नेपालको लगातार दोस्रो जित, श्रीलंकालाई पराजित गर्दै शीर्षस्थानमा




काठमाडौं । साफ च्याम्पियनसिप-२०२१ मा नेपालले लगातार दोस्रो खेलमा जित निकालेको छ । गएराति भएको खेलमा नेपालले श्रीलंकालाई ३-२ गोल अन्तरले पराजित गरेको हो ।

साफमा नेपालले श्रीलंकालाई २२ वर्षपछि हराएको हो । पछिल्लो पटक नेपालले साफमा श्रीलंकालाई सन् १९९९ मा हराएको थियो ।

माल्दिभ्समा भएको खेलमा नेपाललाई जित दिलाउनको लागि सुमन लामा, अन्जन विष्ट र आयुष घलानले समान एक-एक गोल गरे । श्रींलकाको लागि मार्भिन हामिल्ट र डिलिअन डि सिल्भाले गोल फर्काए ।

खेलको ३३ मिनेटमा लामाले गोल गर्दै नेपाललाई अग्रता दिलाएका थिए । उनले नवयुग श्रेष्ठको पासमा गोल गरेका थिए ।

सुमनको यो पहिलो अन्तर्राष्ट्रिय गोल हो ।

खेलको ५१ औं मिनेटमा विष्टले गोल गर्दै नेपालको अग्रता दोब्बर बनाए । उनले घलानको पासमा गोल गरेका थिए ।

५७ मिनेटमा श्रीलंकाले गोल फर्कायो । उसका लागि हामिल्टनले गोल गरे ।

खेलको ८६ मिनेटमा घलानले गाल गर्दै ३-१ को अग्रता दिलाए । उनले तेज तामाङको क्रसमा गोल गरेका थिए । आयुषको पनि यो पहिलो अन्तर्राष्ट्रिय गोल हो।

दोस्रो हाफको इन्जुरी टाइमको तेस्रो मिनेटमा श्रीलंकाले पेनाल्टीमार्फत गोल गरेपनि हार टार्न सकेन । बक्सभित्र गौतम श्रेष्ठले ह्यान्ड गरेपछि प्राप्त पेनाल्टीमा डि सिल्भा चुकेनन् ।

लगातार दोस्रो जितसँगै नेपालले २ खेलमा ६ अंक बनाएको छ । राउण्ड रोबिन लिगमा बंगलादेश २ खेलमा ४ अंक जोड्दै दोस्रो स्थानमा छ । भारत १ खेलमा १ अंकसहित तेस्रो स्थानमा रहँदा श्रीलंका र माल्दिभ्स अंकविहिन छन् ।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment