धरान–इटहरी सीमा विवाद : इटहरीको क्षेत्रमा हर्कले दाबी गरेपछि भयो बोर्ड उखेला उखेल

१३ बैशाख २०८०, बुधबार


काठमाडौं । देश देशबीच सीमाको विवाद त विश्वका धेरै तिर छ । नेपालको भूमि अतिक्रमण गरेपछि भारतसँग पनि नेपालको झमेला चलिरहेको छ ।
देश देशबीचको विवाद नौलो कुरा भएन तर नेपालमा पालिका पालिकाबीचको सीमा विवाद पनि सतहमा आएको छ । पूर्वका भाइरल मेयर हर्क सम्पाङको पछिल्लो जम्काभेट इटहरीका मेयरसँग होला जस्तो भएको छ ।
धरान र इटहरी उपमहानगरको सीमाको विषयमा विवाद सुरु भएको छ । सीमाको विषयलाई लिएर पालिकाहरुले विवाद गर्नुपर्ने खास कुनै कारण हुँदैन ।
कुनै क्षेत्र यता वा उता पर्नुले ठूलो अर्थ पनि राख्दैन । प्राप्त सूचनाहरुका अनुसार धरानका मेयर साम्पाङले इटहरीको पानीपियामा धरानको बोर्ड राखेपछि सीमा विवाद सुरु भएको हो । पूरा मामिला के हो त ?
अन्तरपालिका सीमा क्षेत्रलाई लिएर सुनसरीको धरान उपमहानगर र इटहरी उपमहानगरबीच विवाद बल्झिएको छ ।
इटहरीको भू–भागमा धरान उपमहानगरले सीमा प्रारम्भको बोर्ड राखेपछि अहिले यी दुई पालिकाबीच सीमा विवाद देखिएको हो ।
आइतबार दिउँसो धरानका मेयर हर्क साम्पाङको निर्देशनमा इटहरी तरहरास्थित पानीपियामा धरानको बोर्ड राखेपछि विवाद बढेको छ ।
इटहरी वडा नं. २० मा पर्ने कोशी लोकमार्गस्थित पानीपिया क्षेत्रमा आफ्नो इलाका परेको दाबी गर्दै धरानका मेयर हर्क साम्पाङले सीमा प्रारम्भको बोर्ड लगाउन निर्देशन दिएसँगै आइतबार बोर्ड राखिएको थियो । तर धरानले इटहरीको भूभागमा बोर्ड राखेको भन्दै एमाले निकट युवा संघ इटहरीका कार्यकताले आइतबार राती उक्त बोर्ड उखेलिदियो । कुनै समन्वयबिना नै प्रचारमुखी ढङ्गबाट इटहरीको क्षेत्रलाई धरान भनेर बोर्ड लगाएको भन्दै संघका कार्यकर्ताहरुले बोर्ड उखेलिदिएका हुन् ।
बोर्ड उखेलिएपछि साम्पाङ फायर, भन्छन् ‘बोर्ड फेरि राखिन्छ’
बोर्ड उखेलिएपछि धरानका मेयर हर्क साम्पाङले युवा संघले बोर्ड भत्काएको विषयमा आक्रोश पोख्दै उक्त भूभाग धरान उपमहानगरकै भएको दाबी गरेका छन् । उनले गुगलले देखाउने नक्सालाई आधार मानेर धरान र इटहरीको क्षेत्र निर्धारण हुनु पर्ने बताएका छन् ।
यता इटहरी उपमहानगरको भू–भागमा धरानले सीमा प्रारम्भको बोर्ड राखेपछि वार्तामार्फत विवाद समाधान गर्न इटहरी उपमहानगरका मेयर हेमकर्ण पौडेलले आग्रह गरेका छन् । मेयर पौडेलले धरानले राखेको बोर्ड क्षेत्र इटहरीकै भएको दाबी गरेका छन् ।
ऐतिहासिकताको आधारले इटहरीले भोगचलन गदै आएको र धरानको अन्तिम सीमा सेउती खोला भएको मेयर पौडेलको भनाई छ । सीमा सम्बन्धि विवादलाई प्रचारबाजी भन्दा यथार्थ विवरणको आधारमा सीमाको समस्या हल गर्नुपर्ने उनको भनाई छ ।
इटहरी र धरान छुट्टाउने सीमानाबारे पाँच वर्ष देखि विवाद रहँदै आएको छ । २०७५ सालमा तत्कालीन धरान र इटहरीका जनप्रतिनिधिबीच सीमा विवादबारे संवाद भए पनि कुनै निचोड निस्किएको थिएन ।
धरानकी कार्यवाहक मेयर मञ्जु भण्डारी र इटहरीका तत्कालीन मेयर द्धारिकलाल चौधरी, उपमेयर लक्ष्मी गौतमबीच धरानमा छलफल भएको थियो ।
उक्त छलफलमा सिमाना यकिन गर्ने सहमति भए पनि थप पहल र निष्कर्ष वा निर्णय भएको थिएन । साबिक धरान नगरपालिका र हाँसपोसा गाविस हुँदा कोशी लोक मार्गको सेउती पुललाई सिमाना मान्ने चलन थियो ।
अहिले हाँसपोसा गाविस इटहरीमा गाभिएर उपमहानगरपालिका भएपछि इटहरी र धरानको सिमाना सेउती खोलाको पुललाई नै मानिन थालिएको थियो । तर, नेपाल सरकारको प्रशासनिक नक्सामा भने धरानको सिमाना पानीपियासम्म छ भने सोही क्षेत्रफलको आधारमा सरकारले स्थानीय तहलाई पठाउने अनुदान धरानले प्राप्त गरिरहेको छ ।
सोही आधारमा नै धरान उपमहानगरपालिकाले पानीपियासम्म आफ्नो सीमा क्षेत्र दाबी गर्दै बोर्ड राख्ने प्रयास गर्दा विवाद चर्किएको हो ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment