इलामको छब्बिसेको दशगजामा भारतले खानेपानी पाइप गाढेर ढलान


पशुपतिनगर । भारतीय पक्षले पूर्वी नेपालको दशगजाबाट खानेपानीको पाइप बिछ्याएपछि सीमाक्षेत्रका बासिन्दा असन्तुष्ट भएका छन् । इलामको सूर्योदय नगरपालिका–४, छब्बिसेस्थित दशगजाको नेपालपट्टिबाट भारतीय पक्षले पाइप गाढेर सिमेन्ट ढलान गरेपछि स्थानीय नेपाली असन्तुष्ट भएका हुन् ।
वडा ४ का वडाध्यक्ष शरण राईले नेपाल–भारत खुला सीमाका कारण वर्षौंदेखि पूर्वी क्षेत्रमा विवाद रहेको बताए । ‘भारतीय पक्षले छब्बिसेमा खानेपानीको पाइप नेपालपट्टिबाट ढलान गरेर लगेको देखिन्छ,’ उनले भने, ‘तर, भारतीय पक्ष त्यो ठाउँ नेपालपट्टिको हो भनेर मान्न तयार छैन ।’
स्थानीयले गुनासो गरेपछि छब्बिसेस्थित सशस्त्र प्रहरी बल र भारतीय सीमा सुरक्षा बल एसएसबी, वडाध्यक्षसहित स्थानीय सरोकारवालाले त्यस क्षेत्रको निरीक्षण गरेका छन् । ‘खानेपानीजस्तो संवेदनशील कुरामा सीमा नै भएपनि कसैले बाधा नगरौं भन्ने हाम्रो पनि सोच हो । तर, त्यो ठाउँ नेपालतिरै पर्ने भएकाले पछि कुनै समस्या आए अहिले गाढिएको पाइप भारतीय पक्षले झिकेर लैजाने भन्ने प्रस्ताव हामीले निरीक्षणक्रममा राख्यौं,’ वडाध्यक्ष राईले भने, ‘त्यो प्रस्तावमा भारतीय पक्ष सहमत भएन ।’
तर, नेपाल–भारत दुवै पक्षले आ–आफ्नो देशका सीमाविज्ञको सुझावका आधारमा निर्णय गर्ने बुझाबुझ गरेको उनले बताए । ‘पाइप गाढिएको स्थानमा दुवै पक्षको दाबी रहेकाले दुवै देशका विज्ञको सुझावका आधारमा निर्णय गर्ने बुझाबुझ भएको छ,’ उनले भने । उनका अनुसार भोलि आइतबार पनि यसबारे थप छलफल हुनेछ ।
वडाध्यक्ष राईले लामो समयदेखिको सीमा विवाद रहँदा साना–साना विषयले पनि बेला–बेला यो क्षेत्रमा तनाव सिर्जना हुनेगरेको बताए । सीमा निरीक्षणमा सशस्त्र प्रहरी, एसएसबीका प्रतिनिधि, वडाध्यक्ष राई र अन्तु पर्यटन व्यवसायी संघ अध्यक्ष रुद्र घिमिरेलगायत सहभागी थिए ।
लाेकल सन्देशबाट 
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment