दबदबे हिलो छिपछिपे पानी धान के ले रौपौंला
दोहोरी खेल्दा फरिया खुस्क्यो लाज के ले छोपौंला ।
बिहानीको झुल्केघाम सँगै गाउँगाउँका साहिला माहिलालाई हतारो छ कुँडो भकारो सकेर चिटिक्क परेको लुगा लगाएर मोटर चडेर जानु छ इलाम बजारमा लाग्ने रोपाईं जात्राको रमझम हेर्न । गाउँका साहिली माईली पनि घरमा अनेक बहाना बनाएर आउँदैछन जात्राको रमाईलोमा पहिले पहिले त कतिजनाले यही जात्रामा जोडी बाँधेका थिए अहिले जस्तो कहाँ थियो र नाती ख्याल ठट्टा गर्न पनि मेला बजार कुरेर वस्नु पर्दथ्यो कि त माइबेनी मेला नत्र भने इलाम बजारमा लाग्ने रोपाई जात्रा झण्डै २० वर्ष भन्दा अगाडि घर नजिकका खन्तरे बा अर्थात षडानन्द दाहालले सुनाएको यो कहानी अहिले जस्तो लागेर अएको छ आज मलाई ।
तर त्यो बेला मैले देखेको इलाम बजारको रोपाई जात्राका रौनक भने अहिले घटेको भान हुन थालेको छ । गाउँ गाउँबाट आउने मान्छे कम आउन थालेका छन ।
अझै पनि मेरो मानसपटलमा उहाँका ति शब्द ताजा छन जात्रा सकेपछि साँझमा बास नै इलाम बजारमा हुन्थ्यो । आफ्नो संस्कृति अनुसारको नाच युवा युवतीहरु धान नाच्थे, बालन गाउँथे, च्याब्रुङ बजाउँथे, मादल ठोक्थे, ढोल बजाएर उफ्रिन्थे, संगीनी गाउँथे । त्यो वेलाको रमाईलो नै छुट्टै थियो नि । बिहान भए पछि मन मिलेकाहरुको जोडी बाँधिन्थ्यो । यही रोपाईं जात्राबाट युवा युवती विवाह बन्धनमा बाँधिएको त मैले कति देखे कति सुने तर अहिले त्यस्तो छैन अरे म जान नसकेको पनि आठ नौ वर्ष भयो नाती यसपाली त तँ जान्छस होला नि ?
त्यहाँको रमाईलो मलाई आएर सुनाउँछस होला नी हजुर बुबाले भनेको कुरो यो सायद वीस वाईस वर्ष अगाडि हुनु पर्छ । जात्राको अघिल्लो दिन थियो म पनि हजुरबुबाको कुरो सुनेर जात्रा नगई नसक्ने भए गाउँकै काकाको साथ लागेर जात्रा जाने तय पनि भयो । रातभरी निन्द्रा परेन ओल्टे कोल्टे फेर्दा नै रात बित्यो बिहानीको पाँच बजे नै उठेर इलाम बजारको बिहीबारे जात्रा हेर्न भनेर बाटो लागे ।
बजार आईपुग्दा त अचम्ममै परे बजारको मुखैमा बजिरहेको थियो .....
‘कालै छ जुत्ता कालै छ मोजा, कालै छ लेस पनि,
रेलैमा चढी दुई गाला जोडी हेर्दै जाउँ देश पनि.....’
ओहो कस्तो मज्जाको गीत पनि मनैबाट उकुसमुकुस हुने जात्राको रमझम बजारमा शुरु भई सकेको थियो ।
सँगै अर्को
‘दबदबे हिलो छिपछिपे पानी धान के ले रौपौंला,
दोहोरी खेल्दा फरिया खुस्क्यो लाज के ले छोपौंला ।
गीत घन्कदै थियो । मलाई त जात्रा त साँच्चै गजबको जात्रा नै लाग्यो । पञ्चै बाजाको मधुर धुनको तालमा सुरिलो स्वरको गीत घन्काएर चोक–चोकमा बजिरहेको थियो । रोपाईंजात्रामा सयौं मानिस ओइरिएका थिए । त्यही भिडमा म पनि लुसुक्क पसेर जात्राको रमाईलो लिन थाले । समय अहिले परिवर्तन भई सकेको छ माया गर्नेहरुले जात्रा मेला कुर्नु पर्दैन सबै हात हातमा मोबाइल फोन छ फोनमा अनेकौं एप्सहरु छन । सामाजिक संजाल छन त्यसकै माध्यमबाट पूर्वको र पश्चिमको भेट भएर विवाह पनि हुन्छ ।
जमिन्दारले बेठी लगाएर पञ्चै बाजाको धुनमा रोपाईं गर्ने पुरानो चलनको सिको गरी राणाकालदेखि इलाम सदरमुकाममा रोपाईं जात्रा मनाउन थालिएको इतिहास छ । खेतमा छमछम रोपाईं गरेजस्तै यो जात्रामा पनि सारी चोलोमा सजिएका महिलाको भेषमा पुरुषले धान रोपेको अभिनय नियाल्न मानिस धुइरिने गरेका छन । झण्डै ८० वर्ष पुरानो इलामको मौलिक संस्कृति रोपाई जात्रालाई युवक–युवतीका लागि हाँसखेल गर्दै रमाइलो गर्ने माध्यमका रुपमा लिइन्छ । अघि अघि पञ्चै बाजा, पछिपछि हली, रोपाहार र बाउसेले खेतमा रोपाई गरेको जीवन्त अभिनय हुने रोपाईं जात्रा धुमधामसँग मनाइछ ।
अहिले इलाम बजारमा पन्ध्र सोह्र वर्ष पछि इलामको जात्राको रौनक पक्कै पनि घटेको छ । पहिले जस्तो रमाईलो हुन छाडेको छ । वर्ष दिनमा एक पटक आउने जात्रा संस्कृती बचाउन मात्र मनाउन लागेको भान हुन थालेको छ ।
0 comments:
Post a Comment