नेपाली फुटबलको नयाँ कप्तान इलामका नवयुग


इलाम, ११ जेष्ठः अखिल नेपाल फुटबल संघले फरवार्ड नवयुग श्रेष्ठलाई नेपाली राष्ट्रिय टोलीको कप्तानमा नियुक्त गरेको छ । नियमित कप्तान तथा गोलरक्षक किरण चेम्जोङ र सिनियर खेलाडी रोहित चन्द टोलीमा समावेश नभएपछि एन्फाले नवयुगलाई कप्तानको जिम्मेवारी प्रदान गरेको हो ।
अब नवयुगले कुवेतमा हुने एएफसी एसियन कप छनोट २०२३ को तेस्रो चरणको खेलका लागि कप्तानी गर्नेछन् । नेपाली टोली एएफसी एसियन कप छनोटको खेलको थप तयारीका लागि बुधबार कतार प्रस्थान गर्देछ । 
टोलीलाई बिदाई गर्न आयोजति कार्यक्रममा नवयुगलाई कप्तानको घोषणा गरेको हो । राष्ट्रिय टोलीका सिनियर खेलाडी र मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीबीचको विवादपछि खेलाडीको पक्षमा देखिएका कप्तान किरणलाई एन्फा तथा प्रशिक्षक अलमुताइरीले कुनै खबर नगरी राष्ट्रिय टोलीमै समावेश गरेनन् ।
कुवेतमा हुने एएफसी एसियन कप २०२३ को छनोटको लागि प्रशिक्षक अलमुताइरीले गत शुक्रबार २३ सदस्यीय नेपाली टोली घोषणा गरेको थियो । घोषित टोलीमा कप्तान किरण चेम्जोङसहित प्रशिक्षण बाहिर रहेका ११ खेलाडी टोलीमा रहेका छैनन् ।
नेपाली टोलीः  
गोलरक्षक – दीप कार्की, विशाल सुनार र टिकेन्द्र सिंह थापा
डिफेन्डर – विकास खवास, विकास तामाङ, गौतम श्रेष्ठ, राजन गुरुङ, शिव गुरुङ र सुमन अर्याल
मिडफिल्डर – आकाश बुढा मगर, एरिक विष्ट, निर कुमार राई, पुजन उपरकोटी, रोशन राना मगर, सन्तोष तामाङ, सेसेहाङ आङ्देम्वे, सुनिल बल र सुरज ज्यू ठकुरी
फरवार्ड – आयुष घलान, दर्शन गुरुङ, जर्ज प्रिन्स कार्की, मनिष डाँगी र नवयुग श्रेष्ठ
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment