निगमले फेरि बढायो पेट्रोलियम पदार्थको मूल्य, पेट्रोल प्रतिलिटर १५० पुग्यो !


काठमाडौं । पेट्रोलियम पदार्थको मूल्य फेरि बढेको छ । नेपाल आयल निगमले विहीबार राति १२ बजेदेखि लागू हुनेगरी पेट्रोलियम पदार्थको मूल्य बढाएको हो ।

पेट्रोलमा प्रतिलिटर ५ रुपैयाँ तथा डिजेल र मट्टितेलमा पनि प्रतिलिटर ५/५ रुपैयाँका दरले मूल्य बढाइएको निगमले जनाएको छ । योसँगै काठमाडौं उपत्यकामा पेट्रोलको मूल्य प्रतिलिटर १५० रुपैयाँ पुगेको छ, भने डिजेल र मट्टितेलको मूल्य १३३ रुपैयाँ पुगेको छ ।

यता हवाई इन्धन आन्तरिकतर्फ प्रतिलिटर १० रुपैयाँ बढाइएको छ । अन्तर्राष्ट्रियतर्फ हवाई इन्धनको मूल्य प्रतिकिलोलिटर १ सय डलर बढेको निगमले जनाएको छ । निगमका अनुसार खाना पकाउने एलपी ग्यासको मूल्य भने हाललाई यथावत् राखिएको छ ।


पेट्रोल तथा डिजेलको यो मूल्य अहिलेसम्मकै उच्च हो । भारतीय आयल कर्पोरेसन्सले पठाएको नयाँ मूल्यसूची अनुसार पेट्रोलियम पदार्थको मूल्य बढाइएको निगमले जनाएको छ ।

आगामी १५ दिनमा साढे दुई अर्ब घाटा प्रक्षेपण

पेट्रोलियम पदार्थको मूल्य बढेपनि आगामी १५ दिनमा करिब रु दुई अर्ब ५० करोड घाटा हुने निगमले प्रक्षेपण गरेको छ । चालू आर्थिक वर्षको फागुन महिनासम्म करिब रु २८ अर्ब नोक्सानी हुने अवस्था देखिएको निगमले जनाएको छ ।

रुस–युक्रेन युद्धका कारण विश्व बजारमा पेट्रोलियम पदार्थको मूल्य आकासिएको छ । अन्तर्राष्ट्रिय बजारमा आज कच्चा तेलको मूल्य प्रतिव्यारेल १२० डलर पुगेको छ । अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य आकाशिएसँगै निगमको घाटा पनि उत्कर्षतर्फ पुग्दै गएको छ ।

निगमले पेट्रोलियम पदार्थ खरिदबापत भारतीय आयल कर्पोरेशनलाई भुक्तानी गर्नुपर्ने रकम अपुग भएको भन्दै सरकारसँग सहयोग मागेको छ ।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment