इलाम : नेपाली कांग्रेस इलाम-१ का प्रतिनिधिसभा सदस्य उम्मेदवार निष्कल राईले ‘अबको पालो परिवर्तनको, युवा सोच र सम्भावनाहरूको’ नारासहित आफ्नो प्रतिबद्धता पत्र सार्वजनिक गरेका छन् । उनले इलाम-१ लाई बस्न, काम गर्न र लगानी गर्न योग्य निर्वाचन क्षेत्र बनाउने दीर्घकालीन दृष्टिसहित शिक्षा, कृषि, पर्यटन, पूर्वाधार, सुशासन र युवा उद्यमलाई केन्द्रमा राख्दै कार्यक्रम अघि सारेका छन् ।
संघीय लोकतान्त्रिक गणतन्त्र स्थापनापछि मुलुकमा परिवर्तन भए पनि त्यसको समानुपातिक लाभ सबै भूगोल र पुस्तासम्म नपुगेको उल्लेख गर्दै राईले इलाम-१ सम्भावनाले भरिएको क्षेत्र भए पनि स्पष्ट दृष्टि, योजना र उत्तरदायी नेतृत्वको अभावमा अवसरमा रूपान्तरण हुन नसकेको बताए। ‘राजनीति मेरो लागि पद होइन, जिम्मेवारी र पुस्तान्तरणको पुल हो,’ उनले भने, ‘म भाषणले होइन, परिणामले मापन हुन चाहन्छु।’
राईले इलाम-१ लाई प्राविधिक तथा सीप शिक्षाको प्राथमिकता क्षेत्र घोषणा गरी संघीय अनुदानमा प्राविधिक संस्थान स्थापना गर्ने योजना अघि सारेका छन् । चिया, अलैंची, जडीबुटी, आतिथ्य र कृषि मेशिनरीलगायत क्षेत्रमा मागअनुसार सीप केन्द्र खोलिने उनले प्रतिवद्धता जनाएका छन् । सामुदायिक विद्यालयमा विज्ञान, प्रविधि, इन्जिनियरिङ, कला र गणित शिक्षा, शिक्षक डिजिटल तालिम, दुई वर्षे नतिजा अडिट र ‘सीपदेखि बजार’ कार्यक्रम लागू गर्ने प्रतिबद्धता जनाइएको छ । साथै चिया, हिमाली कृषि र जैविक विविधता अनुसन्धान केन्द्र स्थापना गर्ने योजना समेटिएको छ ।
चिया, दुग्ध, आलु, अलैंची, सुपारीलगायत मुख्य बालीका लागि लागतमा आधारित न्यूनतम समर्थन मूल्य निर्धारण, मूल्य स्थिरीकरण कोष र संकटमा न्यूनतम खरिद सुनिश्चित गरिने राईको भनाइ छ । ‘इलाम चिया’लाई भौगोलिक संकेतक (जीआइ) दर्ता गरी अन्तर्राष्ट्रिय ब्रान्डिङ र अर्गानिक प्रमाणीकरणमार्फत निर्यात प्रवर्द्धन गरिने उनले बताए । दुग्ध विकास आयोजना पुनर्संरचना, समयमै भुक्तानी, दूध पाउडर प्रविधि विस्तार र पशु रोग नियन्त्रण अभियानलाई प्राथमिकतामा राखिएको छ।
कृषि-प्रशोधन, चिया, दुग्ध र जडीबुटीमा आधारित साना औद्योगिक क्षेत्र विकास, साना उद्यम ऋण ग्यारेन्टी योजना लागू र सहकारीमा पारदर्शिता सुधार कार्यक्रम सञ्चालन गर्ने प्रतिबद्धता गरिएको छ । प्रतिबद्धतापत्रमा सितली, देउराली, नयाँबजार, फिक्कल र पशुपतिनगरजस्ता बजारको गुरुयोजना तयार गरी व्यवस्थित विकास गरिने उल्लेख गरिएको छ ।
त्यस्तै स्वास्थ्य केन्द्रलाई २४/७ सेवा, प्रयोगशाला र आपतकालीन क्षमतासहित उन्नयन, टेलिमेडिसिन विस्तार र दुर्गम क्षेत्रमा चिकित्सक प्रोत्साहन प्याकेज लागू गरिने उल्लेख गरिएको छ । पूर्वाधारतर्फ पहिलो वर्षमै प्राथमिकता सूची तयार गरी संघीय तथा प्रदेश बजेटमा समावेश गरिने, फिक्कल-नयाँबजार-देउराली रणनीतिक चक्रपथ निर्माण, फार्मदेखि बजार सडक र सीमावर्ती व्यापार पूर्वाधार सुदृढ गरिने योजना अघि सारिएको छ। पशुपतिनगर नाकामा भारततर्फ अध्यागमन कार्यालय स्थापना गर्न कूटनीतिक पहल गरिने राईले प्रतिबद्धतापत्रमा उल्लेख गरेका छन् ।
त्यसैगरी ‘सीपदेखि रोजगार’ कार्यक्रम, स्वदेश फर्किएका युवाका लागि विदेशबाट फर्किएका युवाको स्वरोजगार तथा उद्यम कार्यक्रम, स्टार्टअप सिड ग्रान्ट, डिजिटल सेवा उद्यम र ‘इलाम-१ लगानी सम्मेलन’ आयोजना गर्ने प्रतिबद्धता गरिएको छ । युवा नीति मञ्चमार्फत युवालाई नीतिगत सहभागिता सुनिश्चित गरिने उल्लेख गरिएको छ ।
इलाम-१ लाई पूर्वी नेपाल पर्यटन सर्किटको हिस्सा बनाउने प्रस्तावसहित चिया पर्यटन क्लस्टर, पदमार्ग विस्तार, इको–पर्यटन र साहसिक पर्यटन सर्किट विकास गरिने उल्लेख गरिएको छ । होमस्टे स्तरोन्नति, डिजिटल बुकिङ र सामुदायिक पर्यटन राजस्व मोडेल लागू गर्ने योजना समेटिएको छ ।
राईले गैरदलीय विज्ञ सल्लाहकार समूह गठन, बजेट कार्यान्वयनको छ महिने सार्वजनिक प्रतिवेदन, प्रतिबद्धता ट्र्याकिङ ड्यासबोर्ड र सार्वजनिक सुनुवाइ प्रणाली लागू गर्ने प्रतिबद्धता जनाएका छन् । निर्वाचन क्षेत्रमा स्थायी सम्पर्क कार्यालय स्थापना र डिजिटल गुनासा व्यवस्थापन प्रणाली सञ्चालन गरिने उल्लेख गरेका छन् ।
उम्मेदवार राईले ‘बदल्यौं काँग्रेस, बदल्छौं देश’ नारासहित इलाम-१ का मतदातालाई परिवर्तन, युवा सोच र सम्भावनाको पक्षमा मतदान गर्न आग्रह गरेका छन् ।

0 comments:
Post a Comment