पानी नपरेपछि झापामा बाजागाजा र नाचगानसहित भ्यागुताको बिहे


झापा । झापाको अर्जुनधारामा शनिबार एउटा भाले र एउटा पोथी भ्यागुताको धुमधामका साथ विवाह गरिएको छ । लामो समयसम्म वर्षा नहुँदा खडेरीको सामना गर्नु परेको भन्दै अर्जुनधारा वडा नम्बर २ का स्थानीयले भ्यागुताको बिहे गरिदिएका हुन् । विगतमा अग्रजहरूले भ्यागुताको बिहे गर्दा पानी पर्ने गरेको जनविश्वास भएकाले विधिसंगत यो वर्ष पनि भगवान् र प्रकृतिसँग पानी माग गरेर भ्यागुताको बिहे गरिदिएको स्थानीयहरुले बताएका छन् ।
नवनिर्मित मदन भण्डारी लोकमार्ग अन्तर्गत बेल्टार गाँजाबरी सडक खण्डमा पर्ने टाङ्टीङ खोलामा जोडी भ्यागुताको विवाह गरिएको हो । हिउँदको समयमा लामो समयसम्म पानी नपरेपछि भ्यागुताको बिहे गरिदिने पुरानो प्रचलन रहेकाले यो वर्ष पनि भ्यागुताको बिहे गरिएको अर्जुनधारा २ का स्थानीय युवा शिव भट्टराईले जानकारी दिए । पानी नपर्नाले किसानको अन्नबाली सुकेर खेर जाने अवस्था सिर्जना भएको उनले सुनाए ।
सयौँ स्थानीयको उपस्थितिमा भएको कार्यक्रममा बेहुली लिन दौरा सुरुवालमा सजिएको भाले भ्यागुतोलाई मोटरको सवारी गराउँदै बेल्टारबाट टाङ्टिङ खोलासम्म पुर्‍याइएको थियो । खोलाको किनारमा विवाहका लागि गेट निर्माण गरिएको थियो भने खोलामा भव्य मण्डप समेत निर्माण गरिएको थियो । विधिसंगत पाठपारायण गर्दै भ्यागुताको बिहे सम्पन्न गरिएको हो ।
अर्जुनधारा २ का वडा अध्यक्ष नरेन्द्र कुमार श्रेष्ठले पहिले पहिले बर्सेनि भ्यागुताको बिहे गर्ने प्रचलनलाई युवाहरूले यो वर्ष आयोजना गरेको बताए । उनले अग्रजहरूले अपनाएको संस्कारलाई जगेर्ना गर्ने कुरा सकारात्मक भएको बताए । कतिपय कुराहरू सत्य भएकाले नै पछिल्लो पुस्ताले पनि त्यसको अनुसरण गरेको श्रेष्ठको भनाई छ । हिउँदको समयमा कम वर्ष हुने, विभिन्न रोग तथा हैजाहरूको संक्रमण देखिने गरेकाले पनि पुर्खाहरूले त्यस्ता कुराहरूबाट छुटकारा पाउन संसारी पूजा र भ्यागुताको विवाह गर्ने गरेको उनले बताए । वडा अध्यक्ष श्रेष्ठले पानी पर्न नसक्दा पानीको मुहान सुकेर कृषकहरूलाई मुख्य समस्या भएको बताए । बाजागाजा र नाचगानसहित भव्य रुपमा सम्पन्न भएको भ्यागुताको विवाह कार्यक्रममा सहभागीहरूलाई खोलामा नै विवाह भोज खुवाइएको थियो ।
भ्यागुता करायो भने भगवान् इन्द्रकहाँ पानी पार्ने सन्देश पुग्छ र त्यसैको फलस्वरूप आकाशबाट वर्षा हुन्छ भन्ने हिन्दु धर्मीहरूको विश्वास छ । सोही मान्यताका साथ विशेषगरी तराई क्षेत्रमा भ्यागुताको विवाह गराइदिने चलन छ। बिहे गराएपछि भ्यागुताको जनसङ्ख्या वृद्धि हुने मान्यता समेत रहेको छ । भ्यागुता प्रायः अर्को साथी भयो भने मात्र कराउँछ। भ्यागुताको बिहे भएपछि उनीहरू सँगै बस्ने र सँगै कराउँदै हिँड्ने मान्यता छ। त्यो सङ्गीत जस्तो ध्वनि स्वर्गका राजा इन्द्रसम्म पुगेपछि पानी पर्छ भन्ने मान्यताका साथ तिनीहरूको विवाह गरिएको हुनुपर्ने अग्रजहरूको बुझाई छ ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment