निमार्ण प्रक्रिया शुरु भएको २० वर्ष पछि इलामको फाल्गुनन्द सुकिलुम्बा बिमानस्थलबाट बिमान संचालन हुने


इलाम, २ माघः निमार्ण प्रक्रिया शुरु भएको २० वर्ष पछि इलामको फाल्गुनन्द सुकिलुम्बा बिमानस्थलबाट बिमान संचालन हुने भएको छ । २०५८ सालमा विमानस्थल निमार्णको लागि  जग्गा मुहाव्जा शुरु गरेको विमानस्थलमा   अब इलाम—काठमाडौं—इलाम हवाई उडान हुने भएको छ । इलाम नगरपालिका ९ मा रहेको फाल्गुनन्द सुकिलुम्बा बिमानस्थलबाट आउँदो फागुन ८ गते पहिलो हवाई उडान हुने भएको हो ।

बिमानस्थलको निर्माण कार्य करिब अन्तिम चरणमा पुगेको अवस्थामा इलाम नगरपालिकाले निजी बिमान कम्पनीको तारा एयरसंग सम्झौता समेत गरीसकेको छ । तारा एयर प्रालि प्रथम पक्षको तर्फबाट प्रालिका बरिष्ठ निर्देशक सरल शमसेर जबरा र इलाम नगरपालिका दोस्रो पक्षको तर्फबाट मेयर महेश बस्नेतले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् । विमानस्थल निर्माण भएर पनि सञ्चालनमा हुन नसकेको गुनासो थियो ।

यसैलाई मध्यनजर गरेर इलाम नगरपालिकाको सक्रियतामा हवाइ उडान सञ्चालन गर्नेगरी तारा एयरसंग सम्झौता गरेको मेयर महेश बस्नेतले बताउनुभयो । नगरपालिका संगको सम्झौता १२ हप्ताका लागि मात्र रहेको छ । त्यसपछि बिमान कम्पनिले हवाई उडानलाई जारी राख्ने नराख्ने निर्णय गर्नेछ । १६ सिट क्षमताको उक्त बिमानले हप्तामा एकदिन आइतबार मात्र उडान भर्नेछ ।

सम्झौता अनुसार यात्रुको संख्या ११ जना कम भएको खण्डमा जति नपुग यात्रु भएको हो सोही अनुसारको खुद भाडादर कम्पनीलाई नगरपालिकाले बुझाउनुपर्नेछ । एकतर्फी उडानका लागि ८ हजार ७ सय भाडा तोकीएको छ । तर इन्धनको मूल्य फेरबदल भएको खण्डमा हवाई शुल्कपनि सोही अनुसार फेरबदल हुने सम्झौता पत्रमा उल्लेख छ । हवाई उडान सञ्चालनमा अग्रसरता देखाएको इलाम नगरपालिकाले बिमान कम्पनीसंग सम्झौता गर्ने क्रममा अलिक बढी दायित्व लिएको छ । जसमा इलाम एयरपोर्टमा आवश्यक कामदार बढीमा चारजनाको प्रबन्ध इलाम नगरपालिकाले आफ्नै खर्चमा ब्यहोर्नुपर्ने भएको छ ।

त्यसका लागि चारजना कामदारलाई एक पटकको लागि बिमान कम्पनीले काठमाडौंमा आवश्यक तालिमको प्रबन्ध भने मिलाउने भएको छ । यस्तै बिमानस्थलमा चाहिने आवश्यक पूर्वाधार सुरक्षासंग सम्बन्धित उपकरण इलाम नगरपालिकाले ब्यबस्था गर्नुपर्नेछ ।

सुकिलुम्बा बिमानस्थलबाट हवाई सेवा सञ्चालनको तयारी भइरहँदा बिमानस्थलमा अझै पनि टर्मिनल भवन, सुरक्षा गार्ड क्वार्टर लगायतका संरचनाहरु भने निर्माण हुनै बाँकी रहेको छ । इलामबाट नियमीत हवाई सेवा सञ्चालन हुने नहुने पनि १२ हप्ता सञ्चालन गरेपछि थाहा हुने भएकाले यसलाई परीक्षणका लागि इलाम नगरपालिकाले निजी बिमान कम्पनिसंग दायित्व धेरै बोकेर सम्झौता गरेको नगर प्रमुख महेश बस्नेतले बताए । हवाई सेवा सञ्चालनपछि नगरपालिकाले लक्षित समूहका लागि प्याकेज समेत बनाउने भएको छ ।

बिमानस्थलमा तारा एयरको १९ सिटे विमानले २०७५ साल जेठ २१ गते परीक्षण उडान गरेको थियोे । ३ सय २८ रोपनीमा निर्माण भएको विमानस्थलका लागि २०५८ सालमा प्रक्रिया सुरु भएपनि २०६७ चैत १३ मा शिलान्यास गरिएको थियो । तत्कालीन जिल्ला विकास समिति, इलाम नगरपालिका र सबै गाविसबाट रकम उठाएर जग्गा खरिद गरिएको थियो । जिल्लाबासीबाट समेत प्रतिव्यक्ति १ हजारदेखि २० हजार रूपैयाँसम्म चन्दा संकलन गरिएको थियो । ३१ घर–परिवारलाई जग्गाको मुआब्जाका लागि २ करोड २६ लाख रूपैयाँ खर्च भएको थियो ।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment