तारा होटेलमा सीआईबीकाे छापा, ९३ लाख नक्कली नोटसहित ५ पक्राउ

 

बारा । प्रहरीको केन्द्रीय अनुसन्धान व्युरो (सीआईबी)ले नक्कली नोटको कारोबार गर्ने ५ जनालाई पक्राउ गरेको छ । शनिबार ९३ लाख नक्कली रुपैयाँसहित निजगढ र रौतहटको गुजरा नगरपालिकाबाट उनीहरुलाई पक्राउ गरेको हो । पक्राउ परेकाहरूलाई नक्कली नोटसहित जिल्ला प्रहरी कार्यालय कलैया लगिएको छ ।

काठमाडाैंबाट आएको व्युरोको टोलीले निजगढस्थित होटेल तारा इनबाट नक्कली नोटको कारोबारमा संलग्न ३ जनालाई पक्राउ गरेकाे थियाे भने  थप २ जना रौतहटको गुजरा नगरपालिका वडा नम्बर-२ बाट शनिबार दिउँसो ३ बजे पक्राउ गरेकाे थियाे ।

गोठमा खाल्टो खनेर बोराभित्र लुकाएर राखेको अवस्थामा रकमसहित उनीहरुलाई नियन्त्रणमा लिएको प्रहरीले स्राेतकाे भनाइ छ । तर, जिल्ला प्रहरी कार्यालय बाराले घटनाको बारेमा थप बताउन चाहेको छैन ।

पक्राउ परेका सबै नेपाली नागरिक भएको बुझिएको छ । तारा इनमा पक्राउ परेका र गुजरामा रकमसहित नियन्त्रणमा लिइएका व्यक्तिहरुको एउटै समुह भएकाे बताइएको छ ।

होटलमा कोठा भाडामा लिएर बसेको सूचनाको आधारमा व्युरोको टोली काठमाडाैंबाट सिधै निजगढ आइपुगेको थियो । जिल्ला प्रहरी कार्यालय कलैया र इलाका प्रहरी कार्यालयमासमेत कुनै जानकारी नदिइ नेपाल प्रहरीको ‘स्पेशल टास्क फोर्स’ को साथमा ठूलो संख्यामा आएको व्युरो टोलीले उच्च सर्तकताका साथ बिहान ११ बजे होटलमा ‘रेड’ हानेकाे थियाे ।

छापामारी गर्ने क्रममा व्युरोका सुरक्षाकर्मीले इलाका प्रहरी कार्यालयका प्रहरीलाई समेत होटलभित्र पस्न दिएकाे थिएन । सर्वसाधारणलाई होटलअगाडि सडकमा हिडडुल गर्न समेत रोक लगाएका थिए ।

व्यूरोको टोलीले छापामारी थालेपछि मात्रै इलाका प्रहरी कार्यालय निजगढका प्रहरीले घटनाबारे जानकारी पाएका हुन् । ‘घटनाबारे शुरुमा केही कुरा पनि जानकारी थिएन, इलाका प्रहरी कार्यालय निजगढका प्रहरी निरीक्षक शंकरप्रसाद चौधरीले भन्नुभयो, ‘गाउँले र सर्वसाधारणले आफूलाई फोन गरेर सोधखोज गर्न थालेपछि मात्रै थाहा भयो ।’

इलाका प्रहरी कार्यालयको टोली शनिबार दिउँसो १२ बजेपछि मात्रै होटलमा पुगेको थियाे । होटलबाट नियन्त्रणमा लिएका ३ जनालाई साथमा लिएर गुजरातर्फ लागेको व्युरोको टोलीले रकमसहित थप २ जनालाई नियन्त्रणमा लिएको थियाे ।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment