनले बताए । उनका अनुसार चाँडै नै मुख्यमन्त्री आचार्यले विश्वासको मत लिने प्रकृया अगाडि बढाउन वा राजीनामा दिन माग गरिसकिएको छ ।

संविधानको धारा १८८ को उपधारा २ बमोजिम मुख्यमन्त्रीले नेतृत्व गरेको राजनीतिक दल विभाजन भएमा वा प्रदेश सरकारमा सहभागी दलले आफ्नो समर्थन फिर्ता लिएमा ३० दिनभित्र विश्वासको मतका लागि प्रदेशसभा समक्ष प्रस्ताव राख्नु पर्ने उल्लेख छ ।

सत्ता पक्षले प्रदेशसभामा निर्वाचन आयोगले पत्र पठाएको मितिबाट ३० दिनको समय रहने बताउँदै आएको छ भने विपक्षी गठबन्धनले केन्द्रमा दल विभाजन भएको मितिले ३० दिन गणना हुने बताउँदै आएको छ ।

हाल प्रदेश १ प्रदेशसभामा विपक्षी गठबन्धनमा नेपाली काँग्रेस, नेकपा एकीकृत समाजवादी, नेकपा माओवादी केन्द्र र जसपा नेपाल गरी चार दल रहेका छन् ।

माधव नेपाल समूह एमालेबाट छुट्टिएर गएसँगै हाल प्रदेशसभामा सत्तारुढ नेकपा एमालेका ४१ सांसद छन् । ९२ सदस्यीय प्रदेशसभामा बहुमतका लागि कम्तीमा ४७ सांसदको समर्थन आवश्यक हुन्छ ।

विपक्षी गठबन्धनमा रहेको नेपाली काँग्रेसका २१, नेकपा माओवादी केन्द्रका १५, नेकपा एकीकृत समाजवादीका १०, जनता समाजवादी पार्टीका ३ सांसद गरी ४९ सांसद रहेका छन् । जुन सरकार गठनका लागि प्रस्ट बहुमत हो ।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment