इलामको ‘कन्याम इन होटल’ मा सार्वजनिक शौचालय

२४ जेष्ठ २०७९, मंगलवार


इलाम । इलामको प्रमुख पर्यटकीयस्थल कन्याममा रहेको एक निजी होटलले आफ्नो शौचालयलाई सार्वजनिक रुपमा प्रयोग गर्न अनुमति दिएको छ । पर्यटन व्यवसायी टीका ओडारीले आफ्नै लगानीमा सञ्चालित ‘कन्याम इन होटल’ मा रहेका शौचालयलाई सार्वजनिक खुला गरेका हुन् ।
यस पर्यटकीयस्थलमा हालसम्म सार्वजनिक शौचालय नभएकाले आफूले होटललाई नै प्रयोग गर्ने गरी यस्तो काम थालिएको उनले बताए । पर्यटन व्यवसायीले कन्यामलाई फोहर व्यवस्थापन र सार्वजनिक शौचालय निर्माणको माग गर्दै आए पनि पूरा हुनसकेको छैन । सूर्योदय नगरपालिकाले सार्वजनिक शौचालय निर्माण गर्न नसक्दा कन्याम आउने सयौँ पर्यटक समस्यामा पर्दै आएका छन् ।
देशकै ठूलो अर्थात् काठमाडौँ महानगरमा होटल र रेष्टुरेन्टलाई सार्वजनिक शौचालय बनाउने योजना अघि बढेसँगै पर्यटकीय जिल्ला इलाममा यसको प्रयोगसमेत सुरु भइसकेको छ । आफ्नो होटलका शौचालय सार्वजनिक रूपमा प्रयोग गर्न पाउँदा पर्यटकलाई समेत सहज भएको व्यवसायी ओडारीले बताए ।
कन्याममा दैनिक सयौँको सङ्ख्यामा पर्यटक आउने गरेका छन् । उनले पर्यटकीयस्थल कन्याममा पहिलोपटक व्यावसायिकरूपमा होटल तथा लज सुरु गरेका हुन् ।
यहाँ घोडचरी, प्याराग्लाइडिङलगायतका थुप्रै सेवा उपलब्ध भए पनि आवश्यक पर्ने सार्वजनिक शौचालय नहुँदा समस्या हुँदै आएको थियो ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment