व्यावसायिक किवी खेतीमार्फत देउकुमार राई उत्कृष्ट किसान सम्मान

माघ ८ २०८२


  
इलाम । चौथो राष्ट्रिय कृषि जैविक विविधता दिवस–२०८२ को अवसरमा देउकुमार राई उत्कृष्ट किसानका रूपमा सम्मानित भएका छन्। लामो समय ब्रिटिस सेनामा सेवा गरेपछि स्वदेश फर्किएर व्यावसायिक कृषि फार्म सञ्चालन गर्दै आएका राईको योगदानलाई कदर गर्दै कृषि ज्ञान केन्द्र इलामले उक्त सम्मान प्रदान गरिएको हो।
१८ वर्षसम्म ब्रिटिस सेनामा सेवा गरेका राई सेवा निवृत्त भएपछि २०७० सालदेखि इलामको सन्दकपुर गाउँपालिकामा किवी खेतीलाई व्यावसायिक रूपमा अघि बढाइरहेका छन्। निरन्तर मेहनत, अनुशासन र आधुनिक कृषि अभ्यासमार्फत उनले किवी खेतीलाई सफल व्यवसायका रूपमा स्थापित गरेका छन्। यही लगनशीलता र सफलताकै कारण उनी उत्कृष्ट किसानको रूपमा छनोट भएका हुन्।
कार्यक्रममा इलामका प्रमुख जिल्ला अधिकारी लक्ष्मण ढकालले स्वदेशमै सीप र अनुभव प्रयोग गरेर कृषि पेसामा सफल हुने किसानहरू समाजका प्रेरणाका पात्र भएको बताए। उनले कृषिलाई आधुनिक र आत्मनिर्भर बनाउने अभियानमा सरकारी निकाय र किसानबीच सहकार्य आवश्यक रहेको उल्लेख गर्दै सफल किसानलाई राज्यले प्रोत्साहन र संरक्षण दिनुपर्नेमा जोड दिए।
कृषि ज्ञान केन्द्र इलामका प्रमुख रवि किरण अधिकारीले देउकुमार राईको संघर्ष र सफलतालाई उदाहरणीय रहेको बताए। यस्ता किसानका कथाले युवालाई कृषितर्फ आकर्षित गर्ने विश्वास व्यक्त गर्दै उनले कृषि जैविक विविधताको संरक्षण र व्यावसायिक कृषिमा सफल किसानको भूमिका अत्यन्त महत्त्वपूर्ण रहेको बताए। कृषि ज्ञान केन्द्र इलामले यस्ता प्रयासलाई निरन्तर साथ दिने प्रतिबद्धता पनि उनले जनाए।
सम्मानपछि प्रतिक्रिया दिँदै देउकुमार राईले आफू सम्मानित हुन पाउँदा खुसी लागेको बताए। उनले नेपालमा अझै पनि ‘कृषि गर्नेले पढेको हुँदैन, पढेकाले कृषि गर्दैन’ भन्ने सोच गलत रहेको उल्लेख गरे। प्रविधिको प्रयोग र सरकारी सहयोग बढेमा कृषि अझ सम्मानजनक र लाभदायक पेसा बन्न सक्ने उनको भनाइ थियो।
कृषिमा नीतिगत सुधार र प्राविधिक सहयोग अपरिहार्य रहेको उनले जोड दिए। कार्यक्रममा सुरक्षा निकायका प्रमुख, कृषि प्राविधिक, किसान तथा विभिन्न सरोकारवालाहरूको उल्लेखनीय सहभागिता रहेको थियो। रेडियो नेपालबाट
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment