इलाम, कात्तिक १५ ।
आज कार्तिक शुक्ल एकादशी अर्थात् हरिबोधिनी एकादशी — सानातन धर्मावलम्बीहरूले भगवान् विष्णु र तुलसीको विवाह गरी धार्मिक श्रद्धा र उत्साहका साथ मनाइरहेका छन्।
सनातन परम्परा अनुसार आषाढ शुक्ल एकादशीका दिन आँगनमा तुलसी रोपेर चार महिनासम्म पूजा गरिन्छ, जसलाई ‘चतुर्मास’ भनिन्छ। यो अवधिभर तुलसीलाई ‘विष्णुप्रिया’को रूपमा पूजा गरेर हरिबोधिनी एकादशीको दिन भगवान् विष्णुसँग विवाह गरिन्छ।
पौराणिक विश्वास अनुसार, आषाढ शुक्ल एकादशीका दिन क्षीरसागरमा शयन गरेका भगवान् विष्णु आजको दिन उठ्ने भएकाले यस दिनलाई “हरिबोधिनी” भनिएको हो। ‘हरि’ भनेको विष्णुको अर्को नाम हो भने ‘बोधिनी’को अर्थ उठ्ने भन्ने हुन्छ।
आजको दिन उपवास बसी नारायणको आराधना गर्ने र भोलिपल्ट द्वादशीका दिन हवन तथा विसर्जन गर्ने चलन छ।
धार्मिक ग्रन्थ भविष्योत्तर पुराणका अनुसार यो एकादशीमा गरिने स्नान, दान र तप सबै अक्षय फलदायी हुने मानिन्छ।
पञ्चाङ्ग अनुसार शनिबार राति २ बजेर ५६ मिनेटसम्म एकादशी तिथि रहनेछ।
यही दिनदेखि भीष्म पञ्चक आरम्भ हुने परम्परा छ, जसअन्तर्गत पूर्णिमासम्म भगवान् विष्णुको विशेष आराधना गरिन्छ।
देशभरका नारायण मन्दिर र तुलसी मठहरूमा आज बिहानैदेखि भक्तजनहरूको घुइँचो लागेको छ।

0 comments:
Post a Comment