बिर्तामोडमा ९८ ग्राम ब्राउन सुगरसहित तीन जना पक्राउ


बिर्तामोड । झापाको बिर्तामोडबाट ठुलो परिमाणमा लागू औषध ब्राउन सुगरसहित तीन जना पक्राउ परेका छन् । लागू औषध नियन्त्रण ब्युरो कार्यालय काँकडभिट्टाबाट खटिएको टोलीले विशेष सूचनाका आधारमा उनीहरूलाई बिहीबार बिर्तामोडबाट पक्राउ गरेको हो ।

बिर्तामोड-७ बस्ने ३२ वर्षीय डिल्लीबहादुर खड्काले ब्राउन सुगर सेवन तथा बिक्री गरेको सूचनाका आधारमा प्रहरीले उनलाई बिर्तामोडस्थित हनुमान कम्प्लेक्स अगाडिबाट दिउँसो २ बजे पक्राउ गरेको थियो । पक्राउ परेका खड्काको जानकारीका आधारमा अरू थप दुई जना पक्राउ परेका हुन् ।

पछि पक्राउ पर्नेमा बिर्तामोड-९ बस्ने ३० वर्षीय मोहन टुडू र सोही ठाउँका ३७ वर्षीय सोम मर्डी रहेका छन् । टुडू र मर्डीलाई प्रहरीले बिर्तामोड– ३ बिर्ताबजारस्थित गोसलाइनबाट आज साँझ ४ बजे पक्राउ गरेको प्रहरी स्रोतले जनाएको छ । उनीहरूको साथबाट प्रहरीले ९८ ग्राम २४० मिलिग्राम ब्राउन सुगर बरामद गरेको छ ।

उनीहरू लागू औषध प्रयोगकर्ता तथा कारोबारी भएको जनाइएको छ । साथै प्रहरीले उनीहरूले चलाउँदै आएको २ वटा मोटरसाइकल र १ वटा स्कुटर पनि नियन्त्रणमा लिएको छ । उनीहरूलाई थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय बिर्तामोडमा राखिएको छ ।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment