इलाम : इलामको नेपालटार–मङ्गलवारे कालोपत्रे सडकको निसाना मेटिने अवस्था भएको छ । सडक कालोपत्रे भएपश्चात् मर्मत लामो समयसम्म मर्मत नहुँदा धेरै ठाउको कालोपत्रे कच्चीमा परिणत भएको छ । कालो पत्रे गर्ने समयमा नै गुणस्तरहीन काम भएको भन्दै आलोचित बनेको १२ किलोमिटर कालोपत्रे उक्किएर सडक रोपाइँ गर्न लायक बनेको छ । कालोपत्रे गरेर छोडेपछि मर्मत नपाएको उक्त सडक खण्डमा एक वर्ष अघिको बेमौसमी वर्षसँगै आएको पहिरोबाट धेरै ठाउँमा क्षति भएको थियो । इलामको पश्चिमी क्षेत्रको व्यापारिक केन्द्र रहेको मङ्गलवारे पुग्ने यो सडकमा यात्रा गर्न निकै कठिन बन्ने गरेको छ ।
सडक डिभिजन कार्यालय बाटै ठेक्का लागेर कालोपत्रे भएको उक्त सडक कालो पत्रे पश्चात् कसले हेर्ने भर्ने भन्ने यकिन नहुँदा भएको कालोपत्रे पन उक्किएर कच्चीमा परिणत भएको छ । इलाम नगरपालिका र देउमाई नगरपालिका क्षेत्रमा रहेको यो सडक धेरै जसो ठाउँमा कालो पत्रे नै उक्किएको छ त कता कति कालोपत्रे भएको ठाउँमा पनि खाल्डै खाल्डा रहेको छ । उक्त सडक मर्मतका लागि बजेट नहुँदा कता कति रहेको कालोपत्रे पनि उक्किएर गइसक्ने देखिएको छ ।
२०७२ सालमा सूर्य कन्स्ट्रक्सन कम्पनीद्वारा ११ करोड रुपैयाँमा गरिएको कालोपत्रे तीन महिनामै उक्किएपछि स्थानीयले सडकमा रोपाई समेत गरेका थिए । २०१५ सालबाटै मोटर गुड्न थालेको उक्त सडक बल्लबल्ल कालोपत्रे भए पनि अहिले कच्ची अवस्थामा पुग्ने भए पनि स्थानीय चिन्तित छन् । दशकाकोैं प्रतीक्षा पछी बल्ल बल्ल भएको कालोपत्रे उक्किँदा पनि मर्मत नहुनुले अब यो सडकको निसाना नै हराउने हो कि भन्नेमा त्यस क्षेत्रका बासिन्दा चिन्तित छन् । देउमाई नगरपालिकाका अर्जुन खनाल सुन्नेले यदि सुन्दैन भने भन्नेको लाग्छ र भन्दै जिल्लाको ठुलो र दोस्रो व्यापारी केन्द्र जाने सडकको अवस्थाकै कारण देउमाई बासीको अवस्था उक्सिन नसकेको बताउँछन् । ‘मुख्य सडककै अवस्था यस्तो भएपछि ग्रामीण सडकको अवस्था झन् कस्तो होला भन्दै नेपालटारबाट मङ्गलवारे मोटरसाइकलमा पुग्न निकै दुख भोग्नुपर्ने हुन्छ’, खनालले भने, ‘यस सडकमा यात्रा गर्दा धेरै जना दुर्घटनामा परिसके भने कतिले त खुट्टा समेत भाँचेका छन् ।’ फाकफोकथुम गाउँपालिकाका पञ्च योङहाङ सरकारको आँखा नपुग्दा नेपालटार मङ्गलवारे सडक आवतजावत बहुत कठिन हुने गरेको भन्दै स्थानीय सरकारको पनि आँखा पुग्नुपर्ने बताउँछन् ।
सडक डिभिजन कार्यालय इलामका इन्जिनियर हरिराम रिमालले उक्त सडकको कालोपत्रे मर्मतका लागि १२ करोड माग गरिएकोमा एक करोड ५० लाख रुपैयाँ मात्रै बजेट भएको भन्दै बजेट अभावले नै सबै सडक कालोपत्रे नहुने बताए । उक्त सडक मर्मतका लागि ९७ लाखमा के एम कन्स्ट्रक्सनले ठेक्का पारेको भन्दै मौसम उघ्रिएपछि काम सुरु हुने बताए । धेरै ठाउँमा बिग्रेको र मर्मत गर्नुपर्ने ठाउँ धेरै भए पनि पर्याप्त बजेट नहुँदा आएको बजेटबाट मुख्य मुख्य ठाउँमा टालटुलको काम गर्ने उनको भनाई छ । यस सडक भएको क्षेत्र धेरै जसो समय चिसो हुने र जमिन मुनी बाट पानी निस्कने भएकाले कालोपत्रे छिटो बिग्रिने अवस्था आउने भन्दै धेरै ठाउँमा त जमिन मुनिबाट पानी निस्कने पानीलाई कटाएर ढलान गर्ने हो भने अलि टिक्ने सम्भावना रहेको रिमाल बताउँछन् । कालोपत्रे भइसकेको यो सडक कसको स्वामित्वमा रहने भन्ने नभएको कारण निर्माण भएर पनि मर्मत नहुँदा यस्तो अवस्था आएको भन्दै अहिले पनि ठेककाको काम हुनजेल मात्रै सडकले हेर्ने र यसको स्वामित्व कसको हो भन्ने अन्योल भएको बताउँछन् ।
नेपालटार मङ्गलवारे सडक कालोपत्रे भएसँगै फाकफोकथुम गाउँपालिका हुँदै रबी सम्म जोड्नका लागि सडक निर्माण भइरहेको छ । मङ्गलबारेदेखि एकतप्पा, आमचोक रबी सडकको मङ्गलबारेदेखि देउमाई खोला सम्म कालोपत्रे भइसकेको छ तर नेपालटार मङ्गलवारे सडक कालोपत्रे उक्किएर कच्चीमा परिणत हुन थालेपछि इलामको पश्चिमी क्षेत्रमा कालोपत्रे पुग्ने नपुग्ने अन्योल बनेको छ । नेपालटार देखि मङ्गलवारे जाने सडक विग्रीएको कारण त्यस क्षत्रमा जान इलामको चुरे घाँटी देखि शान्ति डाँडाहुँदै गाग्रे भन्ज्याङ कच्चीबाटो प्रयोग गरी मङ्गलवारे निस्कने गरेका छन् । सबै कच्चि नै कच्ची बाटो भएपनि नेपालटार मङ्गलबारेको कालोपत्रे भत्केको जस्तो अफ्ठेरो नरहेको भन्दै धेरै जसो मोटरसाइकल त्यही बाटो हुँदै जाने गरेको पञ्च योङहाङ बताउँछन् ।
0 comments:
Post a Comment