ओखलढुङ्गामा तीर्थयात्री बाेकेकाे बोलेरो दुर्घटना : ३ जनाको मृत्यु, १३ घाइते

ओखलढुङ्गा । ओखलढुंगाकाे सुनकोशी गाउँपालिकामा तीर्थयात्री बाेकेकाे बाेलेराे जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ। प्रहरीका अनुसार चम्पादेवी ककनी मन्दिर दर्शन गर्न हिँडेको प्रदेश ३-१०२२-च ९६९४ नम्बरको बोलेरो दुर्घटनामा परेको हो ।

दुर्घटनामा परी १३ जना घाइते भएका छन् । घाइतेहरुमध्ये ४ को अवस्था गम्भीर रहेकाले उनीहरुको उपचारको लागि हेलिकप्टर मार्फत उद्धार गरि काठमाडौं लगिँदै गरिएको ओखलढुङ्गा प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी प्रमुख गोविन्दराज काफ्लेका अनुसार मृत्यु हुनेमा सिद्धिचरण नगरपालिका १० बेतिनी रुप्सेका ३५ वर्षीया मिठुमाया मगर, सोही ठाउँका अन्दाजी १७ वर्षीया तुलसा मगर र उमेर नखुलेका खगेन्द्र मगर र थप एक जनाको उपचारका क्रममा मृत्यु भएको र उनको पहिचान हुन सकेको छैन ।

प्रहरी प्रमुख काफ्लेले बलेरोमा १८ जना सवार रहेको र बलेरो सडकबाट करिब ६०० मिटर तल झरेको बताउनुभयो । बोलेरो सोमबार बिहान करिब साढे ७ बजेतिर सुनकोशी गाउँपालिका ९ काँडेभञ्याङ नजिकै दुर्घटनामा परेको थियो ।

दुर्घटनाका गम्भीर घाइतेलाई उपचारका लागि हेलिकोप्टरमार्फत काठमाडौँ पठाइएको सुनकोशी–९ का वडाध्यक्ष झनककुमार कार्कीले जानकारीदिनुभयो । दुर्घटनालगत्तै प्रहरीचौकी कोषहाट र स्थानीयले घाइतेको उद्धार गरेका थिए । अन्य घाइतेको ओखलढुङ्गा सामुदायिक अस्पतालमा उपचार भइरहेको छ ।

जिल्लाको सुनकोशी –९ र चम्पादेवी गाउँपालिका–९ को सिमानामा पर्ने ककनी मन्दिरमा बर्सेनि भक्तजनको भीड लाग्ने गर्दछ । एकादशीका अवसरमा एक साताभन्दा बढी मेला लाग्ने ककनी दर्शन गर्न ओखलढुङ्गा, सिन्धुली, रामेछाप, उदयपुर र सोलुखुम्बलगायतका स्थानबाट भक्तजन आउने गरेका छन् ।


प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment