विराटनगर । ‘ग्याङ फाइट’ गर्न भन्दै हिँडेका युवाको समूहलाई मोरङ प्रहरीले पक्राउ गरेको छ । विराटनगर ९ घोघापुल चोकबाट उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ ।
प्रहरीले १५ जनाको समूहलाई शुक्रबार दिउँसो तरबारसहित पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता डिएसपी रञ्जन दाहालका अनुसार ‘ग्याङ फाइट’ गर्न हिँडेको सूचना प्राप्त भएपछि तत्कालै घटनास्थलमा टोली खटाएर उनीहरुलाई नियन्त्रणमा लिइएको हो । युवतीसँग जोडिएको विषयमा विवाद हुँदा ‘ग्याङ फाइट’ गर्ने योजना बनेको थियो ।
योजना बनाएर निस्केको थाहा पाएपछि प्रहरीले उनीहरुलाई घेरा हालेर नियन्त्रणमा लिएको हो । पक्राउ पर्ने मोरङ र सुनसरीका छन् । प्रहरीका अनुसार पक्राउ पर्नेमा कटहरी ४ का १८ वर्षीय शेष अलि, सुनसरी बर्जू गाउँपालिकाका विजय चौधरी, सोही ठाउँका राहुल दास र १९ वर्षीय ललनकुमार मेहतासहित १५ जना रहेका छन् ।
पक्राउ परेका अन्य १२ जना नावालाक रहेकोले प्रहरीले उनीहरुको नाम सार्वजानिक गरेको छैन । पक्राउ परेका अलिको साथबाट प्रहरीले तरबार बरामद गरेको छ । उनीहरूको साथबाट प्रहरीले खुँडा, लाठ्ठी र नखलगायतका हातहतियार बरामद गरेको छ । पक्राउ परेका अलिको समूह विराटनगरको घोगा पुल चोकमा जम्मा भएर दुई वटा सिटीमा ‘ग्याङ फाइट’ गर्ने उद्देश्यले शान्ति चोक जान भनेर हिँडेको थियो ।
0 comments:
Post a Comment