इलाममा अम्रिसोको फुलबाट कुचो बनाउने उद्योग अभाव, कच्चापदार्थको रुपमा भारत निर्यात


इलाम । घर सफा गर्न प्रयोग हुने कुचोको बनाउन आवश्यक कच्चापदार्थ नेपालमा पाइन्छ । तर सरकारी र निजी क्षेत्रले कुचो बनाउन उद्योग स्थापनाका लागि पहल नहुँदा भारतमा तयार भएको कुचो नेपालीका घरमा प्रयोग हुँदै आएको छ ।


अम्रिसोको फुल कुचोका लागि प्रयोग हुन्छ । पात र डाँठ पशु आहारमा प्रयोग हुने फुलको भारतका व्यपारीक केन्द्रमा निर्यात हुँदै आएको छ । घर सफा गर्ने कुचोमा प्रयोग हुने अम्रिसोको फुलबाट कुचो बनाउने उद्योग भने नेपालमा छैनन् ।
सरकारी र गैरसकारी संस्थाले पनि अम्रिसोका फुलबाट कुचो बनाउन पहल नगर्दा कच्चा पदार्थका रुपमा मात्रै भारत निर्यात हुने गरेको हो । जसका कारण अम्रिसोका फुलको मुल्य भारतीय बजारमा किनबेचका आधारमा निर्धारण हुने गरेको छ । नेपालमै उद्योग स्थापना नहुँदा रोजगारीका अवसरहरु गुम्दै गएका छन् । नेपालको इलाम, पाँचथर, ताप्लेजुङ्ग लगायत पहाडी क्षेत्रमा उत्पादन भएको कुचो संकलन गरि झापा पु¥याइ सुकाउने गरिन्छ ।
किसानले स्थानीय व्यवसायीहरुलाई बिक्रि गरि झापा हुँदै भारत निर्यात हुने कुचो बनाउने उद्योग नेपालमै स्थापना गर्न कामदारको अभाव हुने व्यवसायी नारद धितालले बताए ।
पहाडी क्षेत्रमा कुचो सुकाउन ठुलो जग्गा आवश्यक पर्ने हुन्छ । पहाडी क्षेत्रमा मौसम छिनछिनमा परिवर्तन हुने भएकाले कुचोको फुल सुकाउन समस्या हुने गरेको छ । कुचो बनाउन जनशक्ति धेरै आवश्यक पर्ने भएकाले अभाव रहेको व्यवसायीको भनाइ छ । कुचो बनाउन आवश्यक पर्ने प्लाष्टिकको डोरी भारतमै उत्पादन हुने भएकाले भारतमा बढी निर्यात हुने गरेको हो । पहाडी क्षेत्रमा उत्पादन भएको अम्रिसोको फुल झापामा संकलन गरिएपनि घर सफा गर्न योग्य हुने कुचोको निर्माण भारतमा मात्रै हुँदै आएको छ ।
तराई क्षेत्रमा अम्रिसोको फुल सुकाउन आवश्यक जग्गा, श्रमशक्ति पर्याप्त भएपनि उद्योग स्थापना लागि सरकारी निकायले योजना ल्याउनुपर्ने आवश्यक छ ।
पूर्वी नेपालका पहाडी धनकुटा, तेह्रथुम, भोजपुर, सङ्खुवासभा, खोटाङ, उदयपुर र पाँचथर तथा तराईका सुनसरीको विष्णुपादुका, सेर्गे, मोरङको उत्तरीक्षेत्रमा उत्पादित कुचो धरानमा सङ्कलन हुन्छ । अम्रिसो कृषकबाट जस्ताको त्यस्तै कच्चा मालको रुपमा थोक मूल्यमा खरीद गरेर झापाको धुलाबारी र मोरङको विराटनगरका व्यापारीलाई बिक्री गरेपछि त्यहाँका व्यापारीहरुले थप ब्राण्डिङ, प्याकेजिङ गर्ने र ५० किलोका बण्डल बनाएर भारतीय व्यापारीलाई बिक्री गर्ने गरेको छ ।
नेपालको भौगोलिक बनावटअनुसार अम्रिसो कुचो खेती गर्ने प्रशस्त ठाउँ रहेको छ । पहाडी क्षेत्रमा यस कुचोको राम्रो उत्पादन हुने गरेको छ । तर भारतीय बजारमा यसको माग अधिक भएको सूचना नपाउँदा कृषकले उत्पादन गरेको कुचो त्यत्तिकै खेर गएको छ । उत्पादन भएको अम्रिसो कुचोलाई ब्राण्डिङ, प्याकेजिङ, मार्केटिङ र लेवलिङ गर्ने काम नेपालमा व्यवस्थापन गर्ने हो भने यसले राम्रो आम्दानी नेपाल भित्र्याउन सकिने व्यापारीहरु बताउछन् ।
नेपाली अम्रिसो भारतको पश्चिम बङ्गाल, गुजरात, राजस्थान, पञ्जाब, बेंगलोर, दिल्ली, आन्द्र प्रदेशलगायत राज्यमा जाने गरेको छ । आर्थिक वर्ष ०७४र७५ मा पूर्वी नाका हुँदै ४२ करोड २६ लाख ५६ हजारकोे १३ हजार २०८ टन अम्रिसो निर्यात भएको छ ।
विकिपिडियाका अनुसार अम्रिसोलाई लामो डाँठ हुने एक प्रकारको घाँस भनेको छ । यो नेपालको मध्य तथा पूर्वी पहाडी भेगमा प्रशस्त पाइन्छ । अम्रिसो फुल्दा त्यसको माथिबाट कुचो निस्कन्छ । ताप्लेजुङ, इलाम, पाँचथर, तेह्रथुम, धनकुटा, आदि स्थानमा कुचो कृषकको मुख्य आम्दानीको एक स्रोतमध्ये पर्ने गरेको छ । बनस्पति जगतको फूल फुल्ने प्रजातिअन्तर्गत अम्रिसो पर्दछ ।
अम्रिसोलाई स्थानीयरूपमा उपलब्ध हुने बहुवर्षीय, बहुउपयोगी घाँस मानिन्छ । यस घाँसमा क्याल्सियमको मात्रा प्रशस्त पाइने भएकाले दुधालु पशुमा देखिने गरेका कतिपय रोगको सम्भावना कम हुन्छ । अम्रिसो एकपटक लगाएपछि १०–१५ वर्षसम्म हरियो घाँस दिइरहन सक्दछ । यसको फूलको झुप्पाबाट कुचो बनाइन्छ भने स्याउला गाईबस्तुको आहाराका रूपमा प्रयोग गरिन्छ ।
यसका जरा माटोमा राम्ररी फैलिएर जाने भएकाले भू–संरक्षणका लागि पनि यो उपयुक्त हुन्छ । अम्रिसोको खेती धेरै पहिलोदेखि नेपालका पूर्वी पहाडी क्षेत्रमा गरिँदै आएको पाइए पनि हाल यसको खेती अन्य जिल्लामा पनि बिस्तार भएको पाइन्छ ।
लाेकल सन्देशबाट साभार
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment