हथौडाले हानेर भारतीय नागरिकको हत्या, श्रीमान-श्रीमती पक्राउ

२१ माघ २०७९, शनिबार


गुल्मी । गुल्मीमा एक जना भारतीय नागरिकको हत्या भएको छ । हत्यामा संलग्न भएको आरोपमा प्रहरीले दुई जनालाई आज सार्वजनिक गरेको छ ।
सत्यवती गाउँपालिका–१ का छबीलाल र उनकी श्रीमति विष्णु अधिकारीले भारतीय नागरिक शेख आलिनामको हत्या गरेको खुल्न आएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रमुख प्रहरी उपरीक्षक अर्जुन रानाभाटले जानकारी दिए ।


उनले बयानका क्रममा दम्पतीले आरोप स्वीकार गरेको दाबी गरे । बयानका क्रममा अभियुक्तहरुले गत माघ १२ मा मादक पदार्थ सेवन गरेका भारतीय नागरिक आलिनामले छबिलालकी श्रीमति विष्णु अधिकारीलाई जिस्काएको र त्यसैको रिसमा दम्पती मिलेर हथौडा प्रहार गरी हत्या गरेको बताएको प्रहरीको भनाइ छ ।
दम्पतीले हत्या गरी शव नदीमा फालेका थिए । उक्त शव माघ १९ मा फेला परेपछि अनुसन्धान सुरु भएको थियो । जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी निरीक्षक रवीन्द्रकुमार श्रेष्ठको कमाण्डमा खटिएको सात जनाको टोलीले घटनाको अनुसन्धान गरेको थियो ।
शव हेर्दा टाउको तथा निधारको भागमा गहिरो चोट लागेकाे देखिएकाले शंकास्पद लागेपछि घटनाको विस्तृत अनुसन्धान गरिएको थियो । अनुसन्धानका क्रममा शंकास्पद देखिएका छविलाल र बिष्णुलाई बयान लिने क्रममा उनीहरुले हत्या गरेको स्वीकार गरेको प्रहरीको दाबी छ ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment