इलामको माइवेनीमा यो वर्ष पनि सामान्य मेला


इलाम, १ माघः इलामको माइवेनीमा सामान्य मेला लागेको छ । वर्सेनी माघे संक्रान्तिमा माइखोला र जोगमाईको सङ्गमस्थललाई माइबेनी मेला लाग्ने गर्दछ । कोरोनाको कहर सँगै मेलाको रौनक भने निक्के घटेको छ । माइजोगमाई गाउँपालिकाको  नाम्सालिङ र इलाम नगरपालिकाको सिमाना रहेको यो स्थानमा हरेक वर्ष माघ १ देखि ३ गतेसम्म माईमेला लाग्ने गर्छ । यो यस क्षेत्रकै महत्वपूर्ण तीर्थस्थल हो । माईबेनी इलाम बजारबाट करीब तीन किलोमिटर पूर्व पर्छ । यहाँ तत्कालिन बडाहाकिम इन्दु शमशेर, रघुवीर बुढाथोकी र टङ्कनाथ बाँस्तोलाको सक्रियतामा निर्मित शिव मन्दिर पनि रहेको छ । 

माइवेनीको इतिहास

चार माईको अंगालोमा बाँधिएको इलाममा लाग्ने माईवेनी मेलाको आफ्नै महत्व र इतिहास छ । हिन्दु धर्म–संस्कृति अनुसार माघे संक्रान्तिमा मकर स्नान गर्नाले एक कल्प सम्म तप गरेको पुण्य मिल्छ भन्ने विश्वास छ । त्यसैले प्रत्येक माघे संक्रान्तिमा पवित्र स्थलमा गई स्नान गरेर पुन्य कमाउने चलन सबैतिर चलेको छ । 


इलाम जिल्लाको हकमा  माई र जोगमाईको दोभान माइवेनीमा भव्य मेलाका साथ हजारौंको वलि चढाएर र सयौं जोडी परेवा उडाएर मकर नुहाई माघे संक्रान्ति मनाइन्छ । तर यहाँ कहिलेदेखि यो मेला प्रारम्भ भयो र यसअघि के गरिन्थ्यो भन्ने एउटा खोजको विषय हो । त्यसैले यहाँ यही कुरालाई बढी महत्व दिइएको छ ।

बुढा पाकाहरुका कथाहरु सुन्दा माइवेनीमा मकर नुहाइनु भन्दा अगाडि यही माइको झापाको सुरुङ्गास्थित माइधारमा मकर नुहाउने प्रचलन थियो । त्यहाँ सम्म पुग्न नसक्नेहरु घर तिरै धारामा,  खोलामा नुहाएर भए पनि मकरको पुन्य कमाउने गर्थे । 

जब गजराजसिंह थापा इलाममा बडाहाकिम भएर आए, उनीसंगै श्रीमती बदनकुमारी थापा जो राणा प्रधानमन्त्री जंगबहादरकी छोरी थिइन उनी पनि इलाम गौंडामा आएकी थिइन । काठमाडौंमा धार्मिक मूल्य र मान्यतामा र्हुकिएकी बदनकुमारी इलाममा मकर नुहाउन नपाई श्रीमानसंग गुनासो गर्न थाले पछि उनलाई सो अवसर जुटाइदिने सुरमा बडाहाकिम थापाले माई र जोगमाईको दोभानमा वि.सं १९२०/२१ तिरबाट यो मेलाको सुरुवात गराएका हुन । बेनीमा मेला लाग्ने भन्ने भएपछि सदरमुकाम र वरपर सबैतिर मेलामा जान भनी सबैलाई भनियो ।  फलस्वरुप प्रथम वर्षको मेला सफलतापूर्वक सम्पन्न भयो ।

माइवेनीमा मेला लाग्न थालेपछि पाँचथर, ताप्लेजुङ्ग, भोजपुर, दार्जि्लिङ्ग, सिक्कीक लगायतका ठाँउबाट पनि मकर नुहाउन आउनेहरुको भीड लाग्न थाल्यो । भनिनछ ताप्लेजुङ्ग ( पाँचथरबाट मेला शुरु हुनु पूर्व नै मानिसहरु आई पाल बनाएर बस्ने गर्थे र मेला सकिएको ५÷७ दिनपछि मात्र उठेर जाने गर्थे । यसरी मकर संक्रान्तिको महिमाबाट शुरु भएको माइवेनी मेला पछि –पछि एक महिनासम्म पनि लाग्ने भएको थियो । पछि घटाएर १५ दिन, ७ दिन गर्दै हाल ३ दिन लाग्ने गरेको छ ।

यसरी वडाहाकिम थापाले शुरु गराएको माइवेनी मेला पछि वडाहाकिम राजसमसेरले व्यापक बनाएका थिए। आफ्नो धर्म संस्कृति प्रतिबद्ध यी लब्ध पुरुषहरुले शुरु गरेको पुन्य कार्य आजसम्म पनि प्रचलन कै रुपमा रहिरहेको छ । हरेक वर्ष माइवेनीमा स्वदेशी र विदेशी गरी हजारौं श्रद्धालु भक्तजनहरुको घुँइचो आजसम्म पनि टुटेको छैन । माइवेनीले आज आफ्नो परम्परा मात्र थामेको छैन इलामको पर्यटन प्रवर्द्धनमा समेत उल्लेख्य सहयोग पु¥याएको छ ।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment