ताप्लेजुङमा चार महिनापछि निषेधाज्ञा हटाइयो

ताप्लेजुङ । ताप्लेजुङमा चार महिनापछि निषेधाज्ञा हटाइएको छ ।

जिल्लास्थित कोरोना सङ्कट व्यवस्थापन समितिको मङ्गलबार बसेको बैठकमा प्रमुख जिल्ला अधिकारी उमेश पाण्डेले जिल्लामा सङ्क्रमणको अवस्था सामान्य बन्दै गएकाले आजदेखि निषेधाज्ञा हटाएको हो ।

जिल्लामा सक्रिय कोरोना सङ्क्रमितको सङ्ख्या दुई सयभन्दा कममा झरेको र दैनिक सङ्क्रमित हुने दरमा पनि कमी आउन थालेकाले तत्कालका लागि निषेधाज्ञाको समय थप गरिरहनु नपर्ने निष्कर्षमा आफू पुगेको बैठकमा प्रजिअ पाण्डेले सुनाउनुभयो ।

जिल्ला कोरोना सङ्कट तथा व्यवस्थापन समितिका संयोजकसमेत रहनुभएका प्रजिअ पाण्डेले बुधबारदेखि लागू हुनेगरी निषेधाज्ञा हटाए पनि स्वास्थ्य सुरक्षाका मापदण्डलाई अनिवार्य पालना गर्नुपर्ने बताउनुभयो ।

उहाँले मास्क र स्यानिटाइजरको प्रयोग तथा भौतिक दूरी कायम गर्नेजस्ता स्वास्थ्य सुरक्षा मापदण्डको पालना सबै नागरिकले अनिवार्य गर्नुपर्ने बताउनुभयो । उहाँका अनुसार मास्क नलगाएको र भौतिक दूरी कायम नगरिएको पाइएमा प्रारम्भिक रुपमा प्रतिव्यक्ति रु एक सय जरिवाना हुने जानकारी दिनुभयो ।

बाँकी स्वास्थ्य सुरक्षा मापदण्ड उल्लङ्घन गरेमा सङ्क्रामक रोग निवारण ऐनअनुसार कारबाही हुने पनि सम्बन्धित सबै पक्षलाई सचेत गराउनुभयो ।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment