रघुजी पन्तले संसदमा कविता गाउँदै भने- ‘जनताले यसपालिको दशैँ कसरी टार्छन् ?’

१९ आश्विन २०८०, शुक्रबार


काठमाडाैँ । नेकपा एमालेका सांसद रघुजी पन्तले चाडपर्व नजिकिएसँगै बजारमा बढ्दो महंगी र मूल्यवृद्धिका बीचमा जनताले कसरी यसपालिको दशैँ मनाउछन् भन्दै सरकारलाई प्रश्न गरेका छन् ।

शुक्रवार प्रतिनिधि सभा बैठकको शुन्य समयमा बोल्दै सांसद पन्तले कविता गाउँदै सरकारलाई प्रश्न गरेका हुन् । उनले चाडपर्व नजिकिएसँगै जनताले दशैँ मनाउन नसक्ने गरी महँगी बढ्दा पनि सरकारको ध्यान नगएको बताए । महँगी नियन्त्रण गर्न उनले माग गरे । बजारमा एक बोरा चामललाई समेत ३ हजार र दाल किलोकै २५० रुपैयाँ पुगेको बताउँदै उनले सरकारले दशैं पेस्कीको रुपमा जनतालाई महँगी दिएकोमा कवितामार्फत व्यङ्ग्य गरेका हुन् ।

‘खल्तीमा तलब हालेर हिँड्यो बजार,

चामलको बोराले नाघ्यो तीन हजार,

रहर दाल किलोको २५०,

बजार भाउ सुन्दा गुम्छ होस् हवास् ।

तरकारीले भाउ नै नसोध भनेझैँ गर्छ,

गोलभेडाले के किन्लास् भनेर आँखा तर्छ,

दशैँ पेस्की आउने कहिले कहिले पेस्कीमा महंगो आयो,

सरकारका घर त, उज्याला होलान् नहुनेका घरमा अहिले अध्याँरो छायो ।।’

यसरी कवितात्मक भाषामा उनले प्रश्न गरे- ‘आउन लागेको दशैँ सम्झेर जनता मुर्छा पर्छ, सरकार गरिबको दशैं यसपालि कसरी टर्छ ? मेरो प्रश्न छ जवाफ देऊ सरकार जनताको दशैं यसपालि कसरी टर्छ ?’

नेकपा माओवादी केन्द्रका सांसद माधव सापकोटाले दशैँमा गाउँघरमा जाने विद्यार्थीहरुको लागि सरकारी र संस्थानका सवारीहरुको प्रयोग गर्ने गरी प्रबन्ध मिलाउन सरकारसँग माग गरे । उनले सरकारले गत आर्थिक वर्षमा लगाएका ठेक्का सम्झौता भएर चालु अवस्थामा रहेका परियोजना भुक्तानी गर्न पनि आग्रह गरे ।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment