भद्रपुरमा फलामे होडिङ बोर्ड फिल्मी शैलीमा चोर्दाचोर्दै तीन जनालाई नगर प्रहरीले समाते


भद्रपुर । भद्रपुरमा फिल्मी शैलीमा फलामे होडिङ बोर्ड चोरी गरेको आरोपमा तीन जना पक्राउ परेका छन् । आइतबार साँझ भद्रपुर नगरपालिका–४ स्थित रंगियाडाँडादेखि ज्ञानेचोकसम्म सडक किनारमा नगरपालिकाले राखेको फलामे होडिङ बोर्ड चोर्दाचोर्दै उनीहरूलाई भद्रपुर नगर प्रहरीले पक्राउ गरेको हो । 
पक्राउ पर्नेहरूमा मेचीनगर नगरपालिका– १४ का ३१ वर्षीय अमित राजवंशी, मेचीनगर– १० का अन्दाजी १८ वर्षीय राजीव उराव र पिकअप चालक बाह्रदशी गाउँपालिका- ७ का ४९ वर्षीय पुष्प राजवंशी रहेको नगर प्रहरीका असई चन्द्र प्रधानले जानकारी दिए । उनीहरूले मे १ च ६३७६ नम्बरको पिकअप गाडी चढेर होडिङ बोर्ड चोर्न भद्रपुर आएका थिए । फिल्मी शैलीमा उनीहरूले रंगियाडाँडादेखि ज्ञानेचोकसम्मका ८ वटा होडिङ बोर्ड फलाम काट्ने ह्याक्सोले काटेर पिकअपमा हाली सकेका थिए । 
स्थानीयले होडिङ बोर्ड काट्दै गरेको अवस्थामा उनीहरूसँग सोधपुछ गर्दा पुरानो भइसकेको र अब नयाँ लगाउने भन्ने जवाफ फर्काएका थिए । उनीहरूमा माथि शंका लागेपछि स्थानीयले तत्काल नगर प्रहरीलाई खबर गरेका थिए । 
नगर प्रहरी तत्काल घटनास्थल पुगेर उनीहरूलाई पिकअप र होडिङ बोर्डसहित नियन्त्रणमा लिएका थिए । नियन्त्रणमा लिएर नेपाल प्रहरीलाई बुझाउन लैजाँदै गर्दा भद्रपुर बजार पुग्दा तीनै जना पिकअपबाट ओर्लिएर भागे । उनीहरूलाई नगर प्रहरीको टोलीले खेदाउँदै पुनः नियन्त्रणमा लिएर वडा प्रहरी कार्यालय भद्रपुरलाई बुझाएको असई प्रधानले जानकारी दिए । 
 वडा प्रहरी कार्यालय भद्रपुरका इन्स्पेक्टर सञ्जीव बोगटीसँग आरोपी तीन जनाको नाम माग्दा आफू बाहिर रहेको र घटनाको बारेमा अनुसन्धान भइरहेको जवाफ फर्काए । उनले घटनाको जानकारी जिल्ला प्रहरी कार्यालयका प्रवक्तासँग लिन आग्रह गरे । यता जिल्ला प्रहरी कार्यालयका निमित्त प्रवक्ता तथा इन्स्पेक्टर ढुण्डिराज गिरीले वडा प्रहरीले साे घटनाको बारेमा जानकारी नै नगराएकाे बताए ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment