नयाँ वर्षसँगै चितवन- २ मा उपनिर्वाचन, रविले चुनाव लड्न पाउलान् कि नपाउलान् ?

१ फाल्गुन २०७९, सोमबार


काठमाडौँ । संसद प्रवेश गर्ने रवि लामिछानको लागि दोस्रो अवसर आएको छ । वैशाख १० गतेका लागि निर्वाचन आयोगले उपनिर्वाचनको मिति तोकेको छ । निर्वाचन तालिका पनि सार्वजनिक गरेको छ । उपनिर्वाचनका लागि रास्वपा सभापति लामिछानले दबाब दिँदै आएका थिए । उनको दबाबले काम गरेको हो वा आयोगको नियमित तालिकामा परेर हो, आयोगले उपनिर्वाचनको मिति सार्वजनिक गरेपछि अब फेरि चितवन २ मा एक पटक चुनावी माहोल तयार हुँदैछ । मंसिर ४ को निर्वाचनमा भारी मतान्तरले विजयी भएका रविका लागि वैशाख १० कस्तो रहला ? यो एक आम जिज्ञासा पनि छ । सँगै, राहदानी दुरुपयोगको विवाद बाँकी नै छ । यो विवादबीच रविले चुनाव लड्न पाउलान् कि नपाउलान् ? उनका विषयमा संसदमै कुरा उठ्ने क्रम रोकिएको छैन ।
राष्ट्रिय स्वतन्त्र पार्टीले उपनिर्वाचनको मिति तोक्न दबाब दिइरहेकै बेला निर्वाचन आयोगले चितवन २ का लागि वैशाख १० गते उपनिर्वाचन गर्ने निर्णय गरेको छ । रास्वपाका सभापति रवि लामिछानेले उपनिर्वाचनको मिति चाँडै तोकिनु पर्ने माग गर्दै आएका थिए । आयोगको आइतबार बसेको बैठकले तीन महिनापछिका लागि उपनिर्वाचनको मिति तय गरेको छ । प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन २०७४ को दफा ६८ बमोजिम २०८० साल वैशाख १० गतेका लागि उपनिर्वाचनको मिति तय गरिएको आयोगद्वारा आइतबार जारी विज्ञप्तिमा उल्लेख छ ।
निर्वाचन कार्यक्रम अन्तर्गत फागुन १ देखि चैत १६ सम्म मतदाता नामावली अद्यावधिक गर्ने, चैत २० गते उम्मेदवार मनोनयन, चैत २१ मा मनोनयनविरुद्ध उजुरी र चैत २२ गते उम्मेवारी फिर्ताको तालिका आयोगले राखेको छ ।
प्रतिनिधिसभा निर्वाचन सदस्य निर्वाचन ऐनका दफा १३ बमोजिम चितवन २ बाट निर्वाचित रवि लामिछानेको पद अयोग्य भएको ठहर सर्वोच्च अदालतले माघ १३ मा गरेको पत्र माघ १९ मा आयोगले प्राप्त गरेको १० दिन पछि उपनिर्वाचनको मिति तोकिएको हो ।
उपनिर्वाचनको मिति चाँडै तोक्न दबाब दिइरहेका रास्वपा सभापति रवि लामिछाने चुनावी तयारीका लागि चितवनमा केन्द्रीत हुन थालिसकेका छन् । अदालतको फैसला पछि सांसद पद कायम नरहेपछि पुनः हुने निर्वाचनको तयारीका लागि सभापति लामिछानेको चितवन दौडाहा बाक्लिएको छ ।
नागरिकता सम्बन्धी विवादमा सांसद पद गुमाए पनि सभापति लामिछानेका लागि निर्वाचनमा प्रतिस्पर्धा गर्ने बाटो हालसम्मकालागि खुला छ । तर लामिछानेले दुई मुलुकको राहदानी प्रयोग गरेर नेपालको कानुन उल्लंघन गरेको विवाद भने कायमै छ । लामिछानेको राहदानीको जाँच गर्न युवराज सफलले दिएको जाहेरी प्रहरीले दर्ता गर्न अस्वीकार गरेको प्रहरी आफैंले अनुसन्धान गरिरहेको बताइएको छ । खारेज भइसकेको नागरिकताका आधारमा राहदानी लिएर लामिछानेले राहदानी ऐन मिचेको दावी गरिएको छ ।
राहदानी दूरुपयोग प्रमाणित भएमा रवि लामिछानेको राजनीतिक यात्रामा पूर्णविराम लाग्न सक्नेछ । तर यो अभियोग प्रमाणित हुनु अघि वा यसको अन्तिम किनारा लाग्नु अघि भने लामिछाने चुनाव लड्न पाउँछन् । प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन २०७४ को दफा १३ मा राहदानी दुरुपयोग अभियोगमा अदालतबाट दोषी ठहर भएमा र त्यो फैसला अन्तिम भएको व्यक्ति मात्रै उम्मेदवार हुन नपाउने व्यवस्था छ ।
अदालतको फैसलासँगै रास्वपा सभापति रवि लामिछानले सांसद पद गुमाइ सकेका छन् । तर उनका विषयमा संसदमा प्रश्न चाहिँ उठिरहेको छ । आइतबार प्रतिनिधिसभाको शुन्य समयमा बोल्दै कांग्रेस सांसद रामहरि खतिवडाले रवि लामिछानेको नाम संसदको सूचीमा कसरी आयो ? भन्दै प्रश्न गरे ।
सांसद खतिवडाले रवि लामिछानेको नाम अझै पनि सांसदकै सूचीमा राखिनु कसको त्रुटि हो ? भन्ने प्रश्न गरेका थिए । कांग्रेस सांसद खतिवडाले सुरुदेखि नै रवि लामिछानेबारे प्रश्न उठाउँदै आएका छन् । खतिवडालाई लामिछानेले समेत बेलाबखत जवाफ फर्काउने गरेका छन् । दुई बीच एक प्रकारको जुहारी देखिएको छ ।
यसबीच वैशाख १० को निर्वाचनमा पुन चुनावी मैदानमा उत्रिने उमेश श्रेष्ठले घोषणा गरिसकेका छन् । अघिल्लो निर्वाचनमा चितवन २ मा कांग्रेसका श्रेष्ठ रविसँग फराकिलो मतान्तरले पराजित भएका थिए । रविको पद खारेज भएपछि श्रेष्ठले आफूलाई चितवन २ बाट स्वतः सांसद बनाइयोस् भन्ने माग राखेर निर्वाचन आयोगमा निवेदन पनि दिएका थिए । रास्वपाका सभापति लामिछानेले पनि उपनिर्वाचनमा प्रतिस्पर्धा गर्ने बताइ सकेका छन् ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment