२०८२ पौष २६ गते , शनिबार
झापाको गौरादहमा ट्याक्टर पल्टिदा एकजनाको मृत्यु भएको छ । दुर्घटनामा परी चार जना घाइते भएका छन् । गौरादह नगरपालिका– ५ चान्दु खोलास्थित भित्री सडक खण्डमा बालुबथानबाट फकिढिप गाउँतर्फ जाँदै गरेको मे १ त ७१०८ नम्बरको खाली ट्याक्टर गएराति १०ः३० बजे आफै अनियन्त्रित भई पल्टिएको हो ।
दुर्घटनामा ट्याक्टरमा सवार गौरादह-७ का ३५ वर्षीय महमद माजिमको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । शरीरको विभिन्न भागमा चोट लागेर गम्भीर घाइते भएका माजिमलाई दमक अस्पताल पुर्याई चेकजाँच गर्दा उनको मृत्यु भइसकेको थियो ।
मृतकको शव सोही अस्पतालमा रहेको प्रहरीले जनाएको छ । त्यस्तै सोही ट्याक्टरमा सवार सोही ठाउँका ४९ वर्षीय सत्यनारायण राजवंशी, २३ वर्षीय संजित ऋषिदेव, २३ वर्षीय अभिजुल मियाँ, ३४ वर्षीय केलु मियाँ घाइते भएका छन् । घाइतेहरूलाई दमक अस्पतालमा सामान्य उपचारपश्चात् थप उपचारको लागि लाइफलाइन अस्पताल दमक पठाइएको छ । घाइते अभिजुललाई भने नोबेल अस्पताल विराटनगर रेफर गरिएको छ । ट्याक्टर चालक गौरादह-७ का ३८ वर्षीय यमप्रसाद राजवंशी तत्काल फरार रहेकाले खोजतलास भइरहेको प्रहरीले जनाएको छ।

0 comments:
Post a Comment