लोकतान्त्रिक चरित्रको निर्माण गर्नु अबको आवश्यकता : महामन्त्री शर्मा


पोखरा । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले अबको आवश्यकता लोकतान्त्रिक चरित्रको निर्माण गर्नु भएको बताएका छन् । राष्ट्रिय मेलमिलाप दिवसका अवसरमा नेपाली कांग्रेस कास्कीद्वारा आज पोखरामा आयोजित कार्यक्रममा उनले लोकतन्त्र स्थापित भइसकेको वर्तमान अवस्थामा लोकतान्त्रिक चरित्रको निर्माण आवश्यक भएको बताए ।


हाम्रो व्यवस्था ठीक रहेको अवस्थामा व्यवहार पनि ठीक हुनुपर्नेमा जोड दिँदै उनले लोकतान्त्रिक संस्कृतिको विकास अहिलेका आवश्यकता भएको बताए । व्यवहार गतल भएकाको दोष व्यवस्थाको टाउकोमा बोकाउन नहुने उल्लेख गर्दै महामन्त्री शर्माले संविधानमा नै उल्लिखित विषयका माध्यमबाट धेरै राम्रो गरेर जान सकिने बताए ।

प्रतिस्पर्धी दललाई पनि सुधारेर लैजानुपर्ने उनको भनाइ थियो । हिजोभन्दा आजका बोल्ने र सोच्ने विषय गुणात्मक हुनुपर्नेमा जोड दिँदै उनले महामन्त्रीका रूपमा निर्वाचित भइसकेपछि आम कार्यकर्ताको भावनाअनुरूप बोल्नभन्दा पनि काममा लाग्ने विश्वास व्यक्त गरे ।

आफू महामन्त्रीको उम्मेदवार बन्दै गर्दा उमेरले नभई एजेन्डाका आधारमा देश चल्नुपर्ने कुरालाई आत्मसात गरी एक, दुई, तीन र चारको सिद्धान्तलाई अघि सारेको उनले बताए । आफूले देशमा राजनीतिलाई सुधार गर्दै लैजानका लागि कोही पनि एक पटकभन्दा बढी राष्ट्रपति बन्न नपाइने, दुई पटकभन्दा बढी प्रधानमन्त्री बन्न नपाइने, तीन पटकभन्दा बढी मन्त्री बन्न नपाइने र चार पटकभन्दा बढी सांसद बन्न नपाउने गरी व्यवस्था गर्ने प्रस्ताव अघि सारेको बताए ।

समाजमा प्रत्येकले आशा र भरोसा गर्ने कांग्रेस वर्तमानको आवश्यकता भएकोमा जोड दिँदै उनले प्रत्येक कांग्रेसी कार्यकर्ताको चरित्र तथा उसको भूमिकालाई आमजनमानसले विश्वास गर्ने किसिमको हुनुपर्नेमा जोड दिए ।

पार्टीमा आर्थिक अनुशासन जरुरी रहेको बताउँदै महामन्त्री शर्माले पार्टीका प्रत्येक एकाइले नियमित आर्थिक पारदर्शिता राख्ने व्यवस्था मिलाउनुपर्ने बताए । कार्यक्रममा महामन्त्री शर्माले नेपाली कांग्रेसमा लामो समयसम्म योगदान गरेका ७५ वर्षभन्दा माथिका ज्येष्ठ नागरिकलाई सम्मानपत्र तथा दोसल्लाले सम्मान गरेका थिए ।


प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment