औद्योगिक करिडोर क्षेत्रमा दिनहुँ निरन्तर भइरहेको विधुत ट्रिपिङ्गप्रति वीउवासंघको गम्भीर ध्यानाकर्षण

२२ जेष्ठ २०७९, आईतवार


वीरगन्ज (पर्सा) । वीरगन्ज–पथलैया औद्योगिक करिडोर क्षेत्रका उद्योगहरुमा दिनहुँ निरन्तर भइरहेको विद्युत ट्रिपिङ्गप्रति वीरगन्ज उद्योग वाणिज्य संघको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । औद्योगिक प्रशारण लाइनमा जोडिएका उद्योगहरुरुमा दिनहुँ झण्डै ८ देखि १० पटक विद्युत ट्रिपिङ्ग भइरहेकोले उद्योग सञ्चालनमा बाधा उत्पन्न भइरहेको भन्दै वीउवासंघले सो कार्यप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको हो ।

वीरगञ्ज उद्योग वाणिज्य संघका अध्यक्ष डा। सुबोध कुमार गुप्ताद्वारा हस्ताक्षर गरि जारी गरिएको विज्ञप्तिमा औद्योगिक कोरिडोरमा अवस्थित उद्योगमा दैनिक ८ देखि १० पटक विद्युत ट्रिपिङ्ग भइरहेको हुँदा उद्योगहरुको कच्चापदार्थ नोक्सान हुनुको साथै उत्पादनको गुणस्तरमा ह्रास आइरहेको जनाएको छ ।

नेपालको सबैभन्दा ठूलो औद्योगिक कोरिडोरको रुपमा रहेको वीरगञ्ज–पथलैया औद्योगिक कोरिडोरका उद्योग प्रतिष्ठानहरुलाई निर्वाध रुपमा विद्युतको आपूर्ति भईरहेको भएपनि समय समयमा विद्युत ट्रिपिङ्गले गर्दा उद्योग व्यवसायी पुनः हतास हुन पुगेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

विगतमा यस क्षेत्रका उद्योगहरुले झण्डै १२ घण्टा सम्मको लोडसेडिङ्ग खेपेको भएपनि पछिल्ला केही वर्षयता भने सहज रुपमा विद्युत उपलब्ध भएको कारण उद्योगहरु आफ्नो क्षमतामा सञ्चालन भइरहेका थिए, साथै आम जनताहरुको दैनिकी समेत सहज हुँदै भएको थियो ।

तर पटक–पटकको विद्युत कटौतीका कारण उद्योग प्रतिष्ठानहरुलाई मात्र नभई गर्मीको मौसममा स्थानीयहरुलाई समेत समस्या भइरहेकोले सरोकारवाला निकायले समस्याको समाधान गरि गुणस्तरीय विद्युत आपूर्ति उपलब्ध गराउन संघले जोडदार माग समेत गरेको छ ।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment