![]() |
हरि अर्यालले रुसी सेनाको पोशाकमा हतियारसहित गाडीमा हिँडिरहेको भिडियो पोस्ट गर्दै सामाजिक सञ्जालमा लेखेका थिए, ‘यस्तै छ जिन्दगी । बाँचे भेट, मरे त यत्तिकै ।’ |
२०८० पुष १८ गते
१८ पुस, पोखरा । परराष्ट्र मन्त्रालयको काउन्सिलर विभागबाट सोमबार रुस–युक्रेन युद्धमा स्याङ्जाका हरि अर्याल मारिएको आधिकारिक जानकारी आउनुभन्दा १५ दिनअगाडि नै गाउँमा गाइँगुइँ चलिसकेको थियो । मंगलबार विभागले वालिङ नगरपालिका १४ का वडा अध्यक्ष बोधराज कुँवर (राजु) लाई रुसी सेनामा भर्ना भएका २३ वर्षीय अर्यालको मृत्यु भएको जानकारी दियो ।
स्थानीयका अनुसार हरिले रुसी सेनामा भर्ती भइसकेपछि भिडियो तथा फोटो सामाजिक सञ्जालमा पोस्ट गर्ने गरेका थिए । एजेन्टमार्फत रुसी सेनामा भर्ती हुन जान लागेको आफू निकटलाई बताएका थिए । ‘अक्टोबर २० (३ कात्तिक)मा उनको काठमाडौंबाट फ्लाइट थियो,’ उनको नातेदार बद्री अर्याल भन्छन्, ‘रुसी सेनामा भर्ती भइसकेपछि पनि उनी नियमित सम्पर्कमा थिए ।’
काठमाडौंबाट उडेको ५ दिनमै हरिले रुसी सेनाको पोशाकमा सेल्फी लिएर सामाजिक सञ्जालमा पोस्ट गरेका थिए । जहाँ उनले लेखेका थिए, ‘जसले रिक्स लिन्छ, त्यो अगाडि बढ्छ ।’ उनले अन्तिम पटक ४ अक्टोबरमा रुसी सेनाको पोशाकमा हतियारसहित गाडीमा हिँडिरहेको भिडियो पोस्ट गर्दै सामाजिक सञ्जालमा लेखेका थिए, ‘यस्तै छ जिन्दगी । बाँचे भेट, मरे त यत्तिकै ।’
त्यसपछि भोलिपल्टसम्म घर परिवारमा सम्पर्क गरेका उनी त्यसपछि एकाएक सम्पर्कविहीन बने । त्यसको केही दिनपछि उनी युद्धमा मारिएको उनका साथीहरुले सुनाएका थिए, तर कुनै आधिकारिक सूचना परिवारले पाएको थिएन । मंगलबार काउन्सिलर विभागले औपचारिक जानकारी जानकारी गराएको छ ।
0 comments:
Post a Comment