इलाम गोर्खेका लिम्बू समुदाय र उनीहरूको इतिहास

  • जीवन शर्मा

सूर्योदय नगरपालिका वार्ड न १ तत्कालिन गोर्खे गाबिस लिम्बू बाहुल्य क्षेत्र हो । यहाँ इतिहास्देखी नै १५० घर भन्दा बढी लिम्बुहरुको बसोबास रहेको छ ।  यहाँ सिम धाप मकर्जुङ्ग ठूलो बाङिन सानो बाङ्गिन हुँदै माने भन्ज्याङसम्म र उता सनिश्चरेसम्म लिम्बू समुदायको बस्ती रहेको छ ।
 लिम्बु समुदायमा बिशेष समयमा आवश्यक पर्ने १७ थरी लिम्बुहरु कै बसोबास रहेको छ । सावा, बेगा, थेबे ,मादेन, लावती, केरुङ, इदिङ्गो, सावाहाङ, खापुङ,सेरेङ लगायत थर भएका लिम्बुहरुको बसोबास रहेको छ । उनीहरुको आफ्नै भाषा आफ्नै संस्कृती आफ्नै भेषभुषा आफ्नै परम्परा रहेको छ ।  आफ्नै पुरोहित आफ्नै मौलिकता भए पनि पुरोहित ९फेदङमा० चाहिँ  लगभग २०० घर परिवारको हाराहारीमा रहेका लिम्बू समुदायमा छैन । 
यतिबेला आवश्यक परेको खण्डमा उनीहरु प्याङका थेबे थर भएका फेदङ्वा ल्याउने गर्छन । फेद्ङ्वाको अभाव चाहिँ धेरै नै खड्किएको देखिन्छ । समस्या कहाँ भयो भने राई समुदायको बिजुवा जस्तै लिम्बू समुदायको फेदङ्वा पढेर हुने होइन आफै आउनुपर्छ रे । त्यसैले पढाएर र अध्ययन गराएर फेदङमा बनाउन नसकिने हुदा यो समस्या रहिरहने देखिन्छ । च्याबुङ नाच धान नाच जस्ता जातीय संस्कृती लोप हुँदै गएको देखिन्छ । 
धान नाच लिम्बू जाति (याक्थुङ) को एउटा प्रसिद्ध लोकनृत्य हो। यसलाई लिम्बू भाषामा यालाङ अथवा यालक्मा भनिन्छ। यसको उत्पत्ति नेपालको लिम्बूवान क्षेत्रमा भएको हो। यो नृत्य पूर्वी नेपालका साथै भारतको दार्जिलिङ, कालिम्पोङ र सिक्किम क्षेत्रका लिम्बू समुदायका मानिसहरूद्वारा प्रदर्शन गरिन्छ। यो नृत्यसंग गाइने गीतलाई पालाम भनिन्छ। 
च्याब्रुङ नाच 
लिम्बू समुदायमा प्रचलित नृत्य हो, च्याब्रुङ। कुनै चाडपर्व, विवाह, भोजभतेर, घरपैंचो (नयाँ घरमा सरेका बेला) जस्ता रमाइला अवसरमा लिम्बूहरू च्याब्रुङ बजाएर नाच्छन्। यो नाच वृत्ताकार शैलीमा घेराबन्दी भएर मुन्धुम गाउँदै नाचिन्छ। च्याब्रुङ बजाउँदा प्रायस्जसो दाहिने ताल हातले एकपटक र देब्रे ताल लठ्ठीले दुई पटक हिर्काइन्छ। यसरी बजाइएको च्याब्रुङको धुन प्राकृतिक र कर्णप्रिय हुन्छ। काठको ढुङ्ग्रोमा दुवैतिर पातलो छाला मोडेर बनाइने च्याब्रुङमा खरीको प्रयोग भने गरिएको हँुदैन।
च्याब्रुङ नाचको आधारभूत ताल कुसरक्पा हो। यसमा पनि विविधता हुन्छ। यो कहिले गोलो घेरामा, कहिले अर्धगोलाकार त कहिले सरल रेखामा नाचिन्छ। यसमा सबैले एउटै तालमा खुट्टाहरू अघिपछि सार्छन् भने हातले गर्ने अभिनय पनि रोचक हुन्छ। रमाइलो त के छ भने, च्याब्रुङ पारखीहरूले त्यसको गति, बोल र अभिनय हेरेरै नृत्य कहाँ पुग्यो भन्ने थाहा पाउन सक्छन्। 
यो नृत्यमा कुखुराको भाले, परेवा, मुजुर, ढुकुर, कोइली, भँगेरा, सर्प, पुतली, दुम्सी, मृग, बाँदरजस्ता जीवजन्तुको हाउभाउको अनुकरण गरिएको हुन्छ। च्याब्रुङ नाच विवाह, भोजभतेरमा तन्नेरीहरू नाच्छन् भने देवीदेवताको पूजाआजामा परिवारका सदस्यहरू एकै समूहमा नाच्छन्। 
यो नाचमा गाइने मुन्धुममा पृथ्वीको वर्णन गरिएको हुन्छ।
लिम्बूहरूको धार्मिक ग्रन्थ मुन्धुम हो भने फेदाङमा, साम्बा , येबा र सेवासाबाहरू पुजारी हुन्। मुन्धुममा आधारित किरात धर्म मौलिक धर्म हो भने भाषा, लिपि, साहित्य र संस्कृति हाक्पारे, पालाम, ख्याली, मेरिङ साम्लो, तुम्याहाङ साम्लो, मिक्वा साम्लो, मेखिम साम्लो, केलाङ आदि चिनारीका माध्यमहरू हुन्। त्यस्तै, धार्मिक अनुष्ठान सम्पन्न गर्ने मुख्यतः फेदाङमा, साम्बा, येबा तथा सेवासाबाहरू हुने गर्दछन्। लिपि ूसिरिजङ्गा लिपिू हो। सिरिजङ्गा थेवेले यो लिपिको आविष्कार गरेका हुन। च्याब्रुङ नाच, धान नाच, हाक्पारे गाउँने लिम्बूको मौलिक परम्परा हो।
हिजोआज गोर्खेमा धान नाच च्याब्रुङ नाचहरु हराउदै गएको छ । भर्खरै निर्माण गरिएको लिम्बू समुदायको धार्मिक स्थल चुम्लुङमा भने बेलाबेला नचाइने गरेको छ।
गोर्खेमा लिम्बुहरुको आगमन 
गोर्खेमा लिम्बुहरुको आगमन ४०० वर्ष अगाडि नै भएको देखिन्छ ।  सुर्योदय १ गोर्खेका स्थायी बासिन्दा ८६ वर्षका बृख बहादुर सावाका अनुसार गोर्खेमा लिम्बुहरु उनी भन्दा १५ औ पुस्ता अगाडि यहाँ आएर बसोबास गरेको उनीहरुको बंशावली उल्लेख गरिएको छ भन्छन। उनीहरू ताप्लेजुङको मेवाखोला र आसपासबाट बसाइ सरि आएको देखिन्छ । लिम्बुहरु गोर्खेमा कसरी आए भन्ने सन्दर्भमा अध्ययन गर्दा उनीहरू नुन खोज्दै खोज्दै आए अनि सुन भेटाए यतै बसे । अर्थात त्यो बेला तिब्बती रोडे नुन लिन पनि टाढा नै जानुपर्थ्यो । त्यसमा पनि त्यो नुन त्यति राम्रो हुदैन थियो । अनि मेवाखोलाका युवाहरूलाई राम्रो नुन लिन भारतीय बजारतिर पठाइयो । त्यो बेला भारतको नजिकको सिमाना मानेभञ्ज्याङ नै थियो । उनीहरू मानेभञ्ज्याङबाट मसिनो नुन लिएर आफ्नो गाउँ पुग्थे । यसरी नुन लिन आउने युवाहरुलाई घर पुग्न लगभग ३ हप्ता लाग्थ्यो रे ।  
यसरी आउने जाने क्रममा गोर्खेको समथल भुभागमा फडानी गरि उनीहरू यतै बस्न थाले । कालान्तरमा गएर यहाँ लिम्बुहरुको बसोबास बाक्लिदै गयो ।  अर्कोतिर भारतीय बजार पुगेका लिम्बू दाजुभाइहरुले भारतको दार्जिलिङतिर कामको अवसर पाइने हुनाले सहज जिवनयापनको लागि यतै बसोबास गर्न थालेको देखिन्छ । पचिल्लो पटक आफ्नो पुर्खौली पुग्नु भएका बृख बहादुर भन्नुहुन्छ( मेवा खोलामा उहाँ भन्दा तल्लो पुस्ताका लिम्बू समुदायको बसोबास रहेकोे छ रे । उनी भन्दा अघिल्लो पुस्ताका मानिसहरु त्याहा नरहेको उनी बताउछन । त्तहाका अघिल्लो पुस्ताका मानिसहरु धेरै जसो धरान मोरङ लगायतका स्थानमा बसोबास गर्न वसाइ सरिसकेका छन रे ।
लिम्बुहरु गोर्खेमा आइ बसोबास गरेको र उनीहरूलाई तत्कालीन सत्ताले सुब्बा नियुक्त गरेको देखिन्छ । यता सुर्योदय ३ रुङसुङका लिम्बुहरु पनि इतिहासदेखी नै ताप्लेजुङबाट आइ बसोबास गरेको देखिन्छ । उनीहरुलाई पनि एक सुब्बा दिएको देखिन्छ । अर्थात रुङसुङमा एक सुब्बा गोर्खे क्षेत्रमा ७ सुब्बा गरि आठ सुब्बा राखिएको देखिन्छ । उनीहरुले राज्यले उठाउदै आएको कर उठाउनु पर्थ्यो रे र थरी मुखियाहरुलाई बुझाउनु पर्थ्यो रे । 
गोर्खेमा लिम्बुहरुको हालको अवस्था 
हाल पनि गोर्खेमा लिम्बुहरुको बसोबास कायमै रहेको छ । हाल पनि लगभग २०० घर लिम्बुहरु रहेको देखिन्छ । तर जातीय मिश्रण लगायत्का कारणले उनीहरूको भाषा संस्कृती र मौलिकता हराउदै गएको देखिन्छ ।हिजोआज अफ्नो भाषा बोल्ने लिम्बुहरु भेटिन गाह्रो छ । यहाँ सानो सङ्ख्यामा मात्र च्याब्रुङहरु रहे पनि चुम्लुङमा विशेष अवसरमा  बजाउनु बाहेक अरुबेला बजाएको सुनिदैन । कुनै बेला बङ्गिन नै थर्किने गरि बज्ने च्याब्रुङ हिजोआज ब्व्जेको सुनिदैन।  धान नाच उहीँ चुम्लुङमा बेला बेला नाच्नु बाहेक अरु बेला नाचेको देझिदैन । 
वैदेशिक रोजगार बसाइ सराइ रोजगारी र अध्ययनको लागि बाहिरिने क्रम रहेकोहुदा धेरै लिम्बुहरुको बसोबास रहे पनि जातीय परम्पराहरु हराउदै गएका छन । इतिहासमा जग्जगाउदो अवस्थाका लिम्बुहरु यतिबेला गोर्खेमा सामान्य अवस्थामा मात्रै छन । तर केही युवाहरु भने आफ्नो मौलिकता जोगाउने कार्यमा लागेको देखिन्छ । विशेष अवसर पारेर गोर्खे वजारमा धान नाचको शुरूवात गर्ने र निरन्तरता दिने प्रयास गर्दै गरेको देखिन्छ । इतिहासमा नाम र दाम दुवै कमाएको गोर्खे बजार बाटो र यातायातले ओझल बारिदिए पछि अन्योलमा पर्‍यो सङ्गै इतिहासमा पहुच बनाएर बसोवास गर्दै आएका लिम्बू समुदायलाई पनि असर पार्‍यो । 
अहिले आएर गोर्खे बजार स्थानीय सरकारले कालोपत्रे गरेपछि र फिक्कल पशुपतिनगर मानेभञ्ज्याङ तर्फबाट बाटो वनिदै आएपछि बौरिदै गरेको अवस्थामा छ । बजारको अवस्था सुदृढ बन्दै गएपछि लिम्बू समुदायलाई पनि सकारात्मक असर पर्न थालेको छ । तर यति नै काफी छैन । गोर्खे र गोर्खेका लिम्बू समुदायलाई जिबित राख्ने हो भने स्थानीय सरकारले गोर्खेलाई कफी क्षेत्र घोषित गरि अरेबिका जातका कफी खेती गर्न प्रोत्साहन गर्नुपर्छ र २०३९ सालमै बिजुलीको उज्यालो पाएको गोर्खे बजार छेउको साना जलविद्युत आयोजनाले बनाएको पानी भण्डारणलाई नगर कै बृहत मत्स्य उत्पाद्न केन्द्रमा बिकास गर्नुपर्छ । रोजगारका अवसर सृजना गरि स्थानीय व्यक्तिलाई स्थानीय क्षेत्रमा व्यवस्थापन गर्न सके गोर्खे पनि उज्यालो हुनेछ र गोर्खेका पुराना बासिन्दा लिम्बुहरुको पहिचान पनि बाच्ने छ ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment