१४ औँ महाधिवेशनका लागि काँग्रेस सभापतिका दाबेदार : १३ औँ महाधिवेशनमा कसको मत कति ?


काठमाण्डौ, १९ भाद्र । नेपाली काँग्रेसको आगामी १४ औँ महाधिवेशनका लागि करिब एक दर्जन नेता सभापतिको दौडमा छन् । सुरुमा सभापतिको दाबी गर्नेहरू धेरै भए पनि मैदानमा उत्रने बेलासम्म यो सङ्ख्या घट्ने अनुमान गरिएको छ । तेह्रौँ महाधिवेशनको उदाहरण हेर्ने हो भने शेरबहादुर देउवा, रामचन्द्र पौडेल र कृष्णप्रसाद सिटौलासमेत तीनजनाबीच प्रतिस्पर्धा भएको थियो । पहिलो चरणमा कसैले पनि ५० प्रतिशत मत कटाउन नसकेपछि दोस्रो चरणमा सिटौला आउट भएका थिए भने देउवा र पौडेलबीच प्रतिस्पर्धा हुँदा देउवाले फराकिलो मतान्तरले जितेका थिए ।

आगामी चौधौँ महाधिवेशनमा जति जना सभापतिमा उठे पनि पहिलो चरणमा हारजित नहुने र दोस्रो चरणमा दुईजनाबीच प्रतिस्पर्धा हुने सम्भावना बढी रहेको नेताहरूको अनुमान छ । तर, अन्तिम प्रतिस्पर्धामा उत्रने दुई उम्मेदवारहरू को–को बन्नेछन् भनेर अहिले नै विश्लेषण गर्न सकिने अवस्था छैन । किनभने, अहिलेसम्म देउवा पक्ष र रामचन्द्र पक्ष कसैले पनि साझा उम्मेदवारहरू तय गर्न नसकेका छैनन् ।

अहिलेसम्म संस्थापन पक्षबाट सभापति शेरबहादुर देउवा, उपसभापति विमलेन्द्र निधि र पूर्व उपसभापति गोपालमान श्रेष्ठले १४ औँ महाधिवेशनमा सभापतिको दाबेदारी प्रस्तुत गरेका छन् । यस्तै, संस्थापन इतर पक्षबाट वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री शशांक कोइराला, पूर्वमहामन्त्रीद्वय प्रकाशमान सिंह, कृष्णप्रसाद सिटौला, नेता शेखर कोइराला, सुजाता कोइराला, रामशरण महत र कल्याण गुरुङले सभापतिमा दाबी गरेका छन् ।

तेह्रौँ महाधिवेशनमा सभापतिका तीनजना उम्मेदवारलाई खसेको मत र बदर मत जोड्दा कुल मत ३१४३ खसेको देखिन्छ । चौधौँ महाधिवेशनमा भने मतदाताको सङ्ख्या केही बढ्न सक्ने काँग्रेस नेताहरूले विश्लेषण गरेका छन् । महाधिवेशन प्रतिनिधि अर्थात् मतदाताहरूको सङ्ख्या जति हुन्छ, सभापतिमा विजयी हुन त्यसको ५० प्रतिशत मत कटाउनुपर्ने हुन्छ ।

अब, चौधौँ महाधिवेशनमा सभापतिको दाबी गरिरहेका नेताहरूले तेह्रौँ महाधिवेशनमा विभिन्न पदमा चुनाव लड्दा कति मत पाएका थिए भन्नेबारे विश्लेषण गरौँ –

१३ औँ महाधिवेशनमा कसले कति मत पाए ?

नेपाली काँग्रेसको १३ औँ महाधिवेशनमा ३ हजार १ सय ४८ जना प्रतिनिधिले सहभागिता जनाएका थिए । उक्त मत तीन भागमा विभाजित भएको थियो । तत्कालीन कार्यवाहक सभापति रामचन्द्र पौडेल, वरिष्ठ नेता शेरबहादुर देउवा र महामन्त्री कृष्णप्रसाद सिटौलाबीच मुख्य नेतृत्वका लागि चुनावी भिडन्त भएको थियो । पहिलो राउण्डमा देउवाले १ हजार ५६४ मत ल्याएका थिए । पौडेलले १ हजार १५४ मत पाएका थिए भने सिटौलाले ३२४ मत पाएका थिए । १०१ मत बदर भएको थियो ।

त्रिपक्षीय भिडन्तमा कसैको पनि बहुमत ९५० प्लस एक० नपुगेपछि दोस्रो चरणमा चुनाव भएको थियो । काँग्रेसको विधानअनुसार सभापति हुन बहुमत ९५० प्लस एक० आवश्यक पर्छ । यसअनुसार सभापति जित्न १ हजार ५७५ मत चाहिन्थ्यो । तर, सबैभन्दा बढी मत प्राप्त गरेका देउवालाई ११ पुगेन । दोस्रो चरणमा सिटौला उम्मेदवारको रिङबाट आउट भए र देउवा भर्सेस पौडेलबीच प्रतिस्पर्धा भयो ।

दोस्रो चरणमा देउवाले १८ सय २२ मत ल्याए भने पौडेलले १२ सय ९६ मत पाए । दोस्रो चरणमा देउवाले २५८ मत बटुल्दा पौडेलले १४२ मत थपेका थिए । देउवाले पौडेललाई ५ सय २६ मतान्तर हराउँदै काँग्रेस सभापतिमा बाजी मारे । आगामी महाधिवेशनमा सभापतिको दाबी गर्नेहरू मध्ये १२ औँ महाधिवेशनका निर्वाचित महामन्त्री प्रकाशमान सिंहले १३ औँमा खुला केन्द्रीय सदस्यको तेस्रो नम्बरमा मत प्राप्त गरेका थिए ।

सिंहले १ हजार ७९५ मत हासिल गरेका थिए । १२ औँमा सिंहसँग महामन्त्रीमा पराजित विमलेन्द्र निधिले १३ औँमा खुला केन्द्रीय सदस्यको १० औँ नम्बरमा मत प्राप्त गरेका थिए । निधिले १६ सय ७७ मत पाएका थिए । पूर्व उपसभापति गोपालमान श्रेष्ठले १३ औँमा खुला केन्द्रीय सदस्यमा १ हजार ४९९ मत पाएका थिए ।

१४ औँ महाधिवेशनमा सभापतिका दाबेदार शेखर कोइराला १३ औँमा खुला केन्द्रीय सदस्यमा ९० जना प्रतिस्पर्धीलाई पछि पार्दै एक नम्बरमा विजयी भएका थिए । उनले १३ औँ महाधिवेशनका सबै प्रतिस्पर्धीलाई उछिनेर १८ सय ४८ मत ल्याएका थिए । १३ औँमा महामन्त्रीमा उम्मेदारी दिएका शशांक यतिबेला सभापतिको बलियो दाबेदारका रूपमा देखिएका छन् । १३ औँमा महामन्त्रीमा निर्वाचित शशांकले १४ सय १७ मत पाएका थिए ।

पौडेल समूहबाट उम्मेदवार भएका उनी निर्वाचित हुँदा देउवा प्यानलका अर्नुनरसिंह केसी र सिटौला समूहका गगन थापा पराजित भएका थिए । शशांकबाट केसीले १ हजार १७ र गगन थापाले ५ सय ८४ मत खोसेका थिए । सुजाता कोइरालाले भने १३ औँ महाधिवेशनमा १२ औँमा पाएको मतसमेत जोगाउन नसकेको देखिन्थ्यो । १२ औँ खुला केन्द्रीय सदस्यको छैटौँ नम्बर कायम गरेकी उनी १३ औँमा १७ औँ नम्बरमा पुगेकी थिइन् । उनले १ हजार ६१९ मत ल्याएकी थिइन् । यस्तै रामशरण महतले १६११ मत पाएका थिए ।

सभापतिका अर्का दाबेदार कल्याण गुरुङ भने जनजातिको आरक्षण कोटाबाट केन्द्रीय सदस्यमा निर्वाचित भएका थिए । आदिबासी जनजाति कोटाबाट तीन जना केन्द्रीय सदस्यमा निर्वाचित भएका थिए । जसमा गुरुङले तेस्रो मत प्राप्त गरेका थिए । चीनकाजी श्रेष्ठले ९४७, बहादुर लामाले ७६७ र गुरुङले ७३४ मत ल्याएका थिए ।

दुवै गुटमा प्रतिस्पर्धी अनिश्चित

१४ औँ महाधिवेशनमा सभापतिमा दोहोरिने घोषणा गरेका वर्तमान सभापति शेरबहादुर देउवालाई आफ्नै समूहका विमलेन्द्र निधि र गोपालमान श्रेष्ठले चुनौती दिएको अवस्था छ । निधिले भदौ १० गते १४ औँ महाधिवेशनको तयारीका लागि सम्पर्क कार्यालय खोलिसकेका छन् । उनले सभापतिको उम्मेदवारबाट ब्याक नहुने सन्देश दिएका छन् । यस्तै श्रेष्ठले पनि बुधबार गृहजिल्ला स्याङ्जाबाट उम्मेदवारी घोषणा गरेका छन् ।

देउवाले निधि र श्रेष्ठको दाबेदारीलाई चुनौतीका रूपमा नलेखिएको देखिन्छ । देउवाले उनीहरूसँग संवादसमेत गर्न रुचि देखाएको पाइँदैन । सभापतिमा दाबेदारी दोहोर्‍याएका सिटौला भने वडा अधिवेशनअघि रिजर्भ बसेको पाइएको छ । ​अर्कोतर्फ, आफ्नो समूहबाट सभापतिमा आकाङ्क्षी देखिएका चार जनालाई दायाँ–बायाँ राखेर पौडेलले साझा उम्मेदवार तय गर्ने घोषणा गरेका छन् । वडा अधिवेशनको पूर्व सन्ध्यामा बिहीबार पौडेल समूहले गुटगत एकता सन्देश दिन खोजेको देखिन्थ्यो ।

पौडेल समूहले एउटै उम्मेदवारी तय नगरे आफू पनि सभापतिमा लड्ने पूर्वसहमहामन्त्री अर्जुननरसिंह केसी र रामशरण महतको रणनीति छ । अहिलेसम्म पौडेल समूहमा विशेष गरी रामचन्द्र, शशांक, प्रकाशमान, शेखर र कल्याणको दाबेदारी छ । गुरुङले बुधबार पत्रकार सम्मेलन गरेर सभापतिमा उम्मेदवारी घोषणा गरिसकेका छन् । यद्यपि पौडेल समूहले सभापतिमा एउटा उम्मेदवार उठाउने बिहीबार घोषणा गरेको छ ।

शुरु भयो महाधिवेशनको प्रक्रिया

शुक्रबारदेखि देशैभरि वडा अधिवेशनहरु सुरु भएसँगै काँग्रेस १४ औँ महाधिवेशनमा औपचारिकरुपमा प्रवेश गरेको छ । क्रियाशील सदस्य मतदाता रहने वडा अधिवेशनले वडा कार्यसमिति र क्षेत्रीय प्रतिनिधि निर्वाचित गर्छ । १ सय ५० जनासम्म क्रियाशील सदस्यता रहेको वडामा १५ जना क्षेत्रीय प्रतिनिधि चयन हुन्छन् । त्यसपछि प्रत्येक सयभन्दा बढी क्रियाशील सदस्यता बराबर थप १०र१० जना बढ्दै अधिकतम ७५ प्रतिनिधि चयन हुने व्यवस्था छ ।

यसरी निर्वाचित हुने प्रतिनिधिले त्यसपछि हुने क्षेत्रीय अधिवेशनबाट महाधिवेशन प्रतिनिधि चयन गर्छन् । ती महाधिवेशन प्रतिनिधि नै केन्द्रीय महाधिवेशनका मतदाता हुन्छन् । उनीहरूले १३ जना पदाधिकारीसहित १३६ जना केन्द्रीय सदस्य चयन गर्छन् । नयाँ विधान अनुसार १६९ सदस्यीय केन्द्रीय कमिटीमा ३३ जना केन्द्रीय सदस्य सभापतिले मनोनयन गर्ने व्यवस्था छ । केन्द्रीय सदस्य मध्येबाट कोषाध्यक्ष र प्रवक्ता पनि पार्टी सभापतिले मनोनयन गर्ने व्यवस्था गरिएको छ ।

काँग्रेसमा क्रियाशील सदस्यतादेखि महाधिवेशन प्रतिनिधिसम्म क्याल्कुलेसन हुने गरेको पाइन्छ । १४ औँ एउटा निर्वाचन क्षेत्रबाट २५ जनाको दरले ४ हजार १ सय २५ जना सोझै महाधिवेशन प्रतिनिधि आउने पक्का छ । केन्द्रीय पदाधिकारी र सदस्य स्वतः महाधिवेशन हुने व्यवस्था छ । यस्तै सङ्घीय सांसद र प्रदेश सांसद तथा उम्मेदवार पनि स्वतः महाधिवेशन प्रतिनिधि हुने काँग्रेसको विधानमा उल्लेख छ ।

विदेशस्थित जनसम्पर्क समिति, भ्रातृ तथा शुभेच्छुक संस्थाबाट पनि महाधिवेशन प्रतिनिधिको प्रतिनिधित्व रहन्छ । यो सबै गर्दा १४ औँ महाधिवेशनमा ५ हजार प्रतिनिधि मतदाताका रूपमा आउने अवस्था देखिन्छ । त्यसमा आफ्नो बलियो उपस्थितिका लागि सभापतिका दाबेदारले रणनीति बुनिरहेको पाइन्छ । 

रातोपाटीबाट साभार

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता