झापा । नेपालमै पहिलोपल्ट सामुदायिक क्याम्पस अन्तर्गत धुलाबारी क्याम्पसले इन्जिनियरिङ काउन्सिलबाट पठनपाठनको लागि सम्बन्धन पाएको छ ।
नेपाल इन्जिनियरिङ काउन्सिलले यही भदौ १५ गते धुलाबारी क्याम्पसलाई इन्जिनियरिङ संकायको पठनपाठन गराउन पाउने लिखित अनुमति (सम्बन्धन पत्र) दिएको छ ।
देशभरमा ५६३ वटा सामुदायिक क्याम्पस रहेकोमध्ये धुलाबारी क्याम्पसले मात्र इन्जिनियरिङ विषयको स्नातक तह पढाउने अनुमति पाएको क्याम्पस प्रमुख पुष्प पौडेलले बताए ।
‘मेचीनगरबासीका लागि खुशीको विषय हो,’ उनले भने, निरन्तरको प्रयासपछि धुलाबारी क्याम्पसलाई नेपाल इन्जिनियरिङ काउन्सिल र पूर्वाञ्चल विश्वविद्यालय दुबैले सिभिल इन्जिनियरिङ संकायको चार वर्षे स्नातक तहको पठनपाठन गर्न सम्बन्धन दिइएको छ।’ आउँदो असोज ६ गतेभित्र भर्नाका लागि आवेदन लिइने र यसै शैक्षिक सत्रदेखि सिभिल इन्जिनियरिङको स्नातक कक्षा ९बीई० को पठनपाठन सुरु गरिने निर्देशक इन्जिनियर रुद्र मैनालीले जानकारी दिए ।
मैनालीका अनुसार काउन्सिलले धुलाबारी क्याम्पसलाई बीई कक्षाका लागि ४८ सिट दिएको छ । जसमध्ये चार सिटमा क्याम्पसले छात्रवृत्ति प्रदान गर्ने छ । मेचीनगर १० स्थित रघुबीरबाडीमा रहेको धुलाबारी क्याम्पस ७ बिगाहा जग्गामा फैलिएको छ । सहरी भीडभाडभन्दा टाढा, शान्त र सुरक्षित वातावरण भएकाले धुलाबारी क्याम्पसको शैक्षिक वातावरणलाई कोशी प्रदेशकै उत्कृष्ट वातावरण भएको क्याम्पस मानिन्छ ।
धुलावारी क्याम्पसलाई पूर्वाञ्चल विश्वविद्यालयले गत वर्षको चैत १४ गते र नेपाल इन्जिनियरिङ काउन्सिलले यही भदौ १५ गते इन्जिनियरिङ संकाय सञ्चालनका लागि सम्बन्धन प्रदान गरेका हुन् ।
पूर्वाञ्चल विश्वविद्यालयबाट हालसम्म १७ वटा क्याम्पसले इन्जिनियरिङ संकायको अनमुति पाएका छन् । धुलाबारी क्याम्पसमा सिभिल इन्जिनियरिङको स्नातक तहको सम्बन्धन ल्याउन प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे, प्रतिनिधिसभाका सदस्य एवम् नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मा र नेकपा माओवादीकी केन्द्रीय सदस्य एवम् संविधानसभा सदस्य धर्मशिला चापागाईले सहयोग रहेको क्याम्पस प्रमुख पौडेलले बताए । धुलाबारी क्याम्पसले ठूलो मिहेनतले सिभिल इन्जिनियरिङ पढाउने अनुमति ल्याएको क्याम्पस सञ्चालक समितिका अध्यक्ष भीम खवासले बताए ।
0 comments:
Post a Comment