२०८० आश्विन २५ गते , विहीबार
बिर्तामोड । राष्ट्रिय युवा संघ झापाले आज अर्जुनधारामा भएको सवारी तोडफोडको घटनामा संलग्नहरूलाई कारबाही गर्न जोडदार माग गरेको छ । संगठनको प्रथम नगर अधिवेशनमा सहभागी नेता कार्यकर्ताहरूको दर्जनौँ सवारीमा तोडफोड भएपछि युवाले एक विज्ञप्ति जारी गर्दै कारबाहीको माग गरेको हो ।
अर्जुनधाराको प्रथम नगर अधिवेशनमा प्रमुख अतिथिको रुपमा एमालेका पोलिटब्युरो सदस्य महेश बस्नेत र विशिष्ट अतिथिको रुपमा युवा संघका केन्द्रीय अध्यक्ष क्षितिज थेबे सहभागी थिए । उक्त कार्यक्रममा दुई नेताको विरोधमा पहिचानवादी र दुर्गा प्रसाईँका समर्थक उपस्थिति जनाएका थिए ।
पहिचानवादीका नाममा दुर्गा प्रसाईँका समर्थकहरूले सवारीमा तोडफोड गरेको युवा संघको ठहर छ । युवा संघले विज्ञप्तिमा भनेको छ, कानुनी राज्यको धज्जी उडाउँदै मनपरी अभिव्यक्ति दिने प्रसाईँले एमाले नेताहरु विरुद्ध भाडामा मान्छेको प्रयोग गरेको छ ।
गैर कानुनी , अराजक, लोकतन्त्र विरोधी गतिविधि गर्ने कथित पहिचानवादी र दुर्गा प्रसाईँका सहभागी हुने सबै कार्यक्रमहरू बिथोल्ने युवा संघले घोषणा समेत गरेको छ । युवा संघका संयोजक फुर्वा लामाद्वारा हस्ताक्षरित विज्ञप्ति मार्फत तोडफोडमा संलग्न फरार व्यक्तिहरूको खोजी गरी तत्काल कारबाही गर्न माग गरिएको छ ।
यस्तै, नेकपा एमाले झापाले समेत विज्ञप्ति जारी गर्दै दोषीलाई कारबाहीको दायरामा ल्याउन प्रशासन समक्ष अपील गरेको छ । एमाले झापाका अध्यक्ष दीपक कार्कीद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ, सभा सम्मेलन गर्ने संवैधानिक हकका विरुद्ध कुनै पनि अवरोधहरू मान्य हुने छैन । तोडफोड भएका सवारीहरूको उचित क्षतिपूर्ति दिनुपर्ने माग गरिएको छ ।
0 comments:
Post a Comment