नवरात्रको दोस्रो दिन ब्रह्मचारिणीको पूजा आराधना


काठमाडौं – बडादशैँ अर्थात् शारदीय नवरात्रको दोस्रो दिन मंगलबार नवदुर्गामध्येकी ब्रह्मचारिणीको आराधना गरीदैछ। परम्पराअनुसार नवरात्रमा प्रत्येक दिन भगवती दुर्गाका फरक–फरक स्वरूपको पूजा गरिन्छ।

तपस्यामा लीन भएकाले दुर्गाको दोस्रो स्वरूपलाई ब्रह्मचारिणी भनिन्छ। शान्त र मग्न मुद्रामा तपस्या गर्ने ब्रह्मचारिणीको मुहार तेजयुक्त मानिन्छ। कमलको आसनमा विराजमान ब्रह्मचारिणीको दाहिने हातमा अक्षमाला र बायाँ हातमा कमण्डलु रहेको हुन्छ। यिनलाई योगसाधिकाको रूपमा पनि लिइन्छ र आरोग्य तथा शान्ति प्राप्तिका लागि आराधना गरिन्छ।

नवरात्रको अवसरमा यसैगरी महाकाली, महालक्ष्मी र महासरस्वतीको पूजा गर्ने चलन छ। जमरा राखिएका दशैंघर तथा विभिन्न शक्तिपीठमा पुगेर देवीको आराधना गर्ने परम्परा रहिआएको छ।

यसै क्रममा राजधानी काठमाडौंको गुह्येश्वरी, संकटा, शोभाभगवती, मैतीदेवी, नक्सालभगवतीलगायत मन्दिरमा भक्तजनको घुइँचो लागेको छ। सिन्धुपाल्चोकको पाल्चोक भगवती, ललितपुरको बंगलामुखी, काभ्रेपलाञ्चोकको पलाञ्चोक भगवती, बाँकेको बागेश्वरी, गोरखाको मनकामनालगायत देशभरका शक्तिपीठमा पनि भक्तजन पुग्ने क्रम बढेको छ।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment