इलाममा छायांकन गरिएको ‘मैझारो’ को टिजर सार्वजनिक


७ असोज, इलाम । इलामको सुन्दर स्थानहरूमा छायांकन गरिएको नेपाली फिल्म मैझारो को टिजर सार्वजनिक गरिएको छ। निर्माण पक्षले बडादसैंको घटस्थापनाको अवसर पारेर सोमबार १ मिनेट ५८ सेकेण्ड लामो टिजर दर्शकमाझ ल्याएको हो।

टिजरमा मुख्य कलाकार धिरज मगर, मिरूना मगर र दीया पुनबीचको त्रिकोणात्मक प्रेमकथा देखाइएको छ। कार्तिक ७ गतेदेखि प्रदर्शनमा आउन लागेको फिल्मले इलामको प्राकृतिक सुन्दरतासँगै प्रेमकथालाई पर्दामा उतार्ने अपेक्षा गरिएको छ।

फिल्मको निर्देशन अभिनेता विल्सनविक्रम राई (तक्मेबुढा) ले गरेका हुन्। उनले लेखन पनि गरेका यस फिल्ममा धिरज, मिरूना र दीयासहित सुनील थापा, माओत्से गुरूङ, बुद्धि तामाङ, पुस्कर गुरूङ, अभयराज बराल, कविता आले, प्रेम सुब्बा, रजनी गुरूङ, उदय सुब्बालगायत कलाकारहरूको अभिनय छ।

‘तक्मे प्रोडक्सन’ को ब्यानरमा डी. भी. राई र सरिना लामा (राई) निर्माताको रूपमा रहेका छन्। फिल्ममा अनमोल गुरूङ र तोरेम्पाहाङ राईको संगीत छ भने राजेशपायल राई, झुमा लिम्बू, मेलिना राई, अस्मिता अधिकारीलगायतका गायक–गायिकाले स्वर दिएका छन्।

मैझारो भाइटीकाको भोलिपल्ट, कार्तिक ७ गतेदेखि देशभर प्रदर्शनमा आउने निर्माण पक्षले जनाएको छ।


प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment