अविवाहित महिलाकाे होटलभित्रै हत्या, ५ दिन बित्दा पनि हत्यारा पत्ता लागेन

१९ माघ २०७९, बिहीबार


गुल्मी । गुल्मीमा एक महिलाको हत्या भएको झण्डै एक साता हुनै लाग्दा पनि यहाँको प्रहरीले हत्यारा पत्ता लगाउन सकेको छैन । गत आइतबार बिहान जिल्लाको मुसिकोट नगरपालिका- ७ वामिटक्सार बजार नजिकै न्वारास्थित होटलमा ५७ वर्षिया अविवाहित महिला गङ्गादेवी शेरचन मृत अवस्थामा फेला परेकी थिइन् ।
होटलभित्र चेन गेट लगाएको अवस्थामा भुइँसमेत रक्ताम्य हुने गरी उनको हत्या भएको थियो । दुवै हात पछाडि लगाएर बाँधेर शव घोप्टो पारिएको थियाे । खुट्टा पनि सेलो टेपले बाँधिएको थियो । त्यो दृश्यले ती महिलाको सुनियोजित रुपमा हत्या भएकाे सर्वसाधारण सबैकाे प्रारम्भिक ठहर थियाे ।
तर पनि प्रहरीले राति अबेरसम्म पनि हत्याको पुष्टि गर्न सकेको थिएन । घटनास्थलमा पुगेका जिल्ला प्रहरी प्रमुख एसपी अर्जुन राना भाट हत्याको आशंका मात्रै गर्न सकिने भन्दै थिए । अहिले आएर बल्ल प्रहरीले ती महिलाको हत्या नै भएको पुष्टि गरेको छ ।
घटनास्थलको दृश्य वर्णन गर्दै जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डिएसपी माधवराज खरेलले महिलाको हत्या भएको तर हत्यारा पत्ता लगाउन अनुसन्धान तिब्र पारिएको बताए । अहिलेसम्म करिव ५० जनालाई सोधपुछ गरिसकेको बताउँदै अनुसन्धानमा प्रगति नजिक पुगिनसकेको डिएसपी खरेलको भनाइ छ ।
शेरचन विगत ३० बर्ष अघिदेखि त्यस घरमा होटल गरेर बसेकी अविवाहित महिला हुन् । उनले बुटवलदेखि स्थानीय र पर्यटकीय क्षेत्र ढोरपाटनसम्म थुप्रै घडेरी र खेतबारी जोरेकी थिइन् । प्रशस्तै सुन, गरगहना तथा नगद सहित सम्पतीवाला महिला भएको बताइन्छ । उनको हत्याका दुई कारण हुन सक्ने स्थानीयको अनुमान छ । एउटा यौनिक र अर्को आर्थिक कारण हत्याको कच हुन सक्ने स्थानीयले अनुमान गरेका छ्न् । प्रहरीको प्रारम्भिक अनुसन्धानले भने हत्याको कारण आर्थिक नै हुन सक्ने ठहर गरेकाे छ ।
त्यस दिन दिउँसो ११ देखि १२ बजेको बिचमा एक जना ठेकेदार भनिने मान्छेसहित ३ जना आएको, ठेकेदार भनिनेले मात्रै नास्ता गरेर हिँडेको । फेरि करिब ३ बजेको समयमा तिनै मान्छे आएर होटलभित्र पसेको र साँझसम्मै उनीहरु त्यहाँ रहेको मृतक शेरचनले घरै अगाडिकी महिला जैकला कुमाललाई उक्त कुरा सुनाएकी थिइन् ।
मृतक महिलाका सहोदर दाजु सुनिल शेरचनले बहिनीको हत्या सुनियोजित रुपमा भएकाे र हत्यारा धेरै टाढाको हुन नसक्ने बताउँदै प्रहरीले अनुसन्धानमा ढिलाइ गरेको गुनासो गरे ।
घटनास्थलमा प्रहरीको तालिम प्राप्त कुकुर ल्याइएको थियो । घटनास्थल सुँघेर बाहिर निस्केको कुकुर अपराधी भागेको बाटो पछ्याउँदै हिँडेको थियो । त्यो देखेर प्रहरीले अपराधी छिट्टै पत्ता लगाउने कुरामा स्थानियवासी आशावादी थिए ।
तर अहिलेसम्म हत्यारा पत्ता लगाउन नसक्दा आफन्तजन निराश भएका छ्न् र सुरक्षाको अनुभुति गर्न सकेका छैनन् ।  स्थानीयहरू पनि थप चिन्तित र असुरक्षित बनेका छ्न । यस घटनामा संलग्नहरुलाइ यथाशीघ्र पत्ता लगाउन स्थानीयले माग गरेका छ्न् ।
न्युज २४ नेपालबाट साभार गरिएकाे 

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment