हिमपातले गाउँमै थुनिए लिमीबासी

 

  • जनकबहादुर शाही

हुम्ला । भारी हिमपातका कारण नाम्खा–६ लिमीका बासिन्दा गाउँमै थुनिएका छन् । यो वर्ष स्थानीयले गाउँ नछाड्दै हिमपात भएपछि लिमीबासी गाउँमै थुनिएका हुन् ।

हिमपातले सबै बाटो पुरिएपछि बस्ती/बस्तीबीचको आवागमन ठप्प भएको छ । एक साताअघि हिमपात हुँदा लिमीका जाङ, हल्जी र तिलगाउँमा झन्डै ३ फिटसम्म हिउँ जमेको छ ।

तीनवटै गाउँमा एक/एकवटा भिस्याट फोन छन् । तर, गाउँबाट बाहिर फोन गर्दा लाग्ने भए पनि बाहिरबाट गर्दा सम्पर्क नै हुँदैन ।

गाउँ जाने सबै बाटो बन्द भएपछि लिमीमा आउजाउ गर्न र खाद्यान्न पुर्‍याउन समस्या भएको नाम्खा गाउँपालिका अध्यक्ष विष्णुबहादुर लामाले बताए ।

‘तीनवटै गाउँमा फोन नै लाग्दैन,’ उनले भने,‘सबै बाटो पुरिएपछि गाउँ नै सिलबन्दीमा परेको छ ।’ उनका अनुसार लिमी जान हिल्साबाट नाङमा र सदरमुकाम सिमकोटबाट न्यालु लेक पार गर्नुपर्छ ।

झन्डै ५ हजार मिटर उचाइका दुवै लेकमा कम्तीमा ४ फिट हिउँ परेकाले बाटो पुरिएका हुन् । लिमीबाट गाउँपालिकाको केन्द्र यलबाङ पुग्न २ दिन र सदरमुकाम सिमकोट पुग्न ५ दिनको पैदल दूरी छ ।

इन्धन अभावले डोजर पुगेन

दुवै लेकमा डोजर लगाएर हिउँ पन्छाउन इन्धन अभावले समस्या भएको नाम्खा–६ का वडाध्यक्ष पाल्जोर तामाङले बताए । ‘डोजरको व्यवस्था भए पनि सिमकोटबाट फ्युल पुर्‍याउन समस्या भयो,’ उनले भने, ‘यो वर्षको पहिलो हिमपात नै भारी भएपछि वैशाखयता गाउँ आउजाउ गर्न सम्भव देखिएन ।’

गाउँमा खाद्यान्न अभाव भएपछि चामल ल्याएर दुई साताअघि सदरमुकाम आएका उनीसहित ५ जनाको टोली पनि सिमकोटमै छ । उनले गाउँमा फोन नलाग्दा थप अवस्था जानकारी हुन नसकेको बताए ।

यसअघि लिमीका बासिन्दाले हिउँ नपर्दै गाउँ छोडिसकेका हुन्थे । वडाध्यक्ष तामाङका अनुसार यो वर्ष गाउँ छोड्ने तयारी गर्दैगर्दा भारी हिमपात भएको हो ।

पोहोरसम्म हिमपात हुँदा गाउँमा घर कुरुवा र गुम्बाका लामा मात्र हुन्थे । उनले भने, ‘तर छिटो हिउँ परेपछि सबै गाउँमै थुनिए । लिमीको हल्जीमा ८०, जाङमा ३० र तिलमा २५ परिवारको बसोबास छ ।’

हिल्सामै थन्कियो खाद्यान्न

चीन सरकारले नाम्खा गाउँपालिकाका बासिन्दालाई अनुदानमा उपलब्ध गराएको ३ सय ५० क्विन्टल मैदा र १ सय क्विन्टल चामल हिमपातका कारण हिल्सामै थन्किएको छ ।

नेपाल–चीन सीमाको हिल्सामा झन्डै ४ फिट हिउँ परेपछि खाद्यान्न ढुवानी रोकिएको हो । लिमीमा वर्षमा एक बाली उवा (नाफल) मात्र फल्छ ।

खाद्यान्न अभाव भएपछि दुई साताअघि खाद्यन्न जोहो गर्न सदरमुकाम सिमकोट आएका युवाहरूले नेपालगंजबाट करिब ३० क्विन्टल मैदा र घिउ खरिद गरी सिमकोटसम्म पुर्‍याएका थिए ।

बाक्लो हिउँ परेकाले गाउँमा खाद्यान्न पुर्‍याउन सकिएन, स्थानीय युवा कन्चोक तामाङले भने, अब त्यहाँ खाद्यान्न पठाउन हेलीकप्टर चार्टर उडानको विकल्प छैन ।
पुरानो अन्न सकिएको र नयाँ बाली नलगाउँदा गाउँमा खाद्यान्न अभाव भएको उनले बताए ।

खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले यो वर्ष नाम्खा गाउँपालिका ६ लिमिका लागि २ हजार क्विन्टल चामलको कोटा स्वीकृत गरेको छ । जसका लागि ठेकेदार कृष्ण गुरुङसँग सम्झौता गरे पनि तिब्बतको बाटो भएर चामल ढुवानी गर्नुपर्ने भएकाले समस्या भएको कम्पनीका प्रमुख कृष्णप्रसाद अधिकारीले बताए ।

‘सिमकोटको गोदाममा पनि चामल छैन,’ उनले भने, ‘जिल्लाभरिका सबै गोदाम रित्तिएपछि चामलको बिक्री रोकेका छौं ।

न्युज२४ नेपालबाट साभार गरिएकाे

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment