सार्वजनिक यातायात केन्द्रीय महासंघद्वारा दोश्रो चरणको आन्दोलनको घोषणा

काठमाडौं । सार्वजनिक यातायात केन्द्रीय महासंघ नेपालले भाडा समायोजनलगायत ११ बुँदे माग पूरा नभएको भन्दै दोश्रो चरणको आन्दोलन घोषणा गरेको छ ।

महासंघले आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै यातायातको बीमा छुट, सडक कानून, यातायात कागजपत्र नवीकरण र जरिवाना छुटलगायतका माग अघि सार्दै दोश्रो चरणको आन्दोलन घोषणा गरेको हो ।

आफूहरुको मागका विषयमा सरोकारवाला निकायमा जानकारी गराउदा पनि सम्बोधन नभएको भन्दै आन्दोलन गर्नुपरेको महासंघका अध्यक्ष डोलनाथ खनालले बताए । महासंघले भदौ २१ गते बागमति प्रदेश अन्तर्गतको अञ्चल यातायात कार्यालयमा धर्ना दिने र भाद्र २२ गते यातायात व्यवस्था बिभागमा धर्ना दिने कार्यक्रम तय गरेको छ ।

सरकारले आफूहरुको माग पूरा नगरे भदौ २४ गतदेखि सार्वजनिक सवारीमा भाडा समायोजन गरी लागू गर्ने चेतावनी दिएका छन् । अध्यक्ष खनालले कोरोनाले असर गरेको अवधिभरको व्याज मिनाहा र किस्ताको म्याद कम्तीमा दुई वर्ष थप गर्नुपर्ने बताए ।

उनले यातायात क्षेत्रको सुधार र व्यवस्थापनका लागि प्राधिकरण स्थापना गर्नुपर्ने आफूहरुको माग रहेको जिकिर गरे । महासंघले वर्तमान सवारी तथा यातायात ऐन र नियमावली २०४९ समयसापेक्ष व्यवसायी सुरक्षित हुनुका साथै यात्रुमैत्री हुनेगरि संशोधन गर्नुपर्ने माग पनि राखेको थियो ।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment