झापामा ब्राउन सुगरको कारोबार : तीन भारतीयसहित चार पक्राउ

२०८० कार्तिक २२ गते , बुधबार

प्रतिबन्धित लागू औषधको देशकै ट्रान्जिट पोइन्ट बनेको झापामा ब्राउन सुगरसहित चारजना पक्राउ परेका छन् । अर्जुनधारा ११ स्थित नयाँ बसपार्कमा तीनजना र बिर्तामोडको गरामनिमा एकजना पक्राउ परेका हुन् ।
गए राति ९.३० बजे अर्जुनधारा नगरपालिका वडा नं.११ नयाँ बसपार्कमा कोठा भाडा लिई बस्ने देश भारत राज्य बिहार जिल्ला अररिया बतनाहा भटयाही वडा नं.२२ घर बताउने अन्दाजी १९ वर्षका प्रियन्सुकुमार मण्डल,जोगवनी खजुरवाडी वडा नं.१५ घर बताउने अन्दाजी १९ वर्षका मोहम्मद लाल भन्ने साहिल सेख र सोही ठाउँ घर बताउने अन्दाजी २३ वर्षका मोहम्मद काजीम आलमले प्रतिबन्धित लागू औषध ब्राउन सुगर प्रयोग गरिरहेको भन्ने गोप्य सूचनाको आधारमा अस्थायी प्रहरी पोस्ट बसपार्कबाट खटिएको प्रहरी टोलीले चेकजाँच गरेको थियो । त्यस क्रममा उनीहरूले बोक्ने कालो ब्याग (झोला) भित्र लुकाई छिपाई राखेको १४ ग्राम ३२० मिलिग्राम ब्राउन सुगर फेला परेको थियो ।
त्यस्तै हिजो साँझ ७.३० बजेको समयमा बिर्तामोड नगरपालिका वडा नं.८ गरामनीस्थित भद्रपुर–बिर्तामोड सडक खण्डमा पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको मे ३ प ६४०३ नम्बरको मोटरसाइकल आफै अनियन्त्रित भई दुर्घटना भएपछि अस्थायी प्रहरी चौकी गरामनिबाट प्रहरी टोली खटिगई बुझ्दा मोटरसाइकल चालक बिर्तामोड नगरपालिका वडा नं.२ बस्ने २५ वर्षीय प्रतीक राई चोटपटक नलागेको र नशालु पदार्थ सेवन गरेको जस्तो देखिएकोले चेकजाँच गर्दा उनको साथबाट ३ ग्राम ४८० मिलिग्राम ब्राउन सुगर फेला पारेको थियो । बरामद लागू औषधसहित४ जनालाई नै नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय अनारमनी झापामा राखी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment