साफ च्याम्पियनसिप : नेपालको उपाधि उचाल्ने रहर अधुरै,फाइनलमा भारतसंग ३–० ले पराजित


काठमाडौं । पहिलो पटक साफ च्याम्पियनसिपको उपाधि उठाउने नेपालको लक्ष्य असफल भएको छ । दोस्रो हाफको सुरुवातमा नै खाएको दुई अस्वभाविक गोलका साथै खेलको अन्तिम समयमा खाएको थप एक गोलका कारण नेपालले चीर प्रतिद्धन्द्धी भारतसंगको फाइनल खेल ३–० ले गुमाएको छ ।

पहिलो हाफको खेलमा संघर्षपूर्ण खेल पस्केर भारतलाई बराबरीमा रोकेको नेपालले दोस्रो हाफको सुरुवातमा नै सम्हालिन नसक्दा एक मिनेटको फरकमा दुई गोल खान पुगेको थियो । भारतका लागि सुनिल क्षेत्रीले ४९ औं मिनेटमा पहिलो गोल गरेका थिए भने ५० औं मिनेटमा सुरेश सिंहले अर्को गोल थपेका थिए । यस्तै खेलको ८९ औं मिनेटमा साहल अब्दुलको गोलको कारण नेपालले फाइनल खेल ३–० ले गुमाएको थियो ।

साफ च्याम्पियनसिपको २८ बर्षको इतिहासमा पहिलो पटक फाइनलमा उत्रिएको नेपाली टोलीको प्रदर्शन विर्सनलायक भने रहेन । निकै संघर्षपूर्ण खेल पस्केपनि गोल गर्न नसक्ने परम्परागत कमजोरी यसपटक पनि दोहोरियो । त्यसमाथि खेलाडीहरुले बढी मिसपास खेल्नु नेपालका लागि दुर्भाग्य नै बनेको थियो ।

नेपालले खेलको आठौ र ७७ मिनेटका दुई प्रयास गोल पोष्टमा ठोक्किनु दुर्भाग्यको अर्को पाटो बनेको थियो । नेपाली टोलीको कमजोरी फाइदा उठाउन नचुकेको भारतले प्राय भएको गम्भीर आक्रमणलाई सफल बनाएको थियो ।

माल्द्धिभ्सको राजधानी मालेस्थित राष्ट्रिय रंगशालामा सम्पन्न फाइनलमा खेलमा नेपाली प्रशिक्षक अब्दुल्ला अल्मताइरीलाई प्रतिबन्ध लगाइदा उनले मैदानमा आउन पाएका थिएनन् । उनीमाथि लगाइएको प्रतिबन्धको बारेमा सर्वत्र आलोचना भएको थियो भने साफ फुटबल फेडरेशनले पनि उनीमाथिको प्रतिबन्धको चित्त बुझ्दो जवाफ दिन सकेको छैन ।

यो सहित भारतले भने आठौं पटक साफ च्याम्पियनसिपको उपाधि उचाल्न सफल भएको छ ।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment