इलाम । इलामको माई नगरपालिकामा सरकारी जग्गा हडपेर फनपार्क निर्माण गर्दै आएको समूहमाथि छानविन शुरु भएको छ । डिभिजन बन कार्यालय इलामले छानविन गरी कार्वाहीका लागि समिति गठन गरेको हो ।
इलामको माई नगरपालिकामा सामुदायिक बनको सरकारी र ऐलानी जमिन हडपेर फनपार्क निर्माण गर्दै आएको ह्याप्पी ड्रिम्स प्रालिमाथि छानबिन शुरु भएको हो । सरकारी जग्गा कब्जा गरेको र हरिया सालको रुख काटेको विषय सञ्चारमाध्यममा सार्वजनिक भएपछि डिभिजन वन कार्यालय इलामले छानबिन समिति बनाइ कार्वाही अघि बढाएको हो ।
झापा सुरुङ्गाका दिनेश शिवाकोटी, माई नगरपालिका वडानम्बर २ का तत्कालीन अध्यक्ष तथा माई नगरपालिकाका हालका मेयर खम्बासिंङ लिम्बू र बनका कर्मचारीसँगको मिलेमतोमा सरकारी जमिन हडपेर निजी पार्क निर्माण भएको थियो । निर्माणका क्रममा वन क्षेत्रमा व्यापक रुपमा हरिया सालका रुख फडानी समेत भएको थियो ।
यस्तै, नेपाली कांग्रेस जिल्ला कार्य समिति इलाम र नेकपा माओबादी केन्द्र माई नगर कमिटीले समेत बिज्ञप्ति जारी गर्दै घटनाबारे तुरुन्त छानविन गरी कार्बाही गर्नुपर्ने माग गरेको छ । शक्तिको आडमा सरकारी सम्पदामाथि हस्तछेप गर्नेउपर कानूनी कार्बाही चलाउनुपर्ने स्थानीयको समेत माग रहेको छ ।
कम्पनीले शक्तिका भरमा बलजफ्ती सरकारी जमिन कब्जा गरेपछि स्थानीयले समेत अख्तियारमा उजुरी गरेका थिए । उजुरीपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले समेत छानबिन गरिरहेको बुझिएको छ । प्रालिले नगरपालिकाको वडा नम्बर २ र ८ मा सरस्वती सामुदायिक बनको ४५ रोपनी र अन्य ऐलानी जग्गा कब्जा गरेर फनपार्क निर्माण गर्दै आएको छ ।
त्यस्तै निर्माणाधीन पार्कमा जाने बाटो निर्माणका क्रममा हरिया सालको रुख फँडानी गरी घटना गुपचुप बनाएको थियो । वातावरणीय हिसाबले संवेदनशील चुरे क्षेत्रमा बिना अनुमति अर्बौको योजना सञ्चालन हुनु र सरकारी निकायले समेत मौनता साध्नुले पनि मिलेमतो पुष्टि गरेको छ ।
0 comments:
Post a Comment